हाम्रो पुस्तालाई ध्वस्त बनाइयो-गोकुल बाँस्कोटा

हाम्रो पुस्तालाई ध्वस्त बनाइयो-गोकुल बाँस्कोटा

गत बिहीबार हेटौंडामा सम्पन्न राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा प्रधानमन्त्री ओलीका उम्मेदवार तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलको पराजय सोचेभन्दा एकाध सय बढी मतभार ल्याएर भयो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट भनिएका २२ जनामध्ये अघिल्लो साता दिवङ्गत माननीय पशुपति चौंलागाईंपछि २१ मा सीमित भएको थियो । थापाले प्राप्त गरेको मतभारलाई हेर्दा उक्त समूहका केही सांसदले गोप्य मतदानको मज्जैले उपयोग गरेको प्रष्ट भएको छ ।

उपनिर्वाचनमा रामबहादुर थापा बादललाई जिताउन कमाण्डरको भूमिकामा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा अघिल्लो दिन हेटौंडा पुग्नुभएको थियो । तर,उहाँको कमाण्डले पनि निर्वाचनमा तात्विक असर नपारेको बताइन्छ । बरु बाँस्कोटाले अर्को पक्षका केही नेतासँग आफूले पार्टी एकता जोगाउन धेरै प्रयास गरेको तर नसकिएको दुःख मनाउ गर्दै निर्वाचनको दिन हेटौंडामा बिताउनु भएको थियो ।

‘बागमतीको कुरो गर्दा लुम्बिनीमा हामी सल्लाह गरौं भनेको भए पनि अवस्था मिल्नसक्थ्यो तर बालुवाटारलाई नै सबैतिर चाहिने भएपछि कुरा नमिलेको हो ।”

मतदान केन्द्र रहेको भुटनदेवी माविको प्राङ्गणमा केशव स्थापित,माधव पौडेल,अरुण नेपाल र राजेन्द्र पाण्डेसहित प्रदेशका केही माननीयसँग बाँस्कोटाले ‘एमालेको अन्तरविरोधले पार्टी खत्तम भयो, ध्वस्त भयो,हाम्रो पुस्ता सकियो भन्दै’ निकै चिन्ता व्यक्त गर्नुभएको थियो ।

उहाँको चिन्तामा जवाफ फर्काउँदै माननीयहरूले पनि ‘के गर्ने, हामीले मात्र गरेर केही हुने होइन, अध्यक्ष भएको नाताले केपीले गर्नुपर्थ्यो । तपाईं र हामीले जोगाउन खोज्दैमा अब पार्टी जोगिँदैन’ भनेर जवाफ दिएका थिए ।

मतदानस्थलको छेउमा बस्दै बाँस्कोटाले व्यक्त गर्नुभएको भनाई उद्धृत गर्दै स्रोत भन्छ ‘बादललाई जिताउन हिजैदेखि हेटौंडा आएर बसेको छु । तर भोटको प्याटर्न हेर्दा म निराश भएँ ।’

‘सम्झौता र सहमति भनेको एउटाले केही पाउने र अर्कोले छाड्ने पनि हो । तर बालुवाटारले केही पनि नदिने, आफू मात्रै लिने रणनीति बनाएपछि सबैतिर समस्या परेको हो ।’

उहाँको त्यस्तो कुरो सुनेपछि केही कमरेडले बागमतीको कुरा गर्दा दुई सातापछि लुम्बिनीमा हुने अर्को उपनिर्वाचनलाई समेटेर किन कुरा नगरेको भन्दै उहाँसँग जिज्ञासा राखेका थिए । बालुवाटारले बागमतीमा सहयोग गरिदिनुपर्यो भन्नेबाहेक अरु केही नभनेको प्रदेश माननीयहरूले बताएका छन् ।

स्रोत भन्छ ‘बागमतीको कुरो गर्दा लुम्बिनीमा हामी सल्लाह गरौं भनेको भए पनि अवस्था मिल्नसक्थ्यो तर बालुवाटारलाई नै सबैतिर चाहिने भएपछि कुरा नमिलेको हो । उता कर्णालीमा प्रकाश ज्वालालगायतका चार जना सांसदलाई कारबाही गरिएको छ । सांसद पद गए पनि उनीहरूलाई पार्टीमा पुनर्स्थापना गर्ने मामलामा बालुवाटार सबैभन्दा धेरै अनुदार देखिएको छ ।’

बालुवाटारको रवैयापछि नेता नेपाल निकट एकजना सांसद भन्नुहुन्छ ‘सम्झौता र सहमति भनेको एउटाले केही पाउने र अर्कोले छाड्ने पनि हो । तर बालुवाटारले केही पनि नदिने,भएजति आफू मात्रै लिने रणनीति बनाएपछि सबैतिर समस्या परेको हो ।’

उहाँको निचोड छ ‘बागमतीको उपनिर्वाचन प्रधानमन्त्री ओलीलाई एउटा राम्रो नमूना भएको छ । यो पराजय प्रधानमन्त्रीको निम्ति मोस्ट ड्यामेजिङ इभेण्ट हो । उहाँले आफू र आफ्नो मान्छेले हार्ने कहिल्यै कल्पना गर्नुहुन्न ।’

अरुण नेपालको पनि जोड नचलेपछि

हुन तः बादलको पराजय पहिले नै निश्चित थियो । प्रदेशसभाका सांसद र बागमतीको स्थानीय निकायका अध्यक्ष,उपाध्यक्ष, प्रमुख तथा उपप्रमुखहरू मतदाता रहेको अवस्थामा थापाको ४ हजार हाराहारी र एमालेकै अर्का उम्मेदवार डा. खिमलाल देवकोटाको ५ हजार बढी मतभार आउने आँकलन पहिले नै गरिएको थियो ।

यता,बुधबार बिहानैदेखि उत्पन्न एमालेको नयाँ आन्तरिक परिस्थिति र मुलुकको समग्र राजनीतिक घटनाक्रममा विकसित पछिल्लो अवस्थाले एक दुई दिनमा प्रतिनिधिसभा विघटनसम्मको खेल हुने आँकलन गर्न थालिएको थियो । त्यसैले एमालेका प्रदेशसभास्तरीय केही प्रभावशाली युवा नेताले बुधबार दिनभर पार्टीभित्रको आन्तरिक समस्या समाधानको निम्ति भरमग्दूर प्रयास गरेका थिए ।

विशेषगरी बागमती प्रदेशका माननीय तथा एमाले नेता अरुण नेपालले त्यो दिन काठमाडौंमा गर्नुभएको दौडधुप सबैभन्दा लोभलाग्दो थियो । पार्टी एकता जोगाउने नाममा उहाँले दिनभरि वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल र विष्णु पौडेल,सचिव शंकर पोखरेल,स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे,योगेश भट्टराईलगायतका नेताहरूसँग छलफल गर्नुभएको थियो ।

सबैले आफ्नो टाउको जोगाउने कुरा मात्र गरेपछि उहाँ दिक्क भएर बिहीबारको उपनिर्वाचनमा सहभागी हुन राति नै हेटौंडा जानुभएको बताइन्छ । उहाँका अनुसार तुलनात्मक रुपमा माधव नेपालको धारणा सकारात्मक थियो । तर बालुवाटारसँग नजिक भनिएका नेताहरूबाट ठोस कुरा नआएको उहाँले आफ्ना निकटस्थहरूसँग त्यहि दिन साँझ सेयर गर्नुभएको थियो ।

पार्टीलाई पुनः दुर्घटनामा नलगियोस् भन्दै राजधानीको कुना कुना चाहार्दै नेताहरूसँग अनुनय विनय गर्दा पनि दाल नगलेपछि आफू स्वयम् हेटौंडातर्फ लागेको उहाँले जनआस्थासँग पनि स्वीकार्नुभएको छ ।

वरिष्ठ नेता नेपालले आफूसँगको भेटमा डा. खिमलाल देवकोटाको उम्मेदवारीको हकमा आफ्नो प्रस्तावमा काँग्रेस,माओवादी र जसपाले सहमति गरेकाले राजनीतिक विश्वसनीयता कायम राख्नको निम्ति पछाडि हट्न नमिल्ने बताउनुभएको उहाँले उल्लेख गर्नुभएको छ ।

त्यसबखत अरु सबै कुरामा सहमति भएपनि राष्ट्रिय सभाको उम्मेदवारको हकमा कुनै हालतमा पछाडि नहट्ने प्रतिबद्धता नेता नेपालको थियो । तर, बालुवाटारको भनाई आफ्ना उम्मेदवार रामबहादुरको पक्षमा माधव समूहले आत्मसमर्पण गर्नुपर्ने भन्ने खालको रहेको बताइन्छ ।

टिप्पणीहरू