तानाशाहको वरिपरि हज्जारौं तरुनी

तानाशाहको वरिपरि हज्जारौं तरुनी

– राजेन्द्र स्थापित

ईभा अन्ना पाउला ब्राउनको जन्म जर्मनीको म्युनिख शहरमा भयो । उनको पिता फ्रेडरिख ब्राउन स्कूले शिक्षक थिए भने आमा फ्रान्जिस्का सूचीकार अर्थात् उनीहरूको परिवार मध्यमवर्गको थियो । ईभा ९ वर्षकी थिइन् फ्रेडरिख र फ्रान्जिस्काको सम्बन्धविच्छेद भयो । तर, आर्थिक समस्याले पिरोलेपछि अर्को वर्ष फेरि उनीहरूको मिलन भयो । परिवारमा इभाकी एउटी दिदी अनि एउटी बहिनी पनि थिइन् । पछि फ्रेडरिखले १७ वर्षकी माइली छोरी ईभालाई हेनरिख होफ्म्यानको स्टुडियोमा जागिर लाइदिए ।

हेनरिख नाजी नेता एडोल्फ हिटलरका अनन्य मित्र, आधिकारिक फोटोग्राफर, नाजी पार्टीका मथिल्लो नेता । ईभाले हेनरिखबाट क्यामेरा चलाउन सिकिन्, फोटोग्राफीमा महारत हासिल् गरिन् । होफ्म्यान हिटलरलाई ज्वाईं बनाउन चाहन्थे । हिट्लर र उनकी छोरी हेनरिताबीच भेटघाट चलिरहेको थियो । हेनरिता हिटलरभन्दा २४ वर्षले कान्छी थिइन् । अर्थात् सन् १९२९ मा हेन् रिता मात्र १७ की थिइन् ।

त्यसबेला हिटलरको राजनीतिक जीवन प्रगतिपथमा लम्किँदै थियो। । उनको भाषण सुन्न खासगरी महिला धेरै रुचाउँथे । हिटलरले भर्खर नाजी पार्टीको पुनर्गठन गरेका थिए । पुनर्गठित पार्टीका लागि धेरै महिलाले गहना चन्दा दिन्थे । प्रेमपत्र लेखेर उनी चढेको गाडीको मुनी फ्याक्थे । व्यक्तिगत तवरमा हिटलर पनि महिलाप्रति राम्रो ब्यवहार गर्थे। एकदिन हिटलर हेनरिख होफ्म्यानको स्तुडियो पसे । त्यसबेला ईभा भर्याङ चढेर माथिको एउटा बक्सा झार्ने कोसिस गर्दै थिइन् । हिटलर उनलाई देखेर ढोकामै रुके र ईभाको अनुहार हेर्ने कोसिस गर्न थाले । होफ्म्यानले हिटलरको मनस्थिति बुझिहाले । उनले आवाज दिए’ ईभा, तल झर, एउटा काम छ ।’

आफूलाई बोलाएको सुनेर ईभाले फर्केर हेरिन् । अगन्तुकलाई देखेर मुसुक्क हाँसिन् । अनि भ¥याङबाट झरिन् । हिटलरलाई उनको हाँसो मीठो लाग्यो । तीनैजना टेबुलको वरिपरि बसेर बियर पिउन थाले । ईभा प्रायः स्टुडियोमा आउने युवाप्रति अलि बढी नै ध्यान दिन्थिन् । उनले हिटलरसँग नि गफ गर्ने निधो गरिन् र जोक्स सुनाउन थालिन् । इभाको जोक्स सुनेर हिटलरको गम्भीर अनुहार एकछिनमै उज्यालो भयो । र, हिटलर पनि सहज ढंगले ईभासित गफिन थाले ।

हिटलर हिँडिसकेपछि होफ्म्यानले ईभासँग सोधे’ तिमीलाई थाहा छ ? उनी को हुन् ?
ईभाले तुरुन्त जवाफ दिइन्, ‘थाहा छ, थाहा छ, ढंगले नलगाएको सुट, चार्ली च्याप्लिनको जस्तो जुँगा अनि उमेरले प्रौढ । तपाईंको उही मित्र ‘हेर वुल्फ’ होइन र ? ’

