सरकार प्रमुख र राष्ट्रप्रमुखलाई जसले दिन्छन् सुटुक्क सल्लाह

सरकार प्रमुख र राष्ट्रप्रमुखलाई जसले दिन्छन् सुटुक्क सल्लाह

राप्रपा अध्यक्ष कमल थापाले हालै ट्वीटमार्फत पार्टी पुनः फुट्ने आशय र आशंकाको व्यहोरा लेख्नुभएको छ । प्रधानमन्त्री केपी ओलीको सरकारमा सहभागी हुन व्यक्तिगत रुपमा थापा व्यग्र रहेको एकथरिको आरोप छ । सत्ता र शक्ति भनेपछि चालिसको दशकदेखि नै पछि नहट्ने थापाको विगतलाई हेरेर उनीहरुले त्यस्तो आशंका गरेको हुनसक्छ ।

तर, राप्रपाका ठूला नेताहरु भने थापाले चाहेर पनि अहिलेको सरकारमा सहभागी हुन नसक्ने बताउँछन् । स्रोत भन्छ ‘हो,उनी केपी ओलीसँग टाँसिन आतुर छन् । तर अर्का दुई जना अध्यक्ष प्रकाशचन्द्र लोहनी र पशुपति समशेर राणा तयार छैनन् । स्वयम थापाको निकट भनेर चिनिएका नेताहरुसमेत त्यसको निम्ति तयार देखिन्नन् ।’त्यहि स्रोत भन्छ ‘धवल समशेर तयार छैनन्,राजेन्द्र लिंगदेन तयार छैनन्,वरिष्ठ उपाध्यक्ष बुध्दिमान तामाङसमेत तयार छैनन् । राप्रपाका कुनैपनि पदाधिकारी थापालाई सरकारमा लैजान तयार छैनन् । अन्त्यमा उनको पक्षमा दीपक बोहोरा मात्रै एक्लो समर्थक देखिन सक्लान् ।’

उनले दुबैको दाबी खारेज गर्नुपर्छ भनेको केही घण्टा नबित्दै शीतल निवासबाट सोहीबमोजिमको बिज्ञप्ती आएको थियो ।

नाम नबताउने शर्तमा एकजना केन्द्रीय पदाधिकारी भन्छन् ‘हाम्रो पार्टी अहिले १३ जनाको कार्य सम्पादन समितिले सामूहिक रुपमा सञ्चालन गर्छ । उपल्लो तहका कुनै पनि नेता थापाको उक्त चाहनासँग सहमत छैनन् । उनी एक्लै गए भने छुट्टै कुरो, संस्थागत हिसाबले राप्रपा सरकारमा ज्वाइन गर्ने भन्ने धेरै टाढाको विषय हो ।’

थापाको ट्वीट र फेसबुक म्यासेजप्रति प्रतिक्रिया दिँदै उनै नेता भन्छन् ‘सानोतिनो कुरोमा चित्त नबुझेपछि उनले रिस जति सबै ट्वीटमा पोख्छन् । केपी ओलीको जस्तै उनी पनि आफ्नो कुरा मात्रै ठीक भन्छन् । आफूलाई मनमा केही कुरो लागेपछि दायाँ बायाँ नहेरी लेखिहाल्ने, भनिहाल्ने थापाको पुरानै बानी हो । कतिपय प्रवृत्ति उनको केपी प्रवृत्तिसँग मेल खान्छ ।’

उनले पार्टीमा रहेको अध्यक्षत्रयको व्यवस्थाप्रति लक्षित गर्दै बेला बेलामा पार्टीभित्रै तीतो पोख्थे । आफैँले पार्टी हाँकेको जस्तो बेलगाम हिँड्न नपाएपछि थापामा छटपटाहट बढेको बताइन्छ । तीन वटा घोडाको कारण च्यापिएर मरिने आशय आफैँले केही गर्न पाइएन भन्ने कुण्ठा रहेको उनी निकटस्थहरुले बताएका छन् । सम्भवतः उनलाई अहिले राप्रपामा रहेको बहु अध्यक्षको व्यवस्था मन परेको छैन ।

थापालाई नजिकबाट नियाल्नेहरुका अनुसार उनको अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार र शीतल निवासमा सोझै सम्पर्क भइरहेको छ । बेलाबखत भेटघाट र सल्लाह दिने काम पनि हुने गरेको छ । स्रोत भन्छ ‘हप्ताको एकपटक जसो मिलाएर दुबैतिर भेट हुने गरेको छ ।’

संविधानको धारा ७६ (५) बमोजिमको सरकार दाबीका लागि राष्ट्रपतिले आह्वान गर्नुभएको २१ घण्टे समयसीमाभित्र विपक्षी गठबन्धनको तर्फबाट काँग्रेस सभापति शेरबहादुर देउवाको निवेदन परेपछि हत्तपत्त प्रधानमन्त्री ओली होलसेल दावी गर्न गएको बेला थापाले गरेको ट्वीटबमोजिम शीतल निवासको निर्णय आएको अवस्थालाई स्रोतले थापाको सल्लाह बालुवाटार र शीतल निवासले लिने गरेको प्रमाणको रुपमा अर्थ्याएको छ । उनले दुबैको दाबी खारेज गर्नुपर्छ भनेको केही घण्टा नबित्दै शीतल निवासबाट सोहीबमोजिमको बिज्ञप्ती आएको थियो ।

थापाले शीतल निवासलाई त्यसको केही समयअघि दिएको सल्लाह पनि स्रोतले कोट्याएको छ । जेठ ७ गते शीतल निवासमा प्रधानमन्त्री ओलीले संसद विघटन र नयाँ धाराबमोजिम सरकार गठनको लागि गरेको सिफारिश संविधानसम्मत नभएकाले संविधानसम्मत बनाउन थापाले नै सुझाएको बताइन्छ । उनले प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेको अवस्थामा नयाँ सरकार गठनको निम्ति सिफारिश गर्नु गलत भएको सल्लाह शीतल निवासलाई दिएका थिए भनिन्छ । ओली आफैँ प्रधानमन्त्री हुने भए पनि पहिले राजीनामा दिएर बरु कामचलाउको हैसियतमा अकण्टक बस्न मिल्ने भन्दै शीतल निवासमा थापाको सल्लाह गएको थियो ।

राप्रपा उपल्लो तहको बुझाइमा बालुवाटार र शीतल निवासलाई संविधानको धारा र उपधाराबीच तिकडमपूर्ण व्याख्या गर्न त्यहिँका कालोकोट लगाउनेहरुले प्रोत्साहित गरे पनि राजनीतिक तिकडम र झेली खेल सिकाउने काम भने आफ्नै नेता कमल थापाको हो ।

श्रोतले जोड दिँदै भन्यो,”यी आजीवन पन्च र मण्डले,यिनले कम्युनिस्ट नेता बिध्यादेवी भण्डारी र केपी ओलीलाई निशुल्क सेवा दिन्नथे भने नाताले दाइ तर सच्याइएको सर्टिफिकेटले भाइ नेत्रबहादुर थापालाई शीतल निवासले के नातामा त्यत्तिका बर्षसम्म राष्ट्रपतिको सुरक्षा सल्लाहकार बनाएर राख्यो ? अनि किन कमललाई केपी अघिल्लो पटक प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको जिम्मा दिइयो ? “

टिप्पणीहरू