जबरजस्ती करणीपछि पुलबाट फाल हाल्दा घाइते

जबरजस्ती करणीपछि पुलबाट फाल हाल्दा घाइते

जुम्लामा जबरजस्ती करणीको अभियोगमा दुई युवा पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तिला गाउँपालिका–३ का २१ वर्षीय लक्की बुढा शुक्रबार पक्राउ परेका हुन् ।

लक्की र सोही गाउँपालिका खलंगा बजारका मुकेश महतले जेठ ११ गते किशोरीलाई जबरजस्ती करणी गरेको बताइएको छ ।

घटनामा संलग्नमध्ये लक्कीलाई जिल्ला प्रहरी कार्यालय जुम्ला र प्रहरी चौकी कुडारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

लक्कीलाई जिल्ला प्रहरी कार्यालयतर्फ लैजाने क्रममा तिला गाउँपालिका ३ र ४ जोडने त्रिवेणीस्थित तिला नदीको झुल्लुङ्गे पुल तर्ने क्रममा पुलबाट हाम फालेर घाइते भएकोले उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको प्रहरीले बताएको छ । घटनामा संलग्न फरार मुकेशको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

बरण्डामा पार्क गरेको मोटरसाइकल एकैछिनमा गायव

घरभित्रै छिरेर मोटरसाइकल चोर्ने दुई जना समातिएका छन् । कैलालीको भजनीमा बरण्डामा पार्क गरि राखेको मोटरसाइकल चोर्ने दुई जनालाई प्रहरीले बिहीबार पक्रिएको हो ।

भजनी नगरपालिका–३ पडरियाका ४२ वर्षीय प्रेमराज जैशीको गोदामको बराण्डामा पार्किङ गरी राखेको से.७ प ३२१६ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा धनगढी–१७ का २१ वर्षीय सुरेश चौधरी र धनगढी–१५ का १८ वर्षीय किशोर पक्राउ परेको प्रहरीले जनाएको छ ।

गत जेठ ९ गते राति चोरी भएको उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपलिका–७ देबरीयास्थित जंगलमा मोटरसाइकल चलाइरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटेर हत्या गरिएपछि लास बसपार्कमा

कैलालीमा कुटपिट गरि हत्या गरेको अभियोगमा चार जना समातिएका छन् । परिचय नखुलेका अन्दाजी २५ वर्षीय पुरुषलाई कुटपिट गरी हत्या गरेको अभियोगमा शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कञ्चनपुर भिमदत्त नगरपालिका–३ बस्ने डडेल्धुरा अमरगढी नगरपालिकाका १९ वर्षीय प्रबीण ऐर, डोटी पूर्वीचौकी गाउँपालिका–४ का २० वर्षीय अनिल कुवँर, कैलाली धनगढी उपमहानगरपालिका–१ त्रिबेणी चोकका १८ वर्षीय किशोर र कैलाली घोडाघोडी नगरपालिका–१ का १८ वर्षीय किशोर रहेका छन् ।

धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित प्रतिक्षालयमा अपरिचित पुरुष मृत अवस्थामा फेला परेको घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनको कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

पक्राउ परेका चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कोरोनामा प्रहरीको दु:ख, कतै कारवाही कतै सम्झाई बुझाइ

सरकारले जारी निषेधाज्ञा थप कडाइ गर्ने बताएका बेला अटेर गरेर सडकमा निस्केका पाँच सय बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तीमध्ये २ सय २ वटा चार पाङ्ग्रे र ३ सय ७८ वटा दुई पाङ्ग्रे रहेका छन् । प्रहरीका अनुसार नियन्त्रणमा लिएका सवारी साधनहरुलाई सोधपुछ पछि छाडिएको छ ।

त्यस्तै, सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड उल्लंघन गर्ने २ सय १७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको र १ हजार ४ सय ८४ जनालाई सम्झाई बुझाई छाडिएको प्रहरीले जानकारी दिएको छ ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत गत २४ घण्टामा ८ सय ३५ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जानकारी दिएको छ ।

देशभर सञ्चालित ८८ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १४ हजार ६ सय ८९ जनालाई सचेत गराइएको प्रहरीको भनाइ छ ।

टिप्पणीहरू