कसरी अँठ्यायो अस्ट्रेलियाले कोरोनालाई ?

कसरी अँठ्यायो अस्ट्रेलियाले कोरोनालाई ?

-माण्डवराज कार्की
गत वर्ष कोरोनाको पहिलो लहरको संक्रमणले निकै समस्यामा पर्न खोजेको अस्ट्रेलियामा अहिले त्यसको कुनै छनक देखिँदैन । शहर बजारतिर मानिसहरु मास्क नलगाई हिँडेका छन् । उनीहरुको दैनिकी कोरोना महामारी शुरु हुनुअघिको जस्तै देखिएको छ ।

तर,गत वर्ष सामान्य अवस्था देखिएको नेपालमा अहिले दिनहुँ सयौंको निधन र दश हजारको नजिकमा संक्रमित थपिएका छन् । उपचारको अभावमा सर्वत्र चित्कार सुनिन्छ । पूरै देश निषेधाज्ञाको चपेटामा परेको छ । यसबारे हामीले सिड्नीस्थित एक जना नेपालीलाई सोधेका थियौं,के गरेर अष्ट्रेलियाले कोरोना संक्रमणलाई नियन्त्रणमा लिन सफल भयो ?

“एक एक जना संक्रमितको नजिक रहेका शंकास्पदलाई च्याप च्याप समातेर क्वारिण्टिन र आइसोलेसनको नियम बनाएको कारण अहिले अष्ट्रेलियामा सहज अवस्था देखिएको उनको बुझाई छ ।”

सुनौँ माण्डवराज कार्कीको अनुभव:

यहाँ कोरोना कन्ट्रोल हुनु कुनै चमत्कार होइन । धेरै पहिलेको कडा लकडाउन,सम्पर्क ट्रेसिङ्ग र सार्वजनिक नियमहरूको कडा पालना नै अष्ट्रेलियाको सफलता हो ।

हुन तः अष्ट्रेलियाले अहिलेसम्म त्यति धेरै भ्याक्सिनको जोगाड गरेको छैन । तर,अघिल्लो वर्ष नै समुदायमा एक एक जना संक्रमितको नजिक रहेका शंकास्पदलाई च्याप च्याप समातेर क्वारिण्टिन र आइसोलेसनको नियम बनाएको कारण अहिले अष्ट्रेलियामा सहज अवस्था देखिएको उनको बुझाई छ । उनी भन्छन् ‘व्यक्ति व्यक्तिमा लगानी गरेर भएपनि नियन्त्रणमा ल्याई छाडे ।’

त्यहाँको सरकारले अहिले पनि कसैलाई कोरोनाको लक्षण देखिए पनि नदेखिए पनि परीक्षणको रिपोर्ट नआउँदासम्म दायाँ बायाँ नगरी घरमा बस्नुपर्ने कडा नियम बनाएको छ । जनताले पनि त्यो नियमको पालना गरेका छन् । घर वरिपरि सामान्य हिँडडुल गर्न पाए पनि रिपोर्ट नआउञ्जेल कुनै व्यक्ति काममा जान नपाउने भएपछि त्यसले कोरोना फैलनबाट रोकेको बताइन्छ ।

“लक्षण देखिए पनि नदेखिए पनि परीक्षणको रिपोर्ट नआउँदासम्म दायाँ बायाँ नगरी घरमा बस्नुपर्ने कडा नियम बनाएको छ । “

रिपोर्ट नआउन्जेल त्यसरी घरमा बस्दा बिदा नभएकाहरुलाई सरकारले ४ सय ५० डलर उपलब्ध गराउँदै आएको छ । यो रकम नागरिक मात्र होइन,गैर नागरिकलाई पनि उपलब्ध गराउने व्यवस्था छ । यदि कसैको रिपोर्ट पोजिटिभ आयो भने उसलाई दुई हप्ता घरमा बस्दा १५ सय ५० डलर दिन थालिएको छ ।

पहिलेको महामारीमा हप्ताको एक दिन काम गर्नेलाई पनि हप्ताको पूरै पैसा दिएर घरै बस्न लगाइएको थियो । फ्रन्ट लाइनमा काम गर्नेलाई निकै सुविधा दिइयो । त्यो व्यवस्थाबाट कहिल्यै रकम बचत गर्न नसक्ने समुदायले पनि एक वर्षमा घर,फ्ल्याट किन्न सक्ने अवस्थासमेत बनेको छ ।

अहिले त्यहाँ व्यवसाय खुल्ला भएपछि क्युआर कोड प्रणालीलाई व्यापक बनाइएको छ । जोसुकै पनि सामान किन्न वा रेष्टुरेण्टमा जाँदा क्युआर कोड प्रयोग गरेपछि त्यो पसल वा होटल वा रेष्टुरेण्टमा कसैलाई संक्रमण भयो भने हेल्थ डिपार्टमेण्टले तत्काल त्यसबेला त्यो पसल,होटल वा रेष्टुरेण्टमा गएका सबैलाई ट्रेसिंग गरेर तत्काल आइसोलेशनमा बस्न भन्छ ।
फ्रन्ट लाइनको व्यवसाय त्यहाँ कहिल्यै बन्द नभएको बताइन्छ ।

पछिल्लो दिनमा ट्रेसिंग सिष्टमको आदेश र पालनाले अष्ट्रेलियामा कोरोना सजिलैसँग नियन्त्रणमा आएको उनको दाबी छ ।

टिप्पणीहरू