खिमलालदेखि देउवासम्मलाई घात,लडाइँ अरुको-हण्डर माधवलाई ?

खिमलालदेखि देउवासम्मलाई घात,लडाइँ अरुको-हण्डर माधवलाई ?

पर्सि जेठ ६ गते हुने राष्ट्रियसभाको उपचुनावमा माधव नेपालको जोडबलमा उम्मेदवार बनाइएका डा. खिमलाल देवकोटाको उम्मेदवारी यथावत छ ।

देवकोटालाई एमाले बरिष्ठ नेता माधवकुमार नेपालले काँग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मैदानमा उतार्नुभएको थियो । यसवीच प्रधानमन्त्री तथा अध्यक्ष ओली र नेता नेपाल पक्षद्वारा विवाद समाधाननिम्ति थालिएको गृहकार्यले देवकोटालाई घात गर्ला या रामबहादुर थापा बादललाई नै सत्र पर्ला प्रष्ट भैसकेको छैन ।

काँग्रेस, माओवादी र जसपाले आफ्नो उम्मेदवार नउठाएकाले खिमलाललाई भोट दिने निश्चितजस्तै छ । तर, अहिलेको ज्वलन्त प्रश्न हो-आफ्नै उम्मेदवारलाई नेपाल पक्षले के गर्ला !

“देशभरिबाट अप्ठ्यारोमा सङ्गठन बनाएको,जोगाएको पुस्ता भने उहाँसङ्गै देखिन्छ । जसलाई अहिलेको ढुङ्गा,गिट्टी,क्रसर,बालुवा टोलीले सम्मान गर्दैन । उसले यत्ति घोकेको छ-जबज,एमाले र सूर्य ।”

माओवादीबाट जितेर एमालेमा जम्प गरेका कारण पदरिक्त भई बादल एमालेको आधिकारिक उम्मेदवार बन्न पुगेको अवस्था छ ।

‘उम्मेदवारी दर्ता गर्दा बादल विशुद्ध केपी ओलीको उम्मेदवार हुनुहुन्थ्यो, अहिले एमालेको उम्मेदवारका रुपमा प्रचार गर्न थालिएको छ । बादललाई भोट हाल्नुपर्ने अवस्थामा माधव पक्ष आफैले उठाएको उम्मेदवारलाई चैं के गर्छ त्यो हेर्न बाँकी छ’, नेपाल पक्षका एक नेता भन्छन्, ‘त्यस्तो अवस्था आयो भने राष्ट्रिय राजनीतिमा हामीले ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ । हाम्रा कारण काँग्रेस र माओवादीले उम्मेदवार नै उठाएनन्,त्यसकारण हाम्रो विश्वसनीयतामाथि ठूलो प्रश्न उठ्छ ।’

“प्रदेशसभामा बलियो उपस्थिति रहेको माधव पक्षले जसलाई भोट हाल्यो त्यहि उम्मेदवारले जित्ने लगभग निश्चित छ ।”

बागमती प्रदेशमा एमाले एकजुट हुँदा उसको एक्लै बहुमत पुग्ने अवस्था छ । प्रदेशसभामा बलियो उपस्थिति रहेको माधव पक्षले जसलाई भोट हाल्यो त्यहि उम्मेदवारले जित्ने लगभग निश्चित छ । एमालेका दुवै पक्ष अहिले वार्तामा छन् । राष्ट्रिय सभाको उम्मेदवारीबारे माधव पक्षले केही नबोले पनि अध्यक्ष ओलीले आधिकारिक पत्र पठाएर बादलका लागि राप्रपालगायतका दलसँग मत मागिसक्नु भएको छ ।

‘परिस्थितिले हामीलाई आफैंले अघि सारेको उम्मेदवारलाई भोट नदिएर अर्को उम्मेदवारलाई जिताउन लाग्नुपर्ने अवस्थामा पुर्याएको छ । ६ गतेसम्म हेरौँ के हुन्छ’, ति नेता भन्छन् ।

माधव नेपालको विश्वसनीयता परीक्षण

एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समकालीन राजनीतिज्ञहरुमा तुलनात्मक रुपमा इमान्दार मानिनुहुन्छ । तर, पछिल्ला केही राजनीतिक निर्णयमा उहाँको भूमिका अस्पष्ट हुँदा राष्ट्रिय राजनीतिमा उहाँमाथि अविश्वास चुलिएको छ ।

राष्ट्रियसभाको उम्मेदवार चयनदेखि प्रधानमन्त्री ओलीको बहिर्गमन र कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन सघाउनेसम्मको निर्णय नेता नेपालकै पहलमा सम्भव भएको बताइन्छ ।

नेपालले देउवा, प्रचण्ड र उपेन्द्र यादवको घरसम्मै पुगेर नयाँ सत्ता गठवन्धनका लागि प्रस्ताव गरेको र त्यसैका आधारमा चार पक्षबीच दीर्घकालिन सहकार्यको समझदारी जुटेको हो । तर, पछिल्लो समय नेता नेपाललाई युवा पुस्ताले वार्तामा जान ठेलेपछि उहाँ धर्मसंकट परेको बताइएको छ ।

