के हुनुपर्ने हो सेनापतिको कर्तव्य ? « janaaastha.com
४ असार २०७८, शुक्रबार

के हुनुपर्ने हो सेनापतिको कर्तव्य ?



-डा.सुरेन्द्र रावल

वेष्टफालियाबाट सन् १६४८ मा राष्ट्र–राज्यको अवधारणा विकास भएपछि सेना राज्यको एउटा महत्वपूर्ण एवं अभिन्न अंग हुन गयो । म्याक्स वेबरले ‘हरेक राज्य बल (फौज) द्वारा स्थापित हुन्छ’ भनेका छन् । त्यसैगरी चार्ल्स टिली ‘राज्यले लडाइँ गर्छ र लडाइँले राज्य जन्माउँछ’ भन्ने धारणा राख्छन् । तसर्थ, राज्य र सेनाबीच अन्योन्याश्रित सम्बन्ध छ । एक हिसाबले दुबै एकअर्काका परिपूरक हुन् । आजको राष्ट्र–राज्यको विश्व प्रणालीमा, केही अपवादबाहेक,राज्य नभई सेनाको अस्तित्व रहँदैन र सेनाबिना राज्य टिकिरहन सक्दैन ।

त्यसैले जब पनि कुनै राष्ट्र–राज्य निर्माण हुन्छ त्यस भूभागको रक्षाको लागि सोही भूभागका जनताको इच्छाअनुसार संविधान, जनप्रतिनिधि तथा सरकारमार्फत सैनिक संगठनको व्यवस्था गरिन्छ । उक्त सेनाको नेतृत्वका लागि सेनापति तोकिएको हुन्छ । सेनाको काम प्रायः संविधानमा नै लेखिएको हुन्छ । जुनसुकै मुलुकको सेनाको मुख्य भूमिका उक्त मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता,भौगोलिक अखण्डता,स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने हो । चेन–अफ–कमाण्डमा चल्ने संस्था भएकाले सेनापतिको कामकारबाहीले नै सेनाको प्रभावकारिता निर्धारण गर्दछ । सेनापतिको कर्तव्य के हो र सेनापतिले आफ्नो कर्तव्यअनुरुप काम गरे वा गरेनन् भनी कसरी थाहा पाउने भन्ने सर्वसाधारणमा प्रश्न उठ्न सक्छ ।

जा भनेको ठाउँमा नजाने तर आफ्नो फाइदा हुने अथवा व्यक्तिगत इच्छा हुने ठाउँमा भने जाने गर्यो भने कस्तो हुन्छ?

सेनापतिको कर्तव्यबारे छलफल गर्नुअघि सामान्य नागरिकले बुझ्ने गरी एउटा साधारण उदाहरण (नागरिक–सैनिक सम्बन्धमा राजनीतिक वैज्ञानिक पिटर डि. फिभरको ‘प्रिन्सिपल–एजेन्ट मोडल’ लाई आधार मानी) प्रस्तुत गर्न उपयुक्त देखिन्छ । मानौं केही व्यक्तिको समूहले एउटा संस्था (धार्मिक,सामाजिक,आर्थिक वा अन्य कुनै उद्देश्यले) खोले र उक्त संस्थाको उद्देश्य पूरा गर्नका लागि एउटा गाडी किने,गाडी चलाउनको लागि एउटा ड्राइभर पनि नियुक्त गरी उक्त गाडी उसको जिम्मामा दिइयो । अब उक्त ड्राइभर (एजेण्ट) को काम उक्त गाडीलाई सही हालतमा राखी संस्थाको उद्देश्य पूरा गर्न संस्थाका मालिक (प्रिन्सिपल) द्वारा तोकिदिएको भूमिकाबमोजिम काम गर्ने हो । यसका लागि उसले आफ्नो जिम्मामा भएको गाडी चालु हालतमा राख्नुपर्ने त छँदै छ तर त्यसभन्दा पनि महत्वपूर्ण कुरा संस्थाका मालिकको निर्देशनअनुसार कहिले कहाँ जानु पर्ने हो तोकिएमुताविक गन्तव्यमा पुर्याउनुपर्ने हुन्छ । यो नै ड्राइभर र मालिकबीचको ‘सम्झौता’ हो । यो नै चालकको कर्तव्य हो । यदि, उसले आफ्नो मूख्य भूमिकाअनुसार गाडी चलाउन आनाकानी गर्छ भने अरु जेसुकै काम गरे पनि त्यो कर्तव्यबाट विचलित भएको ठहर्छ । अब,ड्राइभर कर्तव्यबाट विचलित हुने (जसलाई फिभरले ‘सर्किङ्ग’ अर्थात् ‘कर्तव्यबाट भाग्ने’ भनेका छन्) केही अवस्था कल्पना गरौं ।

