महन्थ र हृदयेशको सुटुक्क साउती

महन्थ र हृदयेशको सुटुक्क साउती

बबरमहलस्थित पार्टी कार्यालयमा बैठक चलिरहँदा अध्यक्ष महन्थ ठाकुर अपरान्ह तीन बजेतिर बैठकबाट उठेर हिंडे र सीधै सिंहदरबारस्थित राजपा संसदीय दलको कार्यलयमा छिरे । त्यहाँ केही क्षणपछि नै स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको प्रवेश भयो । दुई जनाबीच एकान्तमा झण्डै २० मीनेट भलाकुसारी चल्यो ।

सत्तामा जान तम्तयार पूर्व राजपा खेमाले बालुवाटारसँग आठ मन्त्री र दुई राज्यमन्त्री माग गरिरहेको अवस्था छ । जसमा मन्त्रीका दावेदारमा राजेन्द्र महतोदेखि महन्थ ठाकुर निकट सर्वेन्द्रनाथ शुक्ला,शरतसिंह भण्डारी,अनिल झा,राजकिशोर यादव र एकबाल मियाँ,चन्दा चौधरीको नाम छ । यस अलवा उपेन्द्र यादवको साथ छाडेर राजेन्द्र महन्थसँग मिसिएका विमल श्रीवास्तव,उमाशंकर अरगरिया,चन्द्रकान्त चौधरी, कल्लुदेवी विश्वकर्मा र रेणुका गुरुङलाई व्यवस्थापन गर्न अहिले पूर्व राजपा खेमालाई सकस परिरहेको छ ।

यसैबीच बालुवाटारले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्न आग्रह गरेपनि ठाकुर खेमाका खास भनेर चिनिएका सर्वेन्द्रनाथ शुक्लाले स्वास्थ्यवाहेक अन्य मन्त्रालयको जिम्मेवारी नलिने बताएपछि अहिले मन्त्रालय भागबण्डाको बिषयमा पूर्व राजपा खेमाभित्रै लफडा श्रृजना भएको छ ।

स्वतन्त्र खेमाबाट मन्त्री नियुक्त हृदयेश त्रिपाठीलाई पछिल्लो समय अप्ठ्यारो परेको बुझिएको छ । बालुवाटारले स्वास्थ्य मन्त्रालय छाडिदिन दबाब दिएपछि आफूलाई सहयोग गरी पद जोगाइदिन हृदयेशले महन्थसँग आग्रह गरेको पूर्व राजपा स्रोतको दावा छ ।

दुई नेताबीचको भेटमा आफूलाई सहयोग भएको खण्डमा पार्टी एक गराएर जाने बिषयमा समेत छलफल भएको थियो । पूर्व तमलोपा व्युँताउने र मन्त्री हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहबीच एकीकरण गराउने बिषयमा समेत छलफल भएको सो स्रोतको दावा छ ।

हृदयेश ०४८ सालयताको संसदीय राजनीतिका माहिर खेलाडीका रुपमा चिनिन्छन् । महन्थ र हृदयेशले तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) बाट राजनीति गरिरहेका थिए । बीचमा राजपा गठन गर्नै समेत उनै हृदयेशको भूमिका मुख्य थियो । तर अध्यक्षमण्डलमा सहभागी नगराइएपछि उनी एकता प्रक्रियाबाट बाहिरिए । बीचमा सूर्य चिन्ह लिएर चुनाव लडेका हृदयेश संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हुँदै अहिले स्वास्थ्य तथा जनसंख्याको कमाण्ड सम्हालिरहेका छन् ।

महन्थ राजेन्द्र खेमाका ८ मन्त्री,२ राज्यमन्त्रीसहित सरकारमा सामेल हुने तयारी गर्दैछन् तर महन्थका खास भनिएका सर्वेन्द्रनाथ शुक्लाले स्वास्थ्यबाहेक अन्य मन्त्रालयमा नजाने अड्डी राख्दा मन्त्रालयको भागबण्डामा समस्या भएपछि महन्थ र हृदयेशबीच भेटघाटमा छलफल चलेको राजपा स्रोतको दावा छ ।

उता बालुवाटारको इच्छाचाहिँ स्वतन्त्र समूहबाट राजनीति गरिरहेका हृदयेश र बृजेश गुप्ताहरुलाई पूर्व राजपा समूहमै एकीकृत गराई बाबुराम-उपेन्द्र समूहलाई काउन्टर दिने रहेको बुझिन्छ ।

टिप्पणीहरू