इन नेपाल कार्ल मार्क्स लिभ्स !

इन नेपाल कार्ल मार्क्स लिभ्स !

-दिनेश रायमाझी
२७ मे,१९९१ का दिन मदन भण्डारीले प्रसिद्ध अमेरिकी पत्रिका न्युज विकलाई दिएको अन्तर्वार्ताको शीर्षक हो यो । जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको दासढुंगामा रहस्यमय दुर्घटनामा परी मृत्यु भएको दुःखद दिन ०७५ सालमा नेकपा (एमाले ) र नेकपा (माके) बीच एकता भएको थियो ।

यो दिन एकातिर मदन भण्डारीलाई सम्झिने दिन हो र हत्यारालाई खोजी गरी कारबाही गर्ने बचनबद्धता दोहोर्याउने र नेकपा (नेकपा) को एकता दिवस मनाउने दिन हो । मदन भण्डारीको सम्झना गर्न त सकिने भयो तर धेरै ठूलो पीडासाथ भन्नुपरेको छ हामीले यो एकता दिवस भने मनाउन नसक्ने भएका छौं ।

सोभियत संघ र उसको अलायन्समा रहेका पूर्वी युरोपेली मुलुकको विखण्डन तथा ती देशका समाजवादी शासन प्रणाली धराशायी भई एक प्रकारले एउटा विचारधाराकै अन्त्य भयो भन्दै पुँजीवादीहरूले खुशीयाली मनाइरहेको विश्व परिवेशमा मदन भण्डारीले के कुरा बुझेको देखिन्छ भने संसदीय प्रणालीभित्रै कम्युनिष्टहरूको पनि अस्तित्व अडेको छ।

यही कुरालाई आधार मानेर उनी नेपालमा मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं भन्ने नारासहितअगाडि आए। नभन्दै तत्कालीन नेकपा (माले) नेपाली राजनीतिमा एउटा शक्तिको रुपमा उदायो र त्यही सन्दर्भमा न्युज विकले २७ मे १९९१ मा आफ्नो मुखपृष्ठमा माथि इन नेपाल मार्क्सवाद लिभ्स् शीर्षक राखेर बाह्र वटा प्रश्न–उत्तरसहित मदन भण्डारीको अन्तर्वार्ता छापेको थियोे ।

यी प्रश्न मूलत: संसारभरिबाट कम्युनिष्टहरू असफल भइरहेको यो समयमा नेपालमा कसरी सफल होला भन्ने विषयमा केन्द्रित थियोे । यस सन्दर्भमा मदन भण्डारीको ठोस र स्पष्ट जवाफ यस्तो थियो, ‘कम्युनिज्मको मुख्य काम भनेको समाजबाट शोषण उन्मूलन गर्ने, भ्रष्टाचार हुन नदिने र अन्यायको अन्त्य गर्ने हो । अरू कुरा तपसिलमा पर्छन् ।

०४६ सालको जनक्रान्ति संयुक्त वाममोर्चा र नेपाली कांग्रेसको संयुक्त मोर्चा बनाएर लडिएको कारणले मात्रै सफलता प्राप्त हुन गएको थियोे । एक्लाएक्लै लडेको भए अहिलेसम्म पनि पञ्चायत रहिरहने थियोे सायद ।

नेकपा ( एमाले ) र नेकपा (मार्क्सवादी) को बीचमा एकता भएर नेकपा (एमाले) बनेपछि मात्रै एमालेले राजनीतिक शक्ति आर्जन गर्न सम्भव भएको हो । र,०७५ सालमा पनि नेकपा (एमाले ) र नेकपा (माके) को बीचमा सहकार्य तथा ऐतिहासिक एकता भएकाले मात्रै लगभग दुई तिहाइको जित हासिल हुन र सरकार बनाउन सम्भव भएको हो ।

नेपालमा मात्रै होइन अन्यत्र पनि के देखिन्छ भने कम्युनिष्टहरू एकताबद्ध हुँदा मात्रै शक्ति आर्जन गर्न सफल भएका छन् भने फुटेका दिन शक्ति गुमाएका छन् । नेकपा (चौम) आज कुन हालतमा छ,नेकपा (एमाले) फुटेको दिन कस्तो बन्यो, नेकपा माओवादी फुटेर कस्तो भयो र अहिले नेकपा (नेकपा) नरहँदा कस्तो हालतमा पुगेको छ भनेर बताउनै पर्दैन । मदन भण्डारीको राजनीतिक जीवनलाई नियालेर हेर्ने हो भने उनी निरन्तर रूपले एकीकृत र संगठित हुँदै गइरहेको देखिन्छ ।

शुरुमा ०२९ सालतिर पुष्पलालको साँँस्कृतिक जनवादी मोर्चामा थिए । ०३३ सालमा मुक्तिमोर्चा निर्माण भयो । त्यसपछि २०३४ मा पूर्वको ‘को–अर्डिनेसन केन्द्र ’मा आबद्ध भए । ०३५ सालमा नेकपा (माले) स्थापना भयो र केन्द्रीय सदस्य बने । ०४७ सालमा माले–मार्क्सवादी एकीकरण भयो र उनी त्यसको महासचिव बने । ०४८ सालको संसदीय निर्वाचनमा नेकाका तत्कालीन सभापति एवं अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई परास्त गरेर दुनियाँलाई चकित पारे ।

