बूढा बाबा आमाको खोप,ठिटाहरुलाई छोप्

बूढा बाबा आमाको खोप,ठिटाहरुलाई छोप्

सरकारले काठमाण्डौं उपत्यका बाहिर ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई मात्रै खोप लगाउन दिएको निर्देशनमाथि घोटाला भएको छ । कोरोना भाइरसविरुद्वको भेरोसिल खोपमा विभिन्न जिल्लाका स्वास्थ्य संस्थाले मनलाग्दी गरेका छन् ।

स्वास्थ्य संस्थामा आवद्व कर्मचारीहरुले तोकिएको उमेर समूहकालाई बन्चित गरी आफन्त र भनसुनका आधारमा २१ बर्षदेखि ४० आसपासका पहुँचवाल युवालाई खोप लगाएको भेटिएको हो ।

स्थानीय तहका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष,स्वास्थ्य शाखाका प्रमुख,पदाधिकारी,सरकारी कर्मचारीलगायतले खोजी खोजी आफन्तलाई नै खोप लगाएको स्थानीयको आरोप छ ।

सुर्खेतमा उक्त उमेर समूहको निम्ति ५१ हजार डोज खोप पठाइएको थियो । जसमध्ये त्यहाँका सबै स्वास्थ्य चौकी,प्राथमिक स्वास्थ्य केन्द्र,अस्पताल,सिम्ता गाउँपालिका,गुर्भाकोट,भेरीगंगा, लेकबेसी र चिंगाड नगरपालिकामा जेठ २७ गते १ दिन मात्र खोप लगाइयो ।

वीरेन्द्रनगरसहित बराहताल गाउँपालिका,पन्चपुरी र चौकुनेमा जेठ २९ गते र वीरेन्द्रनगरमा आज समेत खोप कार्यक्रम सञ्चालन गरिएको थियो । यस्तै भोलि असार १ गते खोप लगाइने बताइए पनि पालिकाअनुसार लगाइने खोपको विवरण भने नआएको जनाइएको छ ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले सरकारको निर्देशनअनुसार नै खोप उपलब्ध लगाइएको दाबी गरेको छ । तर उसले मनमौजी तवरले खोप लगाएकोबारे भने छानबिन गरिने बताएको छ ।

टिप्पणीहरू