राउटे युवतीहरूको बल्ल स्वास्थ्य परीक्षण,यौन दुर्व्यवहार गर्नेहरूमाथि मुद्दा शुरु

राउटे युवतीहरूको बल्ल स्वास्थ्य परीक्षण,यौन दुर्व्यवहार गर्नेहरूमाथि मुद्दा शुरु

गत साता सुर्खेतको गुर्भाकोट नगरपालिका-११ को आँपसोतीस्थित भेरी नदी किनारको राउटे बस्तिका दुई जना युवतीमाथि यौन दुर्व्यवहारमा संलग्न युवाहरूलाई कानुनी प्रक्रिया अघि बढाउन सजिलो भएको छ । हिजो ती युवतीहरूको मेडिकल परीक्षण भएको छ ।

स्थानीय सरकारी अस्पतालमा भएको मेडिकल गरीक्षणको लागि उनीहरूले पहिले मानेका थिएनन् । तर,राउटे समुदायमा सँधै काम गर्ने संघ संस्थाका प्रतिनिधिले सम्झाएपछि उनीहरू स्वास्थ्य परीक्षणको लागि तयार भएका हुन् । उनीहरूको मेडिकल रिपोर्ट सार्वजनिक भएको छैन तर अब आरोपित युवाहरूमाथि यौन दुर्व्यवहारलगायतका विषयमा मुद्दा चलाउन बाटो खुलेको प्रहरीले बताएको छ ।

हाल प्रहरी र प्रशासनले दिएको सुरक्षाको कारण राउटेको समाज र समुदायभन्दा बाहिरबाट उनीहरू सुरक्षित देखिएका छन् । जसले दुर्व्यवहार गरेको हो उसलाई कारबाहीको निम्ति प्रक्रिया अघि बढेपछि कानुनी उपचारको बाटो सहज भएको छ । तर,समस्या उनीहरूको आफ्नै संस्कृति र मान्यताभित्र हुनसक्नेमा प्रशासनले आशंका गरेको छ ।

राउटे समाजलाई नजिकबाट हेरेका स्थानीय एक जनाले बताए ‘दुई बर्षअघि अविवाहित राउटे युवतीबाट बच्चा जन्मिँदा उक्त समुदायमा आमा र बच्चा दुबैलाई भित्रभित्रै बेपत्ता पारिएको थियो । त्यो हिसाबले जोखिम उच्च छ ।’ त्यो हिसाबले समुदायभित्रको सजायको थ्रेट उनीहरूलाई सँधै रहने रहेकाले आशंका धेरै समयसम्म रहने बताइन्छ ।

हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको २२ सदस्यीय टोलीले स्थानीय राउटे समुदायको बस्तिलाई २४ घण्टे पहरा दिएको छ ।

टिप्पणीहरू