आजदेखि टेलिफोनबाट समेत स्कुल भर्ना लिइने

आजदेखि टेलिफोनबाट समेत स्कुल भर्ना लिइने

कोरोना महामारीका कारण सर्वाधिक प्रभावित र जोखिममा परेको शिक्षा क्षेत्रले आजबाट नयाँ शैक्षिक सत्र शुरु गरेको छ । विद्यार्थीलाई तत्काल भौतिक रुपमा विद्यालयमा उपस्थित गराएर पठनपाठन गराउने अवस्था नरहे पनि वैकल्पिक माध्यमबाट आजदेखि भर्ना कार्यक्रम शुरु गरिएको छ ।

नेपाल सरकारका शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माका अनुसार आजबाट देशभरका विद्यालयहरुले आफ्नो सहजतालाई मध्यनजर गर्दै टेलिफोन,अनलाइन तथा भौतिक रुपमा सामाजिक दूरी कायम राखेर भर्ना कार्यक्रम शुरु गरिएको हो ।

जनआस्थासँग कुराकानी गर्दै उहाँले विद्यालय भौतिक रुपमा सञ्चालन गर्न दिने अधिकार शिक्षा मन्त्रालयसँग नभएको बताउँदै महामारी घट्दै गएपनि विद्यालय खोल्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीएमसीसीको अनुमति चाहिने बताउनुभएको हो ।

शर्माका अनुसार कक्षा ११ को भर्ना कार्यक्रम भने माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएपश्चात् भदौमा शुरु गर्ने गरी मन्त्रालय अघि बढेको छ । नयाँ शैक्षिक सत्रअन्तर्गत आजबाट देशभर विद्यार्थी भर्ना अभियान शुरु भए पनि पठनपाठन साउन १ गतेदेखि मात्र शुरु गर्ने तयारी छ ।

टिप्पणीहरू