फेरि स्वाव संकलन सुरु, खाद्यान्न व्यवस्थापन गर्दै महानगर

फेरि स्वाव संकलन सुरु, खाद्यान्न व्यवस्थापन गर्दै महानगर

कोरोनाभाइरस (कोभिड-१९) संक्रमणको दोश्रो लहरसँगै लक्षणसहितका संक्रमितहरुको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले बिहीबारदेखि पीसीआर परीक्षणका लागि स्वाव संकलन सुरु गरेको छ ।

महानगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकालाई नि:शुल्क पीसीआर परीक्षण गर्ने निर्णय यसअघि नै गरेको थियो ।

कोभिड संक्रमणमा कमि आएपछि महानगरले ५ वटा केन्द्र तोकेर व्यवस्थापन गरेको थियो । तर, केन्द्र नपरेको स्थानमा पनि आवश्यकताका आधारमा पीसीआर परीक्षणका लागि स्वाब संकलनको व्यवस्था मिलाउँदै आएको महानगरले आफ्ना स्वास्थ्यकर्मीलगायतका कर्मचारीहरुमा संक्रमण देखिएपछि केही समय स्थगित गरेको थियो ।

दोश्रो लहरमा लक्षणसहितका संक्रमितको संख्या अत्याधिक बढेको र जटिल किसिमका लक्षण पनि देखिन थालेपछि महानगरले जनशक्ति थप गरेर स्वाब संकलन कार्यलाई पुन: सञ्चालनमा ल्याएको महानगरपालिकाका जनस्वास्थ्य प्रमुख हरिबहादुर कुँवरले जानकारी दिनुभयो ।

यसकाअलावा महानगरले सबै नगरबासीको स्वास्थ्यलाई मध्यनजर गरि जनचेतना जगाउने कार्य पनि गरिरहेको जनस्वास्थ्य प्रमुख कुवँरले बताउनुभयो ।

महानगरले बढी भीडभाड हुने तरकारी, फलफुल पसललगायत स्थानमा माईकिङ गरेर सचेतना कार्यक्रम पनि सुरु गरेको छ । वडा-वडामा सचेतना फैलाउने, संक्रमित भएर घरमै बसेका विरामीको व्यवस्थापनमा सहयोग र उपचारका लागि सचेतना टिम गठन गरेर ३२ वटै वडाले काम गर्ने गरि सचेतना टिम घोषणा गरिएको उहाँले जानकारी दिनुभयो ।

जनस्वास्थ्य प्रमुख कुवँरका अनुसार महानगरले विषम परिस्थितिमा कोही पनि भोकै बस्नु नपरोस् भनेर विपन्न परिवारलाई खाद्यान्नको व्यवस्था गर्न वडाहरुलाई समन्वय गर्ने गरि काम गरिरहेको छ ।

टिप्पणीहरू