पदबहाली सङ्गै पौने छ करोड निकासा

पदबहाली सङ्गै पौने छ करोड निकासा

नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक सरकार निर्माणको प्रयासलाई वर्तमान सरकारले निष्फल पारेको बताउनुभएको छ ।

संविधानको धारा ७६ , उपधारा ३ बमोजिम सरकार गठनपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित गर्न कम्युनिष्ट पार्टीमा विग्रह सिर्जना र त्यसकै जगमा वैकल्पिक सरकार निर्माण गर्ने प्रयास विफल भएको बताउनुभएको हो ।

आज अर्थ मन्त्रालयको पदभार ग्रहणपश्चात् सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले अब पूर्ववत् ढंगले जिम्मेवारी पूरा गर्ने काममा लाग्ने बिश्वास ब्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो ‘ओली नेतृत्वको सरकारलाई विस्थापित गर्न अनेक प्रयास भए । नेपाल कम्युनिष्ट पार्टीमा विग्रह सिर्जना गर्ने र त्यसको जगमा वैकल्पिक सरकार निर्माणसम्मका प्रयासहरू भए । ती प्रयासलाई निष्फल पार्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री पदको पदभार ग्रहण गर्नुभएको छ । हामीले पनि पूर्ववत ढंगले आफ्नो जिम्मेवारी लिएका छौं ।’

उहाँले कोभिड–१९ को सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने पनि बताउनुभयो । बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड–१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट आउने उहाँले जानकारी दिनुभयो ।

अर्थमन्त्री पौडेलले कोभिड–१९ का संक्रमितहरूको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासलाई अघि बढाउने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

पदभार ग्रहणसँगै अर्थमन्त्रीले शुक्रबार नै अक्सिजन प्लाण्ट र पाइपलाइन जडानका लागि डडेल्धुरा अस्पताल,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल, नेपालगञ्जलाई ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय सदर गर्नुभएको छ ।

टिप्पणीहरू