‘यी घटनाले माधव नेपालको क्रेडिबिलिटीमा ठूलो प्रश्न उठेको छ । उहाँ आफैंले पहल गरेर यो गठवन्धन बनेको हो । आफैले यो परिस्थिति बनाउने अनि अहिले आफैं त्यहाँबाट व्याक हुँदा उहाँको क्रेडिबिलिटीमाथि प्रश्न त उठिहाल्छ नि’,काँग्रेसका एक नेता भन्छन् ।

राष्ट्रियसभामा खिमलाललाई उम्मेदवार बनाउने, ओलीको विकल्पमा देउवालाई प्रधानमन्त्रीमा अघि सार्ने, सामूहिक राजीनामा दिने माधव पक्षका सांसदहरुलाई उपनिर्वाचनमा साझा उम्मेदवार बनाएर जिताउने, आगामी निर्वाचनसम्म सहकार्य कायम राख्ने चारपक्षीय समझदारी बनेको बताइएको थियो ।

त्यही सहमतिका आधारमा देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका २२ सांसदले राजीनामा दिने तयारी पनि थियो । नेताहरुलाई आश्वस्त बनाउन सांसदहरुको राजीनामा गोजीमै राखेर नेता नेपाल पटक-पटक बूढानिलकण्ठ,खुमलटार र हात्तीबन पुगेको उहाँनिकट नेताहरु नै स्वीकार गर्छन् ।

‘म राजीनामा दिलाउँछु,तपाइँहरु अगाडि बढ्नुस् भनेर देउवा, प्रचण्ड,र उपेन्द्रको घरमा माधव कमरेड जानुभएको हो । तर, उहाँले जे आश्वासन दिनुभयो, त्यहिअनुसारको वातावरण बनाएर एउटा निर्णय गर्न सक्नुभएन । यसले माधव कमरेडको विश्वसनीयतामाथि ठूलो प्रश्नचिन्ह उठाएको छ । भोलि पार्टीमा कुरा मिलेन भने कसरी जाने,त्यो बेला नैतिक संकट पैदा हुने देखिन्छ’, नेपाल पक्षका नेता भन्छन् ।

नेता नेपालले परिस्थितिको ठोस विश्लेषण गर्न तथा आफैँले अनुकूल परिस्थिति बनाउन नसक्दा अहिलेको अवस्था आएको उनको बुझाइ छ । भन्छन्, ‘भन्दा म आत्मसमर्पण गर्दिन भन्ने अनि त्योअनुसारको परिस्थिति बनाउन नसक्ने भएपछि नेताको क्रेडिबिलिटी कसरी रहला र ! ‘

लडाइँ अरुको, चेपुवामा माधव

परिस्थितिलाई आफू अनुकूल बनाउन नसक्दा माधव नेपाल निरन्तर कम्जोर बन्दै गएको कतिपयको विश्लेषण छ । परिस्थितिको ठोस विश्लेष्ण गरेर सही समयमा उचित निर्णय गर्न नसक्दा अरुको लडाइँमा नेपाललाई सेटब्याक भएको नेपाल समूहका नेताहरु नै स्वीकार गर्छन् ।

पछिल्ला घटनाक्रम हेर्दा ओली, प्रचण्ड र देउवाको लडाइँमा माधव नेपाल स्याण्डवीच बनेको बताउनेहरु पनि छन् । एक नेता भन्छन्, ‘सर्वोच्चले संसद पुनर्स्थापना गर्यो, केपी ओली उल्टै शक्तिशाली भए । प्रचण्डले पनि आफ्नो कित्ता क्लियर गर्नुभयो तर,माधव नेपाललाई त खासै हात लागेन । पार्टी पुनर्स्थापना भयो,ओली र प्रचण्डले आ-आफ्नो पार्टी कब्जा गरे, माधव कमरेडलाई केही न केही ।’

यद्यपि देशभरिबाट अप्ठ्यारोमा सङ्गठन बनाएको,जोगाएको पुस्ता भने नेपालसङ्गै देखिन्छ । जसलाई अहिलेको ढुङ्गा, गिट्टी, क्रसर, बालुवा टोलीले सम्मान गर्दैन । उसले यत्ति घोकेको छ-जबज, एमाले र सूर्य । यसवाहेक नीति, बिचार, सिध्दान्त न उसलाई सिकाइएको छ, न ऊ आफै यी गहन कुरा बुझ्न नै चाहन्छ । उसले जानेको छ-सत्ता । चाहे त्यो केन्द्रको होस्, चाहे स्थानीय ।

सांसदहरुको सामुहिक राजीनामाको सन्दर्भमा पनि आफ्नै समूहभित्र एक मत बनाउन नसक्दा माधव नेपाललाई नै ठेस पुगेको उनको बुझाइ छ ।

‘कि राजीनामाको कुरै गर्नु हुँदैनथ्यो,कि दिने भनेपछि राजीनामा दिईहाल्नुपर्थ्यो’, उनी भन्छन्’ हामी अनिर्णित हुँदा आखिर केपी ओली नै अध्यक्ष र प्रधानमन्त्री हुनुभयो, कांग्रेसले के गुमाएको छ र ? घाटा त हामीलाई नै भयो । लडाइँ अरुको अनि हार चैँ माधव नेपालको हुनेजस्तो अवस्था बन्यो ।’

टिप्पणीहरू