बाग्मतीमा अब अष्टलक्ष्मी मुख्यमन्त्री बन्दै ?

बाग्मतीमा अब अष्टलक्ष्मी मुख्यमन्त्री बन्दै ?

नेकपा विभाजन र एमालेभित्रको अन्तरद्वन्द उत्कर्षमा पुग्दा प्रदेश सरकारहरु धर्मराउन थालेका छन् । विभाजनको असर गण्डकी प्रदेशमा परिसकेको छ । गण्डकीमा एमाले नेतृत्वको सरकार विस्थापित गरेर काँग्रेस नेतृत्वमा विपक्षी गठवन्धनको सरकार बनेको छ ।

बजेट अधिवेशनको पूर्वसन्ध्यामा विकसित घटनाक्रमहरुले गण्डकीपछि मुख्यत: बागमती,लुम्बिनी र प्रदेश १ सरकारमाथि चुनौती थपिएको छ । तीनै प्रदेशमा एमालेको एकल बहुमत छ,तर अन्तरद्वन्दका कारण कुनै पनि सरकार सुरक्षित छैनन् । अवस्था कस्तो छ भने,यी दुवै लुम्बिनीबाहेकका दुई प्रदेशमा एमालेको माधव नेपाल पक्ष बलियो स्थितिमा छ । सो पक्षको नगन्य उपस्थिति रहेको गण्डकी सरकार जोगाउनसमेत नसकेको ओली समूहलाई यी दुई प्रदेश सरकार जोगाउन फलामको च्युरा चपाउनुसरह हुने देखिएको छ ।

बागमती प्रदेशमा सरकार परिवर्तनको चर्चा सुनिन थालेको छ । मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीलाई लिएर एमालेभित्रै चरम असन्तुष्टि बढेपछि कुनैपनि बेला सरकार ढल्न सक्ने अनुमान गर्न थालिएको छ । प्रदेशसभाको अंकगणितमा झण्डै काँग्रेस र माओवादीकै हाराहारीमा रहेको माधव नेपाल पक्षलाई विश्वासमा लिन नसके मुख्यमन्त्री पौडेललाई बजेट पास गराउन कठिनाइ हुने देखिएको छ । बजेट पास नभए सरकार ढल्ने भएकाले अहिले मुख्यमन्त्री पौडेल माधव खेमालाई फकाउन लागि परेको चर्चा भैरहेको छ ।

अस्ति सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहमत भएको माधव खेमा भने पौडेलको कार्यशैलीका कारण सशंकित छ । अप्ठेरोमा पर्दा सहमति गर्ने तर कार्यान्वयन नगर्ने ‘ओली स्टाइल’ पछ्याउनुभएका पौडेलले बजेट पास गरेपछि एकलौटी गर्नसक्ने उसको बुझाइ छ । त्यसैले विश्वासिलो सहमति बन्न नसके बजेट फेल हुने खतरा बढेको बताउन थालिएको छ ।

नेकपा एक रहेकै बेलादेखि बागमतीमा सत्तारुढ दलभित्रै सरकारको कामकारवाहीलाई लिएर विवाद थियो । अघिल्लो वर्ष पौडेलले एकलौटी रुपमा नीति तथा कार्यक्रम र बजेट ल्याएपछि विवाद चर्कियो । विवाद बढ्दै जाँदा बजेट पारित नहुने अवस्था बनेपछि सहमति जुटाउन कार्यदल गठन गरिएको थियो । तर,बजेट पास भएसँगै मुख्यमन्त्री फेरि एक्लै दौडिन थालेपछि कार्यदल भंग भयो ।

गत वर्ष बजेट पास गर्न परेको महाभारत सुनाउँदै एक नेता भन्छन्, ‘झण्डै झण्डै बजेट फेल हुने अवस्था आइसकेको थियो । पछि हाम्रै प्रयासमा कार्यदल बनाएर निकास निकाल्ने सहमति भएको हो,तर सहमतिलाई धोति लगाइयो ।’ उनका अनुसार अघिल्लो वर्षको बजेट पास गर्न एभोकाडो होटलमा ५ दिनसम्म नेकपा संसदीय दलको बैठक बसेको थियो । विवाद बढेपछि त्यतिबेलाका आन्तरिक मामिला मन्त्री तथा हाल माओवादी संसदीय दलका नेता शालिकराम जमरकट्टेलको पहलमा अध्ययन कार्यदल बनेको थियो । कार्यदलले आवश्यक छलफल गर्दै जाने र तत्काललाई बजेट पास गर्ने सहमति जुटेको पनि हो । बजेट पास गर्ने अनि सँशोधन गरेर दुई महिनाभित्र प्रकाशन गर्ने सहमति भएपछि मुख्यमन्त्री पौडेलको सरकार जोगिएको थियो ।