यसरी हेर्दा मदन भण्डारी एकीकृत कम्युनिष्ट आन्दोलनबिना सफलता हासिल गर्न कठिन हुने कुरामा प्रष्ट देखिन्छन् । तर आज नेकपा (एमाले) को सिंगो नेतृत्व मदन भण्डारीले अघि सारेको जबजको पेटेन्ट राइट लिनेबाहेक उनको पदचापमा हिँडेको त कुरै छाडौं हिँड्ने प्रयाससमेत गरेको देखिन्न।

नेकपा (नेकपा) को निर्माण हुनु आफैमा अचम्मित हुने खालको परिघटना थियो । र,यसले समग्रमा देशको एकीकृत कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्ने कुरालाई लगभग सुनिश्चितजस्तै गरेको थियो अनि जनतामा ठूलो उत्साह पैदा भएको थियोे । देशबाट शोषण,भ्रष्टाचार र अन्याय खत्तम हुनेछ,देश समाजवादको यात्रामा अघि बढ्नेछ भनेर सबै तह र तप्काका जनता खुशेर भएका थिए ।

तर,दुर्भाग्य भन्नुपर्छ कुकुरलाई घ्यु नपचेजस्तो यत्रो प्रचण्ड बहुमत यिनलाई पनि पचेन। मदन भण्डारीको एकीकृत तर गोलबद्ध हुँदै झन् ठूलो हुँदै जाने स्पिरिटलाई पक्डिन खोजे तर कायम राख्न असमर्थ रहे।

मदन भण्डारीको राजनीतिक जीवन असाध्यै साधारण थियो । उनका निम्ति ठूला बंगला, मोटरगाडी तथा अन्य तडकभडक तुच्छ र त्याज्य थियो। यससम्बन्धमा ११ कात्तिक २०७७ को थाहा खबरमा प्रकाशित धर्मेन्द्र ओझाको लेखमा यस्तो उल्लेख छ – डेरामा बस्दै आएका उनलाई छिमेकीले भनेछन्, ‘तपाईं पार्टीको महासचिव,म घर बनाइदिन्छु’ उनले भनेछन्, ‘मलाई किन चाहियो घर? डेरा छँदै छ ।’

तपाईंको सुरक्षाको लागि साइकल होइन गाडीको जरुरत छ,म किनिदिन्छु।’ तर उनले अस्वीकार गरेछन् । आज यस्तो छैन । मूल नेतृत्वको मात्रै नभएर पार्टीका जुनसुकै संगठनको मूल नेतृत्वसँग ठुल्ठूला घर र गाडी छन् । बरु प्रश्न त कसको छैन भनेर गर्ने अवस्था छ । भ्रष्टाचारको त कुरा गर्नु पनि फजुलजस्तै लाग्छ । कीर्तिमान कायम भएको छ ।

अरु त अरु महामारीको समयमा समेत जनताको जीवनमाथि नै खेलवाड हुनेगरी भ्रष्टाचार हुने गरेको छ । मदन भण्डारी एक राष्ट्रवादी नेता पनि थिए । उनले यसै अन्तर्वार्तामा सोधिएको एघारौं प्रशनमा भनेका छन्-हामीले भारतसँग गरिएका असमान तथा अपमानपूर्ण सम्झौता खारेज गर्न र नयाँ सम्झौता गर्न चाहान्छौं । हामी निजीकरणको अन्त्य गर्न चाहन्छौं । भारत र चीनसँग समान व्यवहार गर्नेछौं ।

तर नेकपा (एमाले) मदन भण्डारीले भने सोचेजस्तो रहेन । पुराना त छँदै छन् झन् नयाँ नयाँ अपमानजनक सन्धि भएका छन्,हुने पाइप लाइनमा छन् । निजीकरणलाई कसरी काखी च्याप्ने काम भएको छ त्यो त जगजाहेर नै छ। अन्तर्राष्ट्रिय सम्बन्ध पनि सन्तुलित रहेन भनेर जानकारहरू चिन्तित देखिन्छन् ।

मदन भण्डारीलाई सम्झिँदा वा जेठ ३ नजिकिँदै गर्दा जुन पीडा महसुस हुन्थ्यो त्यो एमाले र माकेको एकताले कम गर्ने मात्रै नभएर खुशीसमेत हुन सक्ने वातावरण बनेको थियो ।

तर,यहाँ बडो दुःखसाथ भन्नु परिरहेको छ कि यस्तो वातावरणलाई ध्वस्त बनाउने काम भयो । जनताको आशा,भरोसा र विश्वासमाथि भयंकर ठूलो कुठाराघात भयो र जनता आजको दिन नेकपाको बिघटन,एमालेको सम्भावित फुटको दुःख लिएर मदन भण्डारीलाई सम्झिन बाध्य छ। अर्थात् खुशी छैन मन।

मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन!!!

टिप्पणीहरू