करेन्ट लगाएर बँदेल मार्न खोज्दा

करेन्ट लगाएर बँदेल मार्न खोज्दा

हिजो विभिन्न ठाउँमा भएका घटनामा सात जनाले ज्यान गुमाएका छन् । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानी तिवारी टोलका ३० वर्षीय मिजेन्द्र श्रेष्ठको शौचालयमा लडेर मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको नारायणटारस्थित शंखरापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै, कैलालीको चुरे गाउँपालिका–६ तितरेकी १६ वर्षीया झुपाकुमारी साउदको भीरबाट लडेर मृत्यु भएको छ । स्थानीय पोटेमाला भीरमा घाँस काट्न जाँदा लडेर गम्भीर घाइते भएकी उनको उपचारको लागि धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलको नागमतीमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं गल्फुटार बस्ने सुनसरी धरान उपमहानगरपालिका–१५ का २० वर्षीय आइसल तामाङ र सर्लाही घर भएका २० वर्षीय विशाल तामाङ छन् ।

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–११ रामपथका ४९ वर्षीय कुलबहादुर कुमालको स्थानीय नौलापानीस्थित बन्दै गरेको पुलको जग खनेको खाडलमा पौडी खेल्ने क्रममा मृत्यु भएको छ ।

उता,दाङको घोराही उपमहानगरपालिका–४ बारहाङगेस्थित सरेस्वता पानीको ड्याममा पौडी खेल्ने क्रममा डुबेर स्थानीय जगत पाण्डेका ७ वर्षीय छोरा शिशिर पाण्डेको मृत्यु भएको छ ।

बारामा ट्याक्टर दुर्घटना हुँदा एक जनाले ज्यान गुमाएका छन् । सिम्रौनगढ नगरपालिका–११ भगवानपुरमा ना.१ त ५८२५ नम्बरको ट्याक्टर सडकबाट करिब ७ फिट तलको पोखरीमा पल्टिएर बुधबार राति दुर्घटना हुँदा ट्याक्टर चालक ४५ वर्षीय भैरवलाल कुसवाहाको घटनास्थलमै मृत्यु भएको छ ।

त्यस्तै, करेन्ट लागेर उदयपुरमा एक जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–९ राजाबास बस्ने ५४ वर्षीय जगदिश पोखरेलको करेन्ट लाग्दा आज बिहान मृत्यु भएको छ । मकैबारी नष्ट गर्न आउने बँदेललाई करेन्ट लगाउन भन्दै आफैँले थापेको पासो हटाउने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू