असार १ गतेदेखि हवाई उडान के होला ?

असार १ गतेदेखि हवाई उडान के होला ?

काठमाडौं उपत्यकालगायत मुलुकका अधिकांश जिल्लामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि एकाध अन्तर्राष्ट्रिय र चार्टरबाहेक सबै उडान ठप्प छ । काठमाडौं–नयाँ दिल्ली रुटमा नेपाल वायुसेवा र एअर इण्डियाले सातामा एक एक वटा उडान गरे पनि झण्डै एक महिनापछि जेठ १८ मा तीन वटा कम्पनीलाई दुई वटा गन्तव्यमा उडानको लागि साताको एउटा उडानको अनुमति दिइएको छ ।

तर,असार १ गतेदेखि निषेधाज्ञा खुकुलो बनाउने चर्चा चलिरहँदा हवाई उडान के होला ? भन्ने जिज्ञासा सर्वत्र बढेको छ । त्यहि सन्दर्भमा हामीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतसँग सोधेका थियौं ‘अब उडान खुल्छ ?’ स्रोतले भन्यो ‘गाह्रो छ । तर, एकाध उडान खोल्नेबारे छलफल भइरहेको छ ।’

प्राधिकरणले जेठ १८ गते गतेदेखि टर्किस,कतार र नेपाल एअरलाइन्सलाई क्रमशः इस्तानबुल र दोहामा साताको एक उडान गर्ने अनुमति यसअघि नै दिएको थियो । त्यसैगरी निषेधाज्ञाको अवधिमा पनि नयाँ एअर बबलअन्तर्गत दिल्ली उडानको निम्ति नेपाल एअरलाइन्स र एअर इण्डियाले हप्ताको एक एक वटा उडान गर्दै आएका छन् ।

निषेधाज्ञा खुकुलोसँगै असार १ गतेदेखि हवाई उडान सामान्य खुकुलो बनाउनेबारे छलफल भएको बताइएको छ । अन्तर्राष्ट्रिय उडान नखुल्ने तर आन्तरिक उडान भने आंशिक रुपमा खुल्ने सम्भावना रहेको स्रोतले दाबी गरेको छ ।

स्रोत भन्छ ‘पहिले कुनै सेक्टरमा आठ वटा उडान गर्ने एअरलाइन्सले अब बढीमा दुई र चार वा पाँच वटा उडान गर्ने एअरलाइन्सले बढीमा एउटा उडान गर्न पाउने सम्भावना छ । तर अन्तर्राष्ट्रिय उडान थप खुल्ने सम्भावना छैन ।’

टिप्पणीहरू