हिटलरकी एउटी बूढी प्रेमिका थिइन् – हेलेन बेख्सटाइन् । उनी हिटलरलाई ‘हेर वुल्फ’ अर्थात् ’मेरो ब्वाँसो’ भनी सम्बोधन गर्थिन् । जब यो कुरो उनका मित्रहरूले थाहा पाए, मित्रमण्डलीभित्र उनको नाउँ यही प¥यो । ईभाको उत्तर सुनेर होफ्म्यान एकछिन् हाँसे अनि भने’ हैट लाटी, हेर वुल्फ त हामी उनलाई मायाले सम्बोधन गर्ने नाउँ हो । उनको वास्तविक नाउँ एडोल्फ हिटलर हो ।’

ईभाले तैपनि कुरो बुझिनन् । भनिन्, ‘हिटलर रे, एडोल्फ हिटलर रे ? को हुन् यो ब्यक्ति ? ’
होफम्यानले दिक्क मानेर भने, – ‘छोड यो कुरो । समय आएपछि चिन्नेछौं । जाऊ, आफ्नो काम गर ।’

साँझ ईभा घर फर्किन् । सबै खाना खान बस्दा उनले बुबासँग सोधिन् ‘बुबा, हिटलर को हुन् ?’
हिटलरको नाउँ सुन्नेबित्तिकै ईभाका बुबा फ्रेडरिकको दिमाग तात्यो । उनले मुख बिगारेर भने, ‘मलाई त ऊसित दुई पाइला चाल्न मन लाग्दैन । पागल, उट्पट्याङ मान्छे हुन् । तर, तिमीलाई उसको बारे किन जान्नुप¥यो ? ऊ र उसको नाजी पार्टीदेखि टाढै बस्नू । उनीहरू अत्यन्त खतरनाक छन् ।’

ईभा बाबुको कुरा सुनेर चुप लागिन् । तर, बाबुको कुराले उसको दिमागमा हिटलरबारे थप जान्न उत्सुकता जगायो । भोलिपल्ट दराजमा केही खोज्दै थिइन्, उनको हातले त्यहाँ राखिएको हिटलरको एल्बम छुन पुग्यो । उनले एल्बमको पहिलो पानादेखि अन्तिम पानासम्म हेरिन् । एल्बममा यस्ता पनि फोटा थिए, जसमा हिटलर महिलाहरूको बीच घेरिएका थिए, महिलाहरू उनलाई छुने कोसिस गर्दै थिए, धक्कामुक्की गर्दै थिए । यी फोटा हेरिसकेपछि ईभालाई लाग्यो – यो मान्छेमा त्यस्तो के छ, जसकारण युवतीहरू मरिमेट्दै छन् । त्यत्तिकैमा उसको दृष्टि हिटलरको त्यो फोटोमा प¥यो, जसमा उनको आँखा गजबले चम्किरहेको थियो । उनले तुरन्तै स्टुडियोमा एकछिन जुधेको उनको नजरलाई सम्झिइन् । तर, उत्निखेरै ’ह्या ! ऊ त प्रौढ पो हुन्’ भन्दै बिर्सन खोजिन् र आफ्नो काममा लागिन् ।

उता, हिटलरले ईभाले जस्तै पहिलो भेटलाई बिर्सने चेष्टा गरे तर सकेनन् । उनको दिमागमा ईभाको निर्दोष अनुहार अनि कोमल शरीर नाचिरह्यो । उनको मन ब्याकुल बनिरह्यो । उनी ईभालाई पुनः नजिकबाट भेट्न चाहन्थे, फेरि गफिन चाहन्थे तर उनको एउटा कमजोरी, उनी हमेशा निजी जीवनभन्दा राजनीतिक गतिविधिलाई महत्व दिन्थे, उनी साथीहरूलाई भन्थे’ मेरी पत्नी भनेकै जर्मनी हुन्।’