पहिलो, उक्त ड्राइभर मालिकले भनेको बेलामा गाडी चलाउँदैन र जानुपर्ने ठाउँमा जाँदैन बरु उल्टै अनेक बहाना बनाएर अथवा गाडीको प्राविधिक समस्या देखाएर मालिकको आदेश पालना गर्दैन । दोस्रो,ऊ गाडीचाहिँ चलाउन आनाकानी र बहाना गर्छ तर आफूलाई राम्रो ड्राइभर र स्वच्छ छवि भएको सावित गर्न गाडीलाई टल्काएर राख्छ ताकि बाहिरबाट हेर्नेहरूले उसलाई मिहिनेती तथा इमान्दार ड्राइभर भनुन् । अझ, उसले आफूलाई राम्रो देखाउन आफ्नो सहायक चालकलाई अरुको अगाडि आफ्नो प्रशंसा पनि गर्न लगाउँछ ताकि अरुलाई ऊ साँच्चै इमान्दार र प्रोफेसनल ड्राइभर हो भन्ने छाप पार्न सकियोस् । सहायक चालकले खोक्रो प्रशंसाको पछि नलागी नियमसंगत हिसाबले गाडी चलाउन सुझाव दिँदा उसलाई कामबाट निकाली आफ्नो अनुकूल अर्को सहायक चालक राख्छ । गाडीको इञ्जिनलगायत पार्टपुर्जाबारे जानकार नहुने तथा गाडी चलाउन नजान्ने मालिकलाई ड्राइभरले साँच्चिकै गाडी स्याहार–सम्भार गरी सही हालतमा राखेको छ वा छैन भन्ने कुरा थाहा नहुन सक्छ – बाहिरबाट त गाडी टिलिक्क देखिन्छ ।

सैनिक संगठनलाई जतिसुकै पालनपोषण गरेर राखिए पनि यदि त्यो आवश्यक परेको बेलामा परिचालन हुँदैन अथवा आनाकानी गर्छ भने त्यो टल्काएर राखेको गाडीसरह हुन्छ – सेतो हात्ती झैं !

तेस्रो,ड्राइभर आफूलाई तोकिएको भूमिकाभन्दा फरक कामजस्तै पसलबाट संगठनको लागि आवश्यक पर्ने सामान खरिद गर्न अग्रसर रहन्छ । चौथो,उक्त समूहमा रहेका मालिकबीच मतभिन्नताको फाइदा उठाई एक सदस्य (जो कार्यालयको बागडोर सम्हालेर त्यस दिन कार्यालयमा बसेका छन्) को व्यक्तिगत स्वार्थसँग आफ्नो स्वार्थ पनि मिलेको कारणले साँठगाँठ गरी गाडी चलाउँछ । ऊ सम्झौताअनुसार कर्तव्यनिष्ठ भई गाडी चलाउनचाहिँ चाहँदैन तर आफ्नो स्वार्थ र इच्छाबमोजिम गाडी चलाउन लालायित रहन्छ । यीबाहेक पनि अन्य थुप्रै अवस्था हुन सक्छन् ।

माथिको उदाहरणमा भनिएझैं उक्त समूहका मालिकहरूको मनमुटावको फाइदा उठाई ड्राइभरले आफू नै शक्तिशाली सम्झी मालिकलाई नटेर्ने, अनेक प्राविधिक कारण देखाई जा भनेको ठाउँमा नजाने तर आफ्नो फाइदा हुने अथवा व्यक्तिगत इच्छा हुने ठाउँमा भने जाने गर्यो भने कस्तो हुन्छ? तेल हाल्न र गाडी मर्मत गर्न दिएको पैसाबाट ड्राइभरले आफ्नो खल्ती भर्ने गलत पक्ष एउटा छ भने ऊ तोकिएको भूमिकाभन्दा फरक (जस्तै सामान किन्ने) काममा लाग्नु पनि गल्ती हो । यहाँनेर,गाडी चलाउने काममा अनेक बाधाव्यवधान देखाएर टार्ने तर सामान किन्नचाहिँ उत्सुकता देखाउने ड्राइभरको मनोवृत्ति पनि दूषित त हुन्छ नै !

मुलुकको भूभाग तथा सीमाको सुरक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नबाट सेनापति हच्किए भने के हुन्छ?

त्यस्तैगरी, ड्राइभरले संगठनको काम गर्नचाहिँ आनाकानी गर्ने तर निहित स्वार्थले कुनै एक सदस्यको लाभको लागि काम गरेमा के उक्त गाडी तथा ड्राइभरको प्रयोजन सावित हुन्छ? उदाहरणको लागि, त्यसदिन संगठनको कार्यालयमा उपस्थित एउटा सदस्यले आफ्नो स्वार्थसिध्द गर्नको लागि (अरुलाई धक्कु देखाउन वा तर्साउनको लागि) शहरमा गाडी घुमाउन ड्राइभरसँग लेनदेन गरी अथवा ‘टाकटुक गरी’ कुरा मिलायो भने के त्यो जायज हुन्छ? कुनै एक मालिकको निहित स्वार्थ पूरा गर्ने चालकले सम्पूर्ण संस्थाको उद्देश्यलाई नै तिलाञ्जली दिएको अवस्था स्वीकार्य हुन्छ ?

