मधेसी राजनीतिमा अर्को फण्डा,मन्त्री बन्नुअघि मुर्गा हन्टिङ्ग

मधेसी राजनीतिमा अर्को फण्डा,मन्त्री बन्नुअघि मुर्गा हन्टिङ्ग

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशपछि हालै मन्त्री पदको जिम्मेवारीबाट मुक्त भएका पूर्वमाओवादी समूहको सिफारिसमा दुई जनालाई मन्त्री बनाउने वचन दिनुभएको बुझिएको छ । उहाँले रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी,लेखराज भट्ट र प्रभू साहसँग सल्लाह गरेर दुई जना मन्त्री थप्ने बताउनुभएको उच्च स्रोतको दाबी छ ।

पुस ५ को प्रतिनिधिसभा विघटनपछि एमाले प्रवेश गरेका पूर्वमाओवादीहरूलाई नै चाहिँ अहिले मन्त्री बनाउन खोजिएको होइन । तत्काल जसपाका केहीलाई मन्त्रीमण्डलमा समावेश गरेपछि अर्को लटमा मात्रै थापा र रायमाझीले सिफारिश गरेका दुई जनालाई मन्त्री बनाउने वचन दिइएको स्रोतको दाबी छ । मधेशी नेताहरूलाई मात्रै मन्त्री बनाउँदा पूर्वमाओवादीहरू बिच्किनसक्ने आँकलन गर्दै बालुवाटारले उक्त वचन दिने तर मन्त्री तत्काल नदिने रणनीति लिएको बताइन्छ ।

यता,जसपाको महन्थ ठाकुर तथा राजेन्द्र महतो समूहलाई पनि हिजो बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले हाललाई चारदेखि पाँँच जनालाई मात्र मन्त्री बनाउने जानकारी गराउनुभएको छ । जबकि यसअघि नै आठ जना मन्त्री कन्फर्म भन्दै जसपाको उक्त समूहका नेताहरू दङ्ग परिसकेका थिए ।

तत्कालको परिस्थितिमा ‘मान्छे अड्याउन पर्यो’ भन्दै बालुवाटारले नयाँ कार्ड फ्याँकेको बताइन्छ । जसपाका नेताहरूलाई बालुवाटारको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘भोलि अदालतबाट संसद पुनर्स्थापना भएमा बढीभन्दा बढी मान्छे चाहिन्छ । अहिले नै सबै मन्त्रालय भरिभराउ गरियो भने भोलि यादवतिरका मान्छे यता आउने सम्भावना हुँदैन । यताका पनि दुई चार जना बिच्किन्छन् । त्यसैले आश गर्ने ठाउँ राखिरहनुपर्छ ।’

उता जसपाभित्र सबैभन्दा महत्वपूर्ण व्यक्ति बनेका सांसद मृगेन्द्रसिंह यादवको ‘समस्या’ भोलिसम्म समाधान हुने बताइएको छ । मृगेन्द्र पहिले महन्थ ठाकुर समूहमा नै थिए । तर, बीचमा भड्केर उपेन्द्र समूहतिर गए । अहिले उनलाई फर्काउन उपचार भइरहेकाले मन्त्रीमण्डल पुनर्गठनको कामसमेत ढिलो भएको बताइन्छ । सिंहको कित्ताकाट क्लियर भएपछि मात्र बालुवाटार र ठाकुर–महतो समूहको अन्तिम छिनोफानो हुनेछ । सिंह ठाकुरतर्फ नआउञ्जेल पार्टी विभाजन हुन सक्ने अवस्था छैन । सिंह जसपाको केन्द्रीय कार्यकारिणी समिति र राष्ट्रिय सभा दुबैतिर छन् । उनले उपेन्द्रको साथ छाड्दा राष्ट्रिय सभामा महन्थको तीनमध्ये दुई जना र कार्यकारिणीमा समेत बहुमत हुन्छ । पार्टी विभाजनको लागि संसदको ४० प्रतिशत संख्या समेत दुबैतिर पुग्नेछ ।

टिप्पणीहरू