पोहोर अरुलाई सिकाउने,अहिले आफै मन्त्रीमा बिकाउने ?

पोहोर अरुलाई सिकाउने,अहिले आफै मन्त्रीमा बिकाउने ?

राजनीतिमा नैतिकताको प्रश्न ज्यादै महत्वपूर्ण हुन्छ । राजनीतिलाई व्यवस्थित रुपमा संचालन गर्न ऐन,कानून,विधि, विधानभन्दा नैतिकता अझ धेरै माथि मानिन्छ । त्यसैले त कतिपय बेला नैतिकताको प्रश्न उठेपछि राजनीतिज्ञहरुले आफूलाई जिम्मेवारीबाट अलग राखेका प्रशस्तै उदाहरण हाम्रासामु छन् ।

तर,पछिल्लो समय नेपाली राजनीतिमा नैतिकताको ठूलो खडेरी लागेको छ । सत्ताका लागि जे पनि गर्ने प्रवृति मौलाउँदै जाँदा नैतिकताको सवाल गौण बनिरहेको छ । प्रतिनिधिसभा विघटन गर्ने आफ्नो कदममाथि अदालतले अंकुश लगाउँदा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सामान्य नैतिकता देखाउनुभएन । बरु आफ्नो सत्ताको निरन्तरताका लागि एकपछि अर्को अनैतिक हर्कत गरिरहनु भयो ।

‘संसद विघटनलाई प्रतिगमन भन्ने अनि त्यहि प्रधानमन्त्री जसले संसद भंग गर्यो, उसैको सरकारमा जानेलाई के नैतिकताको कुरा गर्ने ? यो त राजनीति नै होइन । राजनीतिलाई सत्तामा पुग्ने माध्यम बनाइएको मात्र हो’,

सत्ताका अगाडि संविधान,कानुन, विधि,पध्दति,नैतिकता कति कमजोर हुँदैछ भन्ने धेरै उदाहरण छन् । पछिल्लो समय बढेको राजनीतिक ध्रुवीकरण र सत्ता गठवन्धनका अस्वभाविक हर्कतले नैतिकताको प्रश्न मात्र उठाएको छैन संविधान र कानुनको पनि धज्जी उडाएको छ ।पूर्व र पश्चिम दुई विपरित ध्रुवमा उभिएको एमालेको ओली समूह र जसपाको महन्थ ठाकुर खेमा अहिले सत्ता सहकार्यमा छन् । कुनैबेला प्रधानमन्त्री ओली र महन्थहरु आपसमा शत्रुतापूर्ण व्यवहार गर्थे । अहिले तिनै महन्थहरु पार्टी फुटाएर सिंहदरबार छिरेका छन्,र प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यमा रमाइरहेका छन् ।

त्यतिमात्र हो र गत वर्ष पार्टी निर्णयविरुध्द नजान सरिता गिरीलाई सचेत गराउने सो पार्टीको संसदीय दलका प्रमुख सचेतक अहिले पार्टी फुटाएर सरकारमा सहभागी भएका छन् ।

गतवर्ष भारतद्वारा अतिक्रमित नेपाली भूमि समेटिएको नक्सा संविधानको अनुसूचिमा राख्नका लागि संसदमा दर्ता भएको संविधान संशोधनको विपक्षमा उभिएकी गिरीलाई दलको प्रमुख सचेतकको हैसियतले उमाशंकर अरगरियाले पत्र लेखेर सचेत गराएका थिए । दलको निर्देशन विपरित गिरीले हालेको संशोधन प्रस्ताव फिर्ता नलिए कारवाहीको चेतावनी अरगरियाले दिएका थिए । उनै अरगरिया अहिले पार्टी निर्देशन विपरित मन्त्री खान गएका छन् ।

जसरी पनि सत्तामा पुग्ने र जे जे गरेर पनि टिकिरहने प्रवृति हावी हुँदा राजनीतिमा न्युनतम नैतिकता पनि देखिन छाडेको विश्लेषकहरु बताउँछन् । ‘नैतिकता त स्वत: लागू हुने कुरा हो,तर यहाँ त बाध्यकारी भनिएको संविधान र कानुन पनि मानिंदैन’,एक विश्लेषक भन्छन्, ‘संविधान, कानुन नमान्ने देशमा नैतिकताको कुरा के गर्नु !’

नेताहरुको सत्तालिप्साका कारण राजनीति विकृत हुँदै गएको उनले बताए । ‘संसद विघटनलाई प्रतिगमन भन्ने अनि त्यहि प्रधानमन्त्री जसले संसद भंग गर्यो, उसैको सरकारमा जानेलाई के नैतिकताको कुरा गर्ने ? यो त राजनीति नै होइन । राजनीतिलाई सत्तामा पुग्ने माध्यम बनाइएको मात्र हो’, उनी भन्छन् ।

टिप्पणीहरू