उल्लिखित उदाहरणलाई राष्ट्रको तहमा तुलना गरी हेर्दा,संगठनरुपी राष्ट्र,मालिकरुपी जनता जसको प्रतिनिधित्व राजनीतिक दल तथा जनप्रतिनिधले गर्छन्, गाडीरुपी सैनिक संगठन र चालकरुपी सेनापतिको कामलाई केलाएर हेर्नुपर्ने हुन्छ । के सेनापतिले मालिक (राजनीतिक दलहरूमार्फत जनता) को इच्छाअनुसार काम गरेका छन् त? अथवा, कतै उनी गाडी टल्काएर (संगठनमा लिपपोत) मात्र बसेका पो छन् कि ? यहाँ सेनापतिको मुख्य काम संविधानप्रदत्त भूमिकाअनुसार राष्ट्रिय सुरक्षाका लागि परिचालित हुनुपर्ने (गाडी चलाएर संगठनको उद्देश्य पूर्तिको लागि तोकिएको ठाउँमा जानुपर्ने) हो । कतै उनी गाडी चलाउन आनाकानी गर्ने तर आफ्नो भित्री चाहना पूरा गर्न अन्य काम (जस्तै खरिद) गर्नचाहिँ रुचाउने त होइनन् ? सेनापतिले आफ्नो कर्तव्य पूरा गरे कि गरेनन् भनी आमजनताले बुझ्ने भाषामा केलाउने यसरी नै हो ।

धेरैजसो मुलुकको सैनिक संगठनमा सेनापतिको ठीक मुनि सीजीयस (चिफ अफ जनरल स्टाफ) र सीओएस (चिफ अफ स्टाफ) गरी दुई उच्च तहका जनरल रहेका हुन्छन् । उनीहरूको मुख्य काम नै सैनिक संगठनलाई हातहतियार,गोलिगठ्ठा, रसदपानी,तालिम,नीतिनियम आदिबाट तयारी हालतमा राख्ने हो । सेनापतिको काम भनेको आफ्ना यी दुई सैनिक अधिकारीहरूले सेनालाई ‘तिखारी’ राखेको यकिन गर्ने र आवश्यक परे निर्देशन दिने हो । आफैंले सैनिक संगठनको तल्लो तहमा सूक्ष्म व्यवस्थापन (माइक्रो म्यानेजमेन्ट) गर्ने होइन ।

उनको मुख्य काम त आफ्ना ‘प्रिन्सिपल स्टाफहरू’ बाट व्यवस्थापन गरी ‘तिखारी’ राखिएको सेनालाई संविधानले तोकिदिएको भूमिकामा कसरी परिचालन गर्ने र सो भूमिकालाई सशक्त ढंगले निर्वाह गर्ने भन्ने हो । उनको सम्पूर्ण ध्यान र गतिविधि सोही भूमिकालाई प्रभावकारी रूपमा सम्पादन गर्नमा एकत्रित हुनुपर्छ । यदि,सेनापति आफैं सुक्ष्म व्यवस्थापनमा व्यस्त हुन्छन् र संगठनको तहभन्दा माथि उठ्दैनन् भने एकातिर अन्तरगतमा पहलता लिने प्रवृत्ति लोप भएर जान्छ त अर्कोतर्फ सेनाले निर्वाह गर्नुपर्ने प्राथमिक भूमिकामा सम्झौता हुन जाने प्रवल सम्भावना रहन्छ । सैनिक संगठनलाई जतिसुकै पालनपोषण गरेर राखिए पनि यदि त्यो आवश्यक परेको बेलामा परिचालन हुँदैन अथवा आनाकानी गर्छ भने त्यो टल्काएर राखेको गाडीसरह हुन्छ – सेतो हात्ती झैं !

यस्तो प्रवृत्ति नेतृत्वले ‘रुखलाई ध्यान दिँदा जंगललाई नदेख्ने’ अवस्था हो । ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भनेझैं । मुलुकले सेनापतिलाई तोकिदिएको भूमिकाचाहिँ पूरा नगर्ने वा आनाकानी गर्ने तर मुख्य भूमिकाइतरका काम गर्न लालायित रहने भएमा त्योभन्दा ठूलो दुर्भाग्य मुलुकको लागि के हुन सक्छ ? मुख्य भूमिकाअन्तर्गत पर्ने मुलुकको भूभाग तथा सीमाको सुरक्षा गर्ने जिम्मेवारी निर्वाह गर्नबाट सेनापति हच्किए भने के हुन्छ? अथवा, सेनापति यस्ता गम्भीर विषयमा मौन बसे के हुन्छ?

