ओलीका मन्त्रीलाई उपेन्द्रको चिठी

ओलीका मन्त्रीलाई उपेन्द्रको चिठी

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको सरकारमा सहभागी महन्थ ठाकुर खेमाका मन्त्रीहरुलाई स्पष्टिकरण सोध्नुभएको छ । पार्टी निर्णय विपरित सरकारमा सहभागी भएको भन्दै यादवले स्पष्टीकरण सोध्नुभएको हो ।

जसपाको जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकको निर्णयको बुँदा नम्बर ४ मा ओली सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निश्कासन हुने निर्णयको आधारमा स्पष्टिकरण सोधिएको बताइएको छ । अस्ति केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पठाएको चार बुँदे स्पष्टिकरण पत्रमा पार्टी निर्णय विपरित सरकारमा सामेल हुनुभएकाले तपाइलाई कारवाही किन नगर्ने भनि सोधिएको छ ।

स्पष्टिकरण पत्रमा कार्यकारिणी समितिको निर्णय उलंघन गरी सरकारमा जानु राजनीतिक दलसम्बन्धी ऐन र पार्टीको अन्तरिम विधान विपरित भएकाले सात दिनभित्र चित्तबुझ्दो जवाफ नदिए कारवाही हुने चेतावनी दिइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको, केन्द्रीय कार्यकारिणी समितिको जेठ ८ को निर्णयको अवज्ञा गरी ओली सरकारमा किन सामेल भएको ? संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नु भएको ? पार्टी विधानमा नभएको कामकारवाहीलाई अनुशासन र आचारसंहिता विपरीत पार्टीमा आफूखुशी स्वेच्छाचारिता बढाउने कामहरूलाई किन प्रश्रय दिनु भएको ? लगायतको प्रश्नसहित तपाईंलाई पार्टीबाट किन निश्कासन नगर्ने भन्दै सबैलाई स्पष्टिकरण सोधिएको हो ।

ओली नेतृत्वको सरकारमा महन्थ खेमाबाट ९ मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् ।

यसअघि अध्यक्ष यादवले अर्का अध्यक्ष महन्थसहित वरिष्ठ नेता राजेन्द्र महतो,सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निश्कासन गर्नुभएको थियो । ठाकुर पक्षले पनि यादवलाई साधारण सदस्य नरहने गरी पार्टीबाट निश्कासन गरेको थियो । निर्वाचन आयोगले भने दुबैका कारवाहीलाई अवैध ठहर गरेको थियो ।

टिप्पणीहरू