अहिलेको सन्दर्भमा के हो भारतको नेपाल मिशन ?

अहिलेको सन्दर्भमा के हो भारतको नेपाल मिशन ?

-अभयरमण मिश्र
घटनाक्रमलाई हेर्दै जाऊँ त,पोहोर रास्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्नुअघि बालुवाटारको पार्टी स्थायी समिति बैठकमा बहुमत नेताहरुले प्रधानमन्त्रीलाई कालापानी समेटिएको नक्सा जारी गर्न कति जबर्जस्ती गरे ? ओलीको रहर थियो त्यो ? कहर थियो ।

राष्ट्रपति र प्रधानमन्त्रीलाई त्यसरी बाध्य गराउने साराका सारा नेता अहिले कुन हालतमा छन् ? त्यसपछिका सबै खेल भारतकै हो । पहिलो, नेकपा फुटाउने । त्यसअन्तर्गत उसले पहिले प्रचण्डलाई बाहिर निकाल्यो । एउटा बलियो कम्युनिस्ट पार्टी टुक्र्याउनु आफैमा ठूलो सफलता थियो । त्यसपछिको दोस्रो खेल रह्यो,एमालेलाई ब्रेक गरिदिने ।

“राम्रो विचार भएको मनमोहन न भारतलाई पच्यो न त किसुनजी न ठीक जँच्यो ।”

दश वर्ष यता एमालेले कमाएका ग्लामरस फेसहरुलाई तितरबितर पारिदिने । दुई-चार जना पछिल्लो समय ओलीतिर फर्केर जान इच्छुक योगेश भट्टराईहरुको पनि कुनै हैसियत त्यहाँ रहनेवाला छैन । तिनले दिएको मानो खाएर बस्नुपर्ने हुन्छ । ‘खाए खा नभए घिच’ भनेजस्तो स्थिति हुन्छ । यो भनेको सेकेण्ड ब्रेक भयो ।

आम मान्छेले देख्दाखेरि काँग्रेस र मधेसीको वीचमा राम्रो एलाएन्स हुनुपर्ने । अझ उपेन्द्र यादवभन्दा पनि महन्थ ठाकुरसङ्ग काँग्रेसको बढी मिलजुल हुनुपर्ने । उनका निम्ति काँग्रेसले चुनावी क्षेत्र खाली गरिदिएको पनि हो ।

“मोदीजी नेतृत्वको भारतलाई आफूजस्तै बिरोधीप्रति असहिष्णु स्वभावको जंगबहादुर नै चाहिएको हो ।”

स्वयं महन्थको काँग्रेस पृष्ठभूमि मिल्नुपर्ने त तिनै हो तर यथार्थ त्यस्तो छैन । तथ्य के हो भने नेपाली काँग्रेस र महन्थ अथवा जसपाको वीचमा कहिल्यै मीठो चुनावी तालमेल हुनै सक्दैन । किनभने हरेक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसका बलिया उम्मेदवारहरु छन् ।

मधेसको आठ जिल्लामा कतै पनि अपवादबाहेक त्यस्तो ठाउँ छैन,जहाँ काँग्रेसले सजिलै आफ्ना मान्छेलाई ब्याक गर्न सकोस् । जहाँ काँग्रेसका खम्बाहरु छन्,त्यहाँ मधेसका पनि खम्बाहरु छन् । त्यसकारण जतिसुकै अहिले दुईटाको वीचमा प्याचअप भएपनि इलेक्टोरल अलायन्स भनेको असम्भव चिज हो ।

“भारतीयहरुको लगानी ब्ल्याँकेट लेभलमा छ । एमालेकै चर्चित नेताले ६० लाख रुपैयाँसम्म चुनाव खर्च लिएका छन् ।”

जोडबलले समझदारी गर्‍यो गर्‍यो अन्तिम राती गएर कुरा बिगृयो । त्यसैकारण मधेसको हितमा राजेन्द्र,महन्थ र काँग्रेस मिलेर जान हुन्छ भन्ने रिपोर्ट भारतले पाएन । उनीहरुले सोचे- केन्द्रदेखि तलसम्म तालमेलका लागि ओली सबैभन्दा राम्रो विकल्प हो । किन ? यसको दुईटा कारण छ ।

एउटा हो,जहाँ ओलीको मान्छे छ,घृणाको राजनीतिका कारणले त्यहाँबाट मधेसी भोट ओलीलाई खासै आउँदैन । मधेसी नेताले देऊ कि देऊ भनेपनि आउँदैन । ओलीलाई कमजोर पार्नको लागि योभन्दा ठूलो हतियार अरु के चाहियो ? जबकि मधेशीलाई ओलीको पक्का भोट डोकोको डोकै जान्छ ।

“चाइनिजहरुको ठ्याक्कै राजाको जस्तो डिप्लोमेसी ।”

ओलीको भोट लिने,आफ्नो मधेसी सेन्टिमेन्टको भोट पनि लिने भएपछि को जित्छ ? हेट पोलिटिक्सको कारण मधेसीको भोट ओलीलाई राम्ररी गएन भने ओली यत्तिकै कमजोर हुन्छ ।

बाहिर मान्छेले देख्दा छक्क पर्दै महन्थ र ओली कसरी मिलेको होला भन्छन् तर वास्तविकता यही हो र बुझेरै इण्डियाले अन्तिमसम्म यिनको गठबन्धन टिकाएको हो । त्यसमाथि महन्थजीकै मान्छेहरु प्रायः सबै लोभी छन् । उनीहरुलाई पैसा पाए,मन्त्री पाए पुग्यो । भारतको अर्को खास एजेण्डा आजको मितिमा भन्नुपर्दा संविधान नै फालिदिने हो ।

“संघीयता खत्तम हुने स्थितितिर देश जाँदा पश्चिमाहरुले थेग्न सके त ?”