यदि,सेनापति आफूलाई तोकिएको भूमिकाचाहिँ निर्वाह गर्दैनन् तर मुलुकको पार्टीगत राजनीति तथा गैरसैनिक काममा संलग्न हुन्छन् भने के त्यो आफ्नो भूमिकाबाट च्युत भएको मानिँदैन? म्यानमारको सेनापतिबाट भएको सैनिक ‘कू’ त माथि उल्लिखित काल्पनिक परिस्थितिमा मालिकलाई घरमा कैद गरी ड्राइभरले गाडी हाँकेर हिँडेको परिस्थिति भइहाल्यो । तर, मालिकलाई बन्धक नै नबनाएको अवस्थामा पनि चालकले मालिकलाई अटेरी गर्नु आफ्नो भूमिकाबाट च्युत हुनु हो । सेना राज्यभित्रको राज्य होइन, जनताको करबाट पालित राज्यको सशस्त्र नोकर हो । सेनापति त्यसका प्रमुख नोकर हुन् ।

माथिको उदाहरणमा उक्त संस्थाको पेरिमिटरबाहिर हिँड्ने बटुवाले हाताभित्र पार्किङ गरिराखेको टल्केको गाडी देखेर विभिन्न प्रतिक्रया दिन सक्छन् । गाडीको उपयोगबारे थाहा नहुनेले ‘यो संस्थासँग क्या गज्जबको सवारी–साधन रहेछ’ भनी तारिफ गर्छन् भने जसलाई उक्त गाडी टल्केको मात्र हो, त्यसको प्रयोजन भएन भन्ने थाहा हुन्छ त्यसलाई हात्तीको देखाउने दाँतका रूपमा मात्र हेर्नु स्वाभाविकै हो ।

संस्थाको सदस्य (मालिकहरू)ले पनि के कुरा बुझ्नुपर्छ भने यदि आफ्नो व्यक्तिगत (वा पारिवारिक) स्वार्थ वा रहरका लागि उक्त चालकले संस्थाका एक सदस्यलाई आफ्नो पक्षमा पारी अरुलाई धोका दिन्छ भने कालान्तरमा उसले अन्य मालिकलाई पनि धोखा दिने मात्र होइन उक्त संस्था नै धराशायी हुन बेर लाग्दैन । मालिकबीच आपसमा विमति भए पनि एउटा कुरामा उनीहरूमा समझदारी हुनुपर्छ । त्यो हो, कुनै पनि हालतमा ड्राइभरले आफ्नो कर्तव्य सही ढंगले सम्पन्न गरोस् र अनावश्यक रूपमा ‘हिरो’ बन्ने प्रयास नगरोस् । ड्राइभरले आफूलाई नै गाडीको मालिक नसम्झोस् । अनि, ड्राइभरले संगठनको उद्देश्य पूरा गर्नका लागि नै गाडी हाँकोस् – गाडी टल्काएर आँखामा छारो नहालोस् ।

तसर्थ,एउटा संस्थामा नियुक्त भएको असल सवारी चालकले आफ्नो जिम्मेवारीमा भएको गाडीलाई स्याहार सम्भार गरेर सही हालतमा राख्ने र मालिकको आवश्यकता र चाहनाअनुसार संगठनको हितका लागि माग भएको समयमा इमान्दारीपूर्वक तोकिएको गन्तव्यमा पुर्याउनुपर्ने उसको दायित्व र कर्तव्य भएझैं एउटा सेनापतिले पनि गाडीरूपी सैनिक संगठनलाई हरहमेशा चालु हालतमा राखेर (देखावटी रूपमा टल्काएर मात्र होइन) मुलुकको नेतृत्वले राष्ट्रिय हितका लागि (कुनै अमूक राजनीतिक पार्टी वा व्यक्तिगत लाभका लागि होइन) चाहेको समय र चाहेको स्थानमा परिचालन गर्नु उसको कर्तव्य हो । नेपालको हकमा पनि सेनापतिको कामको मूल्यांकन गर्दा सतही रूपमा नगरी उल्लिखित काल्पनिक ड्राइभरको झैं गुण र दोषको आलोकमा गरिनु मनासिब होला ।

(लेखक निवर्तमान सहायक रथी हुन्)

Tags :

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

“जीरो ईरोर (डिफेक्ट्) सिण्ड्रोम” बाट ग्रसित नेपाली सेना
अन्तरिक्षबाट यस्तो देखियो नेपाल र हिमालय क्षेत्र (फाेटाे फिचर)
दलाए दलाए, अन्तिममा ढलाए
अष्ट्रेलियाको भन्दै सुर्खेतको बाँड्दै
Add

Scroll Up