तर,बजेट पास भएपछि मुख्यमन्त्री पौडेल एक्लै हिंड्न थालेको र कार्यदललाई बेवास्ता गरेको उनले बताए । त्यतिबेलाको विवादको चुरो खोतल्दै उनले भने, ‘भीमफेदी-कुलेखानी सुरुङमार्ग बजेटमा हालिएको थियो । हामीले प्रदेशका लागि बढी खर्चिलो हुन्छ, यस्तो कार्यक्रम नराखौँ भनेर आग्रह गरेका थियौँ । पछि मुख्यमन्त्रीले बजेट पास हुन्छ भने घटाइदिन्छु भनेकोले सहमति भएको हो । पछि उहाँले घटाउनु भएन बरु यसपालिको नीति तथा कार्यक्रममा पनि त्यसलाई पारिएको छ ।’

पौडेलको कार्यशैलीमा विश्वास गर्ने आधार नदेखिएकाले यसपालिको बजेट फेल हुनसक्ने नेताहरु बताउँछन् ।

बागमतीको अंकगणित

११० सदस्यीय बागमती प्रदेशसभामा एमालेका मात्रै ५६ सांसद छन् । गत चुनावमा कूल ५८ सिट जितेको एमालेको भक्तपुरको उपचुनाव हारेपछि एक सिट घटेको थियो । पशुपति चौलागाईको निधनपछि एमालेसँग अहिले ५६ सांसद छन् । बागमतिमा काँग्रेस र माओवादी केन्द्रका समान २३ सांसद छन् भने विवेकशील साझा ३,नेमकिपा २,राप्रपा,नयाँ शक्ति र राप्रपा प्रजातान्त्रिकका एक-एक सांसद छन् । नयाँ शक्ति जसपामा फेरिएको छ भने राप्रपा एकीकृत भएका छन् । एमालेका ५६ सांसदमध्ये अहिले कम्तिमा डेढ दर्जन माधव नेपालनिकट रहेको बताइन्छ ।

सरकारलाई बजेट पास गर्नका लागि प्रदेशसभाको बहुमत (५६ सांसद) चाहिन्छ,जुन संख्या एमालेसँग छ। तर,माधव नेपाल समूहका एक सांसद मात्र विपक्षमा उभिए पनि सरकारलाई नैतिक संकट पर्छ । त्यसो त,संसदीय व्यवस्थामा नीति तथा कार्यक्रम र बजेट पास गर्दा सत्तापक्षका सांसद विपक्षमा उभिए सरकारमाथि नैतिक प्रश्न उठ्छ ।

परिस्थितिमा ठोस फेरबदल नआए माधव नेपाल पक्ष बजेट पास नगराउने तयारीमा रहेको विश्वस्त स्रोतले बताएको छ । त्यसो हुँदा सरकार ढल्ने र माओवादी,माधव खेमा र काँग्रेस मिलेर नयाँ सरकार बनाउने गरी आन्तरिक छलफल चलिरहेको बताइन्छ । काँग्रेस र माओवादीलाई माधव खेमाको ११ सांसदले मात्र साथ दिए पनि सरकार बनाउन बहुमत पुग्ने देखिन्छ । कम्तिमा रामबहादुर थापा बादलबिरुध्द राष्ट्रियसभाको उपचुनावमा खिमलाल देवकोटालाई मत दिएका १४ सांसद बजेटविरुध्द उभिन सक्ने स्रोत बताउँछ ।

तपाइँहरु सरकारको विपक्षमा उभिने हो भनेर सोधिएको प्रश्नमा माधव नेपाल निकट एक नेताले भने, ‘केपी ओलीलाई एउटा अवसर छ । पार्टी एकता भत्काउने कि सबैलाई समेटेर जाने भन्ने उहाँको हातमा छ ।’

स्रोतका अनुसार बजेट फेल भएर नयाँ सरकार बन्ने अवस्थामा माधव खेमालाई मुख्यमन्त्री दिन विपक्षी गठवन्धन सहमत भैसकेको छ । माधव पक्षले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य या राजेन्द्र पाण्डेलाई अघि सार्ने देखिन्छ । यसअघि शाक्यलाई मुख्यमन्त्री नदिन ओली पक्षले ठूलो खेल रचेको नेपाल पक्षका नेताहरु बताउँछन् ।

‘अष्टजी एमालेमा अरुजस्तै उपरी हैसियतको नेता हो । महिला मुख्यमन्त्री बनाउँदा समावेशी पनि हुन्थ्यो । त्यतिबेला उहाँलाई नदिन धेरै षड्यन्त्रहरु भएका थिए । हामीले पदको कुरा गरेको होइन तर पन्चायतकालदेखि नै ओलीको गृहजिल्ला झापामा समेत जमेर पार्टी संगठन बिस्तार गर्ने अष्टलक्ष्मीलाई मुख्यमन्त्री दिएर एमाले एकता जोगाउँदै पार्टीकै सरकार कायम राख्ने कि गुटलाई जोगाउने नाममा सबै कुरा गुमाउने भन्ने कुरा अब केपीजीको हातमा छ’, ती नेताले भने ।

अस्ति गण्डकीमा माधव नेपालका एकमात्र सांसद इन्द्र सापकोटाले पृथ्वीसुब्बा गुरुङलाई फोन गरेर भनेको कुरा सुनाउँदै उनले थपे, ‘विश्वासको मत दिनुको अर्थ जेमा पनि छुट दिनु होइन ।’

टिप्पणीहरू