एमालेको दुई धार,उत्तोलकमा बराबर

एमालेको दुई धार,उत्तोलकमा बराबर

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनाल समूहले सर्वोच्चको आदेशानुसार पार्टीलाई एकताबद्ध बनाउन मिलेर जाऊँ भन्दा पनि तयार हुनुभएको छैन ।

निरन्तर एकल निर्णय गर्दै आउनुभएका ओलीले पार्टीको बैठक राखौं,बरु आत्मसमर्पण गर्न परे पार्टीमै गरुँला भन्दा पनि ‘हुँदैन’ भनेपछि समस्या जटिलतातर्फ मोडिएको नेताहरू बताउँछन् ।

सर्वोच्चको आदेशअनुसार पहिले पार्टीको बैठक राखौंभन्दा पनि राजी नहुने,तयार नभएपछि अर्को पक्षले आफ्नो अस्तित्व रक्षार्थ के गर्ने भन्ने अवस्था आइपरेको छ । नेपाल पक्षका एक जना नेता भन्छन् ‘प्रधानमन्त्रीको पद मागेको होइन,अध्यक्ष पनि मागेको होइन भने यति साह्रोे उद्दण्ड हुनुको कुनै अर्थ छैन । आखिर कुनै बेला हाम्रो सहयोगको आवश्यकता जरुर पर्नेछ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले पटक पटक माधव नेपाल समूहलाई पार्टी छाडेर गए हुने आशयका शब्द र व्यवहार देखाइसक्नु भएको छ । पार्टी अध्यक्षले खुलस्त त्यसो भनेको अवस्थामा पनि उल्टै उनलाई समय दिँदै जानु माधव नेपालहरूको कमजोरी रहेको एमालेकै अर्का नेता बताउँछन् ।

अहिलेको समयमा ठोस निर्णय नगरी गुज्रेमा नेपाल समूहलाई निकै गाह्रो हुने उनको ठम्याइ छ । पार्टीमा विवाद र अन्तरसंघर्षको अन्तिम विन्दु भनेको बिद्रोह र विभाजन नै हो । त्यसो हो भने राजनीतिज्ञको लागि त्यो तहमा जानै पर्ने हुन्छ ।

उनले विश्लेषण गर्दै भने ‘त्यो तहमा जाँदा केपी ओली तल झर्दा उनीहरू(माधव समूह) माथि पुग्छन् । अनि केपी ओली माथि जाँदा उनीहरू तल जान्छन् । यो उत्तोलक जस्तै हुन्छ । कुनैपनि राजनीतिक पार्टी जब विभाजन हुन्छ,त्यो बेलामा दुई पक्षबीच उत्तोलक जस्तो अवस्था उत्पन्न हुन्छ । त्यस्तो बेलामा एउटा माथि जाँदा अर्को तल र अर्को पक्ष माथि जाँदा एउटा तल झर्छ,चाक्काचुली जस्तो ।

शक्ति हातमा लिएर बसेकालाई तल झार्नेबित्तिक्कै ऊसँग भएका कतिपय मानिसले पनि साथ छाड्छन् । तीमध्ये कतिपयले अर्कोपक्षतर्फ सम्बन्ध बढाउन चाहन्छन् । त्यहि फर्मुलामा ओली सरकारको बर्हिगमनको अवस्थामा माधव पक्षलाई नयाँ संगठन निर्माण र विस्तारमा सजिलो हुनेछ ।

तर,स्पष्ट मार्ग तय गर्न ढिलाई भएकोमा एमालेका पुराना कार्यकर्ता सहमत देखिन्छन् ।

टिप्पणीहरू