जबरजस्ती करणी गर्नेसहित २१ जना पक्राउ

जबरजस्ती करणी गर्नेसहित २१ जना पक्राउ

आइतबार विभिन्न घटनामा संलग्न मुलुकभर २१ जना पक्राउ परेका छन् । मकवानपुर, बाँके, कञ्चनपुर, झापा, इलाम, कञ्चनपुर र पूर्वी नवलपरासीबाट लागूऔषध, जबरजस्ती करणी र जुवाडे गरि २१ जना पक्राउ परेका हुन् ।

कञ्चनपुरमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कृष्णपुर नगरपालिका–४ क्याम्पस टोलका ५३ वर्षीय धनबहादुर गुरुङलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । गुरुङले बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको बताइएको छ ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० राममन्दिर मोड नजिकबाट लागूऔषध र नगदसहित दुई जना हिजो पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका–१० राममन्दिर मोड डेरा गरी बस्ने ३१ वर्षीय हेमजङ्ग बानियाँ र सोही उपमहानगरपालिका–१ का ३४ वर्षीय सुरेश परियार छन् ।
प्रहरीले हेमजंगको साथबाट १४ ग्राम ब्राउनसुगर र नगद ३ लाख ६६ हजार २ सय ५० रुपैयाँ तथा सुरेशको साथबाट नगद २ हजार रुपैयाँ फेला पारेको हो ।

त्यस्तै ,बाँकेको राप्ती सोनारी गाउँपालिका–६ मोहनपुरबाट करिब १५ किलो अवैध लागूऔषध गाँजा सहित सोही ठाउँका ३२ वर्षीय गुप्त बहादुर बिक सहित ४ जनालाई पक्राउ परेका छन् । भे.१ ह २७१५ नम्बरको अटोलाई लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटोरिक्सामा लुकाएर ल्याएको उक्त गाँजासहित उनीहरुलाई पक्राउ गरेको हो ।

उता, कञ्चनपुरको बेलौरी नगरपालिका–८ पचुईबाट १३ ग्राम ३० मिलिग्राम खैरो हेरोइनसहित स्थानीय ३० वर्षीय हरिकृष्ण राना आइतबार साँझ पक्राउ परेका छन् भने झापाको कमल गाउँपालिका–३ का २२ वर्षीय बले भन्ने प्रज्वल बानियाँ करिब ४ ग्राम ब्राउनसुगर सहित आइतबार दिउँसो पक्राउ परेका छन् ।

इलामको माई नगरपालिका–४ शंकर गाउँबाट करिब ५ ग्राम ब्राउनसुगर सहित सोही नगरपालिका–८ का २८ वर्षीय महेश थापालगायत चार जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रदेश १–०१३ प. ७२२२ र ना.३२ प ६९१९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।

त्यस्तै, पूर्वी नवलपरासीमा महामारी र निषेधाज्ञाको समयमा तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । जिल्लाको कावासोती नगरपालिका–२ लोकतन्त्र चोकस्थित रामजी पाण्डेको घरमा तास खेलिरहेको अवस्थामा स्थानीय २८ वर्षीय सागर कुँवरलगायत आठ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट नगद ४ लाख ३२ हजार ६ सय ९५ रुपैयाँ र ४ बुक तास समेत बरामद गरेको छ ।

टिप्पणीहरू