यसबीच, ’यङ योजना’ को कुरो उठ्यो । अमेरिकी ब्यापारी ओवेन यङको अध्यक्षतामा गठित समितिले पहिलो विश्वयुद्धमा मित्रराष्ट्रलाई भएको नोक्सानीको हर्जानास्वरूप १३२ अर्ब डलर जर्मनीले ५९ वर्षसम्म चुक्ता गर्नुपर्ने योजना । हिटलर मित्रराष्ट्रले जर्मनीमाथि लादेको यो दबाबको विपक्षमा खडा भए । उनी आफ्नो पक्षमा जनमत बनाउने हेतुले देशव्यापी तुफानी दौडमा निस्के । उनी विशाल आमसभालाई सम्बोधन गर्दै ‘यो योजना मान्नुको अर्थ हामीले अपमान सहनु हो’ भन्थे र क्वाँक्वाँ रुन्थे, मुठ्ठी कसेर अगाडि राखिएको टेबुलमा हान्थे, चिच्याउँथे अनि मौन बस्थे ।

एकतृत जनता उनको भाषणबाट सम्मोहित हुन्थे, शान्त बस्थे । हिटलर यो मौनतालाई तोड्दै चिच्याउँथे ’म र मेरो नाजी पार्टी जर्मनीमाथिको यो अपमान सहँदैनौं, हामी यो डरछेरुवा सरकारलाई फ्याँकेर देखाउँछौं । यो काम गर्न मलाई तपाईहरूको मद्दत चाहिन्छ । तपाईंहरू मलाई सहयोग गर्नुस्, बाँकी काम म आफै गर्छु ।’

भाषण सुनिरहेका जनता हिटलरको जयजयकार गर्थे । ताली बजाउँथे, सिठी फुक्थे । अनि, हिटलर मञ्चबाट विस्तारै ओर्लन्थे । भीडले उनलाई घेथ्र्याे, महिलाहरू उनलाई छुन तँछाडमछाड गर्थे । अनौठो वातावरण बन्थ्यो । सरकारको कमजोरीको फाइदा चतुर हिटलरले उठाउनुसम्म उठाए । उनको भाषण सुनेर त्यहाँका बुद्धिजीवी र धनीवर्गलाई लाग्यो कि जर्मनहरूको आत्मसम्मानको रक्षा यदि कसैले गर्न सक्छन् भने त्यो व्यक्ति हिटलर मात्र हुन् । अनि त के चाहियो, नाजी पार्टीका लागि धनाढ्यहरूले ढुकुटीको ताला खोले, युवायुवती लाम लागेर नाजी पार्टीको युवा संगठनको सदस्य बने, महिलाले गहना पार्टीको कोषमा जम्मा पारे ।

देशव्यापी दौडाहापछि हिटलर म्युनिख फर्कंदा उनको हुलिया, लवाइखवाई फेरिसकेको थियो । उनले त्यहाँ एउटा बंगला भाडामा लिए । त्यो बंगलाको भाडा उनकी उनै प्रौढ प्रेमिका हेलेन बेक्स्टाइनले तिर्ने गरिन् सधैं । हिटलरको गुजाराको लागि उनकी अर्की एउटी प्रेमिका एलिसाले पनि ठोस आर्थिक सहयोग गरिन् । त्यो पैसाले हिटलरले एउटा मर्सिदिज बेन्च कार किने । कार चलाउने ड्राइवरको व्यवस्था पनि उनै एलिसाले गरिदिइन् ।

हिटलरको मनमस्तिष्कमा ईभाको अनुहार नाचिरहेकै थियो । म्युनिख फर्केपछि ईभालाई भेट्न उनी ब्याकुल बने । एकदिन उनी होफ्म्यानको स्टुडियो छिरे । ईभा त्यो दिन काउन्टरमै थिइन् । दुबैको आँखा जुध्यो । दुबै मुसुस्क्क हासे । ईभाले त्यो दिन फरक हिटलरलाई देखिन् । उनलाई त्यो दिन हिटलर अलिकति पनि प्रौढ लागेन । आकर्षक व्यक्तित्वको धनी देखिन् । हिटलरले ‘होफ्म्यान स्टुडियोमा छन् ?’ भनेर सोधे । होफ्म्यान स