एमाले नेतृत्वको पाका र युवा हिसाब

एमाले नेतृत्वको पाका र युवा हिसाब

सत्तारुढ दल एमाले विभाजनको लगभग अन्तिम डिलमा पुगेको छ । अब उक्त पार्टी चमत्कार भएमा मात्र एकीकृत रहने छाँटकाँट देखिँदैछ । तर पनि पार्टीको नाममा भने एकीकृत शब्द झुण्डिरहने छ ।

कुनै पनि राजनीतिक दल विभाजन हुँदा त्यसका विभिन्न पाटोलाई केलाइन्छ । नीति, सिद्धान्त,दर्शन,विचार,कार्यनीति, कार्यदिशा र नेता कतातर्फ धेरै भन्ने कुरोले महत्व राख्छ । त्यसमा पनि कम्युनिष्ट पार्टीको हकमा त्यो सबैभन्दा धेरै लागू हुन्छ ।

अहिले एमाले विभाजन नभइसकेको तर जोडिन पनि नसकेको अवस्थामा नेताहरुमध्ये पाका र पाकाको लाइनमा उक्लिने क्रममा रहेकाहरुको नाम सर्सर्ती केलाउने गरिन्छ । एमालेले अस्ति कारबाही गरेको भनिएका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहसँग अधिकांश पाका र अनुुभवी कम्युनिष्ट नेताको बाहुल्य देखिएको छ ।

त्यहि प्रसंग उठाउँदै जनआस्थाको तर्फबाट नेपाल समूहकी नेत्री रामकुमारी झाक्रीलाई सोधेका थियौं । उहाँ भन्नुहुन्छ,‘कम्युनिष्ट पार्टीमा आउने फुट र जुटको कारण विचार र सिद्धान्त हो । त्यसैले विचारबाट परिपक्व हुन पाको हुनैपर्छ । त्यसो हुँदा दूध एकातिर,पानी अर्कोतिर हुनु स्वाभाविक हो ।’

बेदुराम भुसाल पार्टीमा ५० वर्षदेखि सक्रिय हुनुहुन्छ । उहाँ त्यतिबेलाको हर्रेबर्रे आन्दोलनका नेतासमेत हुनुहुन्छ । एउटा समूहको नेतृत्व गरेर मालेमा एकता गर्ने नेतामध्ये उहाँ पनि एक हो । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बराबर राजनीतिक बन्दीको रुपमा जेल बस्ने धेरै जनामध्ये उहाँ पनि एक हुनुुहुन्छ । भुसालले १३ वर्ष जेल जीवन व्यतित गर्नुभएको थियो ।

त्यसैगरी केदार न्यौपाने र झापा आन्दोलनमा १४ बर्ष जेल बस्नुभएका नरेश खरेल पनि सोही समूहसँग जोडिनुभएको छ । अर्का पुराना नेता घनेन्द्र बस्नेत पनि त्यसैमा हुनुहुन्छ ।

यता,२ नम्बर प्रदेशमा पनि पाका नेताको रुपमा धर्मनाथ साह र रामप्रित पासवान हुनुहुन्छ । पासवान हिजोका दिनमा राष्ट्रिय सभाको उपाध्यक्ष भइसक्नुभएको छ । तराई मधेश समुदायको वामपन्थी आन्दोलनमा उहाँ निकै लोकप्रिय र सम्मानित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ ।

उता लुम्बिनी प्रदेशको दाङमा सक्रिय भागवत विश्वासी पनि त्यहि समूहमा जोडिनुभएको छ । मुख्यमन्त्री शंकर पोखरेलको जिल्ला र क्षेत्रमा विश्वासी युवा पुस्ताका पनि पाका नेताको रुपमा परिचित हुनुुहुन्छ ।

सो समूहमा मध्यक्षेत्रका पाका युवा नेताहरुमा जगन्नाथ खतिवडा, अरुण नेपाल र विरोध खतिवडा देखिनुभएको छ । सुदूर पश्चिममा बझाङका भानुभक्त जैशी,झपट रावल,विक्रम शाही र हंस शाही पनि युवा नेताबाट अब बिस्तारै परिपक्व नेताको रुपमा परिचय बनाउँदै गएको अनुहार हो ।

उता कर्णाली प्रदेशमा सक्रिय चन्द्रबहादुर शाही र प्रकाश ज्वालाहरुले युवा र पाका नेताको दुबै भूमिका निभाउँदै आउनुभएको देखिन्छ ।

टिप्पणीहरू