भोलिसम्ममा महन्थहरुलाई सिंहदरबार खुल्ने

भोलिसम्ममा महन्थहरुलाई सिंहदरबार खुल्ने

पार्टी फुटाएरै भएपनि जसपाको महन्थ ठाकुर खेमा सात मन्त्रालय लिएर सरकारमा जाने निश्चित भएको छ । बालुवाटार स्रोतका अनुसार आज साँझ या भोलिसम्ममा महन्थ खेमाका सात मन्त्रीले शपथ लिनेछन् ।

अस्ति नै सरकारमा जान तम्तयार भएर बसेको महन्थ खेमा मन्त्रालय,दल बिभाजन,नागरिकता प्रकरणमा अदालतको आदेशमा कुरा नमिलेपछि रोकिएको थियो ।

गृहसहित १० मन्त्रालयको दाबी गरेकोमा प्रधानमन्त्री ओलीले आनाकानी गरेपछि सो खेमा पछि हटेको चर्चा पनि थियो । गृहबाहेकको सात मन्त्रालयमा बालुवाटारले मनाएपछि महन्थ खेमालाई अन्ततः सरकारमा जान बाटो खुलेको बताइन्छ ।

गृहमन्त्री बनेर पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने राजेन्द्र महतोको इच्छा भने पूरा नहुने भएको छ । मधेशी दललाई सुरक्षासँग सम्बन्धित मन्त्रालय कुनैपनि हालतमा नदिन ओलीलाई पार्टीभित्रै दबाब बढेकाले गृहमन्त्रालय एमालेले नै राख्ने भएको हो ।

‘गृहबाहेक नै सरकारमा जान महन्थहरु राजी भएपछि अब कुनै विवाद छैन । आज भोलिमै उहाँहरु सरकारमा जानुहुन्छ’,बालुवाटार स्रोत बताउँछ, ‘अहिले सातमै फाइनल गरौं,पछि फेरि मन्त्रिपरिषद् रिसफल हुँदा बिचार गरौंला भनेपछि उहाँहरु मान्नुभयो ।’

महतोले गृहमन्त्रीको अडान छोड्नुमा चैं दक्षिणको हात रहेको बताइन्छ । चुनावी सरकारको गृहमन्त्री केपी ओलीकै हुनुपर्ने उताको मनशाय प्रष्ट रुपमा प्रकट भएपछि महतो पछि हटेको स्रोतको दाबी छ ।

यता,प्रधानमन्त्री ओलीले पहिलो चरणमा मन्त्री भएका सबैलाई हटाएर मन्त्रिपरिषद् बिस्तारको तयारी गरेको पनि बताइएको छ । त्यहि मेसोमा राप्रपालाई समेत सरकारमा ल्याउने गृहकार्य भैरहेको बताइन्छ ।

राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानसहित परराष्ट्रमन्त्री बनाएर प्रदीप ज्ञवालीलाई सरकारको काममा खटाउने गरि छलफल भैरहेको एमाले स्रोतले बताएको छ ।

‘महासचिवसहित जिम्मेवार कमरेडहरु सरकारमा हुँदा चुनावको मुखमा पार्टी काममा असर पर्न सक्ने भएकाले प्रधानमन्त्रीज्यूले त्यसरी सोच्नुभएको होला’, स्रोतले भन्यो ।

राप्रपालाई सरकारमा ल्याउँदा हिन्दु जनमत आकर्षित गर्न सकिने र भारतीय सत्तारुढ भाजपासमेत खुशी हुने भएकाले कमल थापालाई परराष्ट्रमन्त्री बनाउनेमा प्रधानमन्त्रीको चासो देखिएको बताइन्छ ।

त्यसो त,ओलीको अघिल्लो मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री रहेका थापाको भूमिकाप्रति ओली सन्तुष्ट रहेकाले राप्रपाको सरकारमा जाने सम्भावनालाई इन्कार गर्न नमिल्ने कतिपयको विश्लेषण छ ।

राप्रपा उच्च स्रोतले भने अहिले सरकारमा जाने सम्भावना नरहेको प्रष्ट पारेको छ ।

टिप्पणीहरू