वाम एकताका लागि प्रचण्ड प्रस्तावको अर्थ

वाम एकताका लागि प्रचण्ड प्रस्तावको अर्थ

दुई ठूला कम्युनिष्ट पार्टीको एकता टुटेपछि नेपाली वामपन्थी आन्दोलन छिन्नभिन्न भएको भनिएका बेला फेरि वाम ध्रुवीकरणको चर्चा शुरु भएको छ ।

अदालतको हस्तक्षेपका कारण टुटेको मुलुकका दुई ठूला कम्युनिष्ट शक्तिबीचको एकता ढिलोचाँडो फेरि जोडिने अनुमान गरिएका बेला माओवादी केन्द्रका केही नेताले बृहत वाम एकताको प्रस्ताव गर्न थालेका छन् ।

तत्कालीन नेकपामा केपी ओली र प्रचण्ड-नेपालबीच अन्तरसंघर्ष उत्कर्षमा पुगेका बेला अदालतले एकता भंग गरिदिएको थियो । एमाले र माओवादी एकतापूर्वको अवस्थामा फर्किनुपर्ने बाध्यात्मक अवस्थाका कारण प्रचण्ड र माधव पक्ष अलगिएका थिए । यध्यपि अदालतले विभाजनकारी फैसला नसुनाएको भएपनि नेकपा सिङ्गो रहने सम्भावना भने निकै कम थियो ।

“वाम भनेको कम्युनिष्ट हैन । लेफ्टिस्ट एजेन्डा बोक्नेहरु हुन् ।”

यता,एमालेभित्रको अन्तरसंघर्ष चुलिँदै जाँदा अब के हुन्छ भन्न सकिन्न । अदालतको फैसलाअनुसार एमालेलाई एकतापूर्वको अवस्थामा पुर्याएर त्यहि बिन्दुबाट संचालन गर्नुपर्नेमा अध्यक्ष ओलीले प्रचण्डसँग नजिकिएको भनेर नेपाल पक्षलाई बाहिरै राखी भटाभट निर्णय गर्न थालेपछि शुरु भएको अन्तरसंघर्ष अहिले उत्कर्षमा छ । यध्यपि अहिले दुवै पक्ष वार्तामा छन् ।

एमालेमा एकताको प्रयास अघि बढिरहेका बेला बृहत वाम ध्रुवीकरणको प्रसंग उठाउनुलाई अर्थपूर्ण रुपमा लिइएको छ । माओवादीको दोस्रो र तेस्रो तहका नेताहरुले माओवादी घटकहरुबीचको एकीकरणमा जोड दिइरहेका बेला प्रचण्डले एमालेसमेतको एकताको प्रस्ताव अघि सार्नुलाई माधव खेमातर्फ लक्षित रहेको विश्लेषण गरिएको छ ।

माओवादी केन्द्रको नेतासमेत रहनुभएका बरिष्ठ अधिवक्ता खिमलाल देवकोटाका अनुसार सच्चा वाम शक्तिहरुको एकताले मात्र परिवर्तनका एजेन्डाको रक्षा गर्न सक्ने भएकाले प्रचण्डले वाम ध्रुवीकरणमा जोड दिनुभएको हो ।

‘एमालेसँगको एकता गलत थिएन तर केपी ओलीका कारण दुर्घटनामा परेको भन्ने प्रचण्डको बुझाइ हो । प्रतिगामी शक्ति हावी भैरहेको अहिलेको अवस्थामा एकताको औचित्य झन् सावित हुँदैछ भनेर उहाँले सैध्दान्तिक कुरा गर्नुभएको होला’, देवकोटाले भन्नुभयो, ‘मैले बुझेअनुसार प्रचण्डले एमालेसँग मात्र एकता गर्ने भन्नुभएको होइन, रियल वामहरुको एकतामा जोड दिनुभएको हो ।’

दुई ठूला कम्युनिष्ट पार्टीमा आएको विखण्डनले परिवर्तनका मुध्दा कमजोर बनेको बेला प्रचण्डले नै एकताको पहल गर्नुपर्ने देवकोटाको बुझाइ छ । ‘वाम भनेको कम्युनिष्ट हैन । लेफ्टिस्ट एजेन्डा बोक्नेहरु हुन् । अहिले परिवर्तनका एजेन्डा धरापमा परेको छ । यस्तो बेला जसले परिवर्तनको नेतृत्व गर्यो त्यसलाई जोगाउने बढी दायित्व पनि उसैको हुन्छ’, उहाँले भन्नुभयो ।

अन्य कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना भएपनि अहिले ओली पक्षसँग भने एकता नहुने देवकोटा सुनाउनुहुन्छ । परिवर्तनका मुध्दा उल्ट्याउने अभियान ओलीले नै थालेकाले एकताको सम्भावना नरहेको उहाँको भनाइ छ ।

कतिपयले भने माधव नेपाल खेमा अप्रत्यासित रुपमा ओलीसँग नजिकिएपछि उत्पन्न तरंगले वाम ध्रुवीकरणको प्रसंग उठेको हुनसक्ने अनुमान गरेका छन् । अदालतको फैसलापछि पेरिसडाँडामा बसेको तत्कालीन नेकपा प्रचण्ड-नेपाल पक्षको अन्तिम स्थायी कमिटी बैठकमा माधव नेपालले कुनैपनि हालतमा ओलीसँग एकता नगर्ने विश्वास प्रचण्डलाई दिलाएको चर्चा त्यतिबेला थियो । अहिले नेपाल खेमा ओलीसँग मिल्ने दिशामा अघि बढेपछि प्रचण्डले वाम एकताको कार्ड फ्याँकेको विश्लेषण गर्नेहरु पनि छन् ।

एकजना वाम विश्लेषक भन्छन्, ‘प्रचण्ड र माधवबीच लामो सहकार्य गर्ने सहमति भएकै बेला अदालतको फैसला आयो । अदालतको फैसलाले बाध्यात्मक रुपमा प्रचण्ड र माधव अलगिएका हुन् । माधवसहितको पुरानो पुस्ता ओलीसँग भन्दा प्रचण्डसँग नजिकिने सम्भावना आज पनि छ । तर, केही प्राविधिक कारणले गर्दा माधवहरु ओलीसँग नजिकिएको जस्तो देखिन्छ । प्रचण्डको प्रस्ताव त्यसैको प्रतिक्रियास्वरूप आएको हुनसक्छ ।’

टिप्पणीहरू