खेलाडीलाई मन्त्रीबाट यस्तरी खुस्काइयो

खेलाडीलाई मन्त्रीबाट यस्तरी खुस्काइयो

प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुर तथा राजेन्द्र महतोबीच सत्तारोहणसम्मको यात्राको प्रपञ्च मिलाउने मुख्य खेलाडी नै शुक्रबारको क्याबिनेट पुनर्गठनमा छुटेको रहस्योद्घाटन भएको छ । जसपाका ८ जना मन्त्री र २ जना राज्यमन्त्री नियुक्त हुँदासम्म सबै चाँजोपाँजोको सर्वेसर्वा भनेर चिनिएका सर्वेन्द्रनाथ शुक्ला भने फालिएका छन् ।

अन्तिम क्षणमा प्रधानमन्त्री केपी शर्मा ओलीले माननीय नरहेकालाई मन्त्री नबनाउने मापदण्ड तय गरिदिएपछि शुक्लाको मन्त्री बन्ने सम्भावना हराएको हो । तर अचम्मको कुरो चाँहि स्वयम् प्रधानमन्त्री ओली नै यतिबेला सांसद हुनुहुन्न । जेठ ८ गते मध्यरात संसद विघटन गरेपछि अहिले प्रतिनिधिसभाका कोही पनि माननीय सांसदको हैसियतमा हुनुहुन्न । तर उहाँलाई जसपाबाट मन्त्री बनाउन सांसद चाहियो ।

प्रधानमन्त्रीले यसो किन भन्नुभएको होला भनेर राखिएको जिज्ञासामा बालुवाटार निकट स्रोतले भनेको छ ‘सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्नेमा उहाँहरु ढुक्कझैँ देखिनुभएको छ । त्यसैले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिँदा शुक्ला काम लाग्दैनन् । शुक्लाको कारण अर्को सांसद बिच्किएर उपेन्द्र यादवतिर जाने बित्तिक्कै खेल खत्तम हुने डरले बेलैमा बुध्दि पुर्याइएको हो ।’

यता,आफूलाई मन्त्री बनाउने विषयमा अध्यक्ष ठाकुरले अडान लिनेमा शुक्ला विश्वस्त थिए । तर, बालुवाटारमा प्रधानमन्त्रीले त्यसो भनेपछि ठाकुरले तपाईंको कुरो ‘मुनासिब हो’ भनेर मुन्टो हल्लाउनुभएको बताइन्छ । शुक्ला निकट स्रोतका अनुसार ठाकुरले अडान लिनुभएको भए मन्त्री मात्रै होइन,ओलीले रक्षामन्त्री नै दिनुहुन्थ्यो । अन्तिम घडिमा दक्षिणले पनि फोन थिच्ने काम नगरेपछि शुक्लाले खुइया गर्नुको विकल्प नभएको उनीहरुको दाबी छ ।

शुक्ला आउट भएपछि एकाएक महिला मन्त्री बन्नुभएकी चन्दा चौधरीको भाग्य खुलेको बताइन्छ । चन्दालाई स्वयम् ठाकुरले नै धेरै अघिदेखि मन्त्री बनाउने वचन दिनुभएको थियो । स्रोत भन्छ ‘ठाकुरले जसपाको एक्लो मन्त्री बन्ने अवस्थामा पनि क्याबिनेटमा जाने अवसर जुराइदिने वचन दिएकाले उनी सँधै ढुक्क र फुरुङ्ग हुँदै आएकी थिइन् ।’

टिप्पणीहरू