२०४७ को संविधानको धारा १२६ ले नै त्यो संविधान खायो । मान्छेले राजाको कारण भन्छन्,त्यो सबै बेकार कुरा हो । त्यो संविधान गएको धारा १२६ ले नै हो । यसपाली चाहिँ चुच्चे नक्साले यो संविधान खानै लागेको छ । कालापानीलाई भारतले बाहिर नभने पनि कस्मिरको केही भागलाई पाकिस्तान अकुपाइड कस्मिर (पीओके) जस्तै रुपमा बुझेको छ । उनीहरुले यसपालि बाहिर नदेखिने गरी आफ्नो काम सम्पन्न गरेका छन् ।

देखाउनलाई त ओलीलाई बचाएको देखियो तर खासमा यो ओलीको काँधमा तोप राखेर भारतले आफूबिरोधीहरुलाई एक एक गरी ठेगान लगाएको हो । विभिन्न धारका यत्तिका परिपक्व नेताहरु हुँदाहुँदै भारत कसरी सफल भयो त भन्ने कुराको एउटा पक्ष छ,यो संघीयता भनेको वेस्टर्न डोमिनेन्ट फिलोसफी हो । त्यसकारण उनीहरू यो संघीयता फाल्न चाहँदैनन् ।

“देखाउनलाई त ओलीलाई बचाएको देखियो तर खासमा यो ओलीको काँधमा तोप राखेर भारतले आफूबिरोधीहरुलाई एक एक गरी ठेगान लगाएको हो ।”

तर संघीयता खत्तम हुने स्थितितिर देश जाँदा पश्चिमाहरुले थेग्न सके त ? देवप्रकाश त्रिपाठीजी जस्ता एकथरि मित्रहरु बातैपिच्छे क्रिश्चियानिटी बढ्यो आदि इत्यादि भनेर हिन्दूत्व फर्काउने र सँघीयता मिल्काउने अभियानमा हुनुहुन्छ । उहाँहरुले अनेक रूपमा ओलीलाई सघाउनुभएको छ ।

अर्को कुरा, चाइनिजहरुको यत्रो ठूलो लगानी छ नेपालमा । आजको दिनसम्म सबैभन्दा ठूला र धेरै ठेक्काहरु उसैले पाएको छ । नेपालको राजनैतिक सन्दर्भमा बढी चलखेल गर्दा अहिले उनीहरु टोटल्ली फेल भएका छन् । उनीहरुले जति पनि प्रोजेक्ट नेपालमा पाए,ती सबैको पैसा खास खास ब्यक्ति ब्यक्तिमा गयो । त्यो पैसा ती व्यक्तिले आफ्नो गुटको निम्ति पनि खर्च गरेनन् । नाइदर प्रचण्ड नर केपी ओली । सबै आफैँ ।

“धारा १२६ ले २०४७ को संविधान खायो । यसपाली चाहिँ चुच्चे नक्साले यो संविधान खानै लागेको छ ।”

इश्वरले जे पाए उनैले कुम्ल्याए । थाहा छैन भोलिको दिनमा यिनीहरुले कहाँ त्यसरी पैसा राख्न सक्छन् ! चाइनिजहरुको ठ्याक्कै राजाको जस्तो डिप्लोमेसी । जस्तो दरवारलाई मलजल गर्ने,केही केही फिक्स नेतालाई च्यापेर बस्ने । तर भारतीयहरुको लगानी ब्ल्याँकेट लेभलमा छ ।

एमालेकै चर्चित नेताले ६० लाख रुपैयाँसम्म चुनाव खर्च लिएका छन् । अब दोहोरिने मन्त्रीले पनि २५ लाख पाएका छन् दूतावासबाट । ३० जना त्यस्ता मान्छे त नोटेड छन् । भविष्य हेरेर पैसा बाँडेको छ भारतले तर, चाइनिजहरुको त्यो स्थिति रहेन ।

चाइनिजले ब्ल्यांकेट लेभलमा यो काम गर्नै सकेन । उसको लगानी जति छ त्यो व्यक्तिकहाँ छ । देखिन्छ,लेफ्टिस्टहरुको घर ठडिएको । अब त परिस्थिति बदलियो । कोर्टले के गर्छ थाहा छैन ।

मोदीजी नेतृत्वको भारतलाई आफूजस्तै बिरोधीप्रति असहिष्णु स्वभावको जंगबहादुर नै चाहिएको हो । राम्रो विचार भएको मनमोहन न भारतलाई पच्यो न त किसुनजी न ठीक जँच्यो । गिरिजाप्रसादलाई लठैत भनि भनी बदनाम गरे तर उनी लठैत त होइनन् ।

उनले आफ्नो समयमा गरेको डेमोक्रेटिक भ्यालुजहरु हेरौँ न । चारजना वामपन्थीले उनै गिरिजालाई फासफुस पारेर सूर्यनाथ उपाध्यायलाई अख्तियारको हाकिम बनाएको हो नि ! गिरिजाबाबुलाई यो मान्छेले भोलि आफ्नै टाउकोमा लात हान्छ भन्ने थाहा नभएको होर !

टिप्पणीहरू