भाेट हालेनन् लुम्बिनीका ३ पालिका प्रमुखले

भाेट हालेनन् लुम्बिनीका ३ पालिका प्रमुखले

-प्रतिक्षा क्षेत्री

लुम्बिनी प्रदेशमा भइरहेको राष्ट्रिय सभाको रिक्त सांसद पदको उपनिर्वाचनको मतदान समय सकिएको छ । कूल ३ सय मतमध्ये २ सय ९७ खसेको छ । प्रदेशसभाका सबै ८३ जनाले मत खसालेका छन् भने पालिकाहरुको २ सय १७ मध्ये २ सय १४ मतदान भएको छ ।

रोल्पाका २ जना माओवादी मतदाता अनुपस्थित भएको बताइन्छ । उनीहरू कोरोना संक्रमणका कारण काठमाडौंमा आईसीयुमा उपचाररत छन् भनिन्छ ।

यता मुख्यमन्त्री शंकर पोखरेल निकटस्थहरुले चुनाव जितिएको आँकलन गरेका छन् । उनले एमालेको ३७ र जसपाका ४ जना गरी प्रदेशसभामा ४१ जना आफूहरुतर्फ रहेकाले जितिने आँकलन गरेका हुन् । विपक्षीतर्फ सभामुखसहित ४० जना सांसद छन् । त्यसैगरी पालिकातर्फ एमालेको ६० वटामा निर्वाचित प्रमुख तथा उपप्रमुख छन् । त्यसपछि माओवादीको छ भने काँग्रेसको स्थानीय तहमा थोरै मतदाता रहेको छ ।

उता एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका तीनजना पालिका उपाध्यक्षले दाङबाट सूर्यमा नै भोट हालेको चर्चा गरिएको छ । बबई र अर्को एउटा पालिकाका उपाध्यक्ष र घोराहीकी उपमेयरले सूर्यमा भोट हालेको भन्न थालिएको छ ।

लुम्बिनीमा राष्ट्रिय सभाको उपनिर्वाचन जित्नलाई ३ हजार ९ सय १० मतभार आवश्यक पर्छ । सत्ता निकटस्थहरुले पुरानै उम्मेदवार चन्द्रबहादुर खड्काले जित्ने निश्चित रहेको बताएका छन् । पहिले उनी माओवादी केन्द्रका सांसद थिए । नेकपा विभाजनपछि एमालेतिर लागेको कारण उनलाई माओवादीले कारबाही गरेपछि रिक्त भएको स्थानमा आज उपनिर्वाचन भएको हो ।

निर्वाचन आयोगका अनुसार आजै दिउँसो साढे तीन बजेबाट मतगणना शुरु हुनेछ । विश्लेषकहरु भन्छन् ‘कसले जित्छ यसै भन्न सकिन्न । भोट क्रस भएमा मात्र खड्काले जित्नेछन् ।’

स्थानीय तहतर्फ नेपालगञ्जका मेयर धवलसमशेर राणा र नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह,गुल्मीको गुल्मी दरबार गाउँपालिकाका अध्यक्ष अशाेककुमार थापाले मतदान नगरेकाे बुझिएकाे छ ।

जसपाबाट मन्त्री भएका चार जनालाई अन्तिम समयमा अाएर मतदान गर्न अधिकार दिईएकाे थियाे ।

विपक्षी उम्मेदवार दुर्ग पाण्डे पनि केहि हप्ताअगाडि कांग्रेस प्रवेश गरेका हुन् । उनलाई नेकपा माओवादी केन्द्र,जसपा उपेन्द्र पक्ष,राष्ट्रिय जनमोर्चाको समर्थन छ ।

दुबैजना अवसरवादी भएकाेले मतदान गर्न तीन पालिकाका प्रमुख नअाएकाे बुझिएकाे छ । उनीहरुकाे निश्कर्ष छ,”कुनै एकजनालाई मतदान गरेर जिताइएला तर भाेलि चुनाव जितेपश्चात फेरि मन्त्री बन्ने चक्करमा वा अन्य ब्यक्तिगत फाइदाकाेलागि अर्काे दलमा पनि जान्छन् ।

अडान नभएका, सिध्दान्तहिन,दलफेरुवालाई के भाेट हाल्नु भनेर उनीहरु भाेट हाल्न नगएकाे बुझिएकाे छ ।

टिप्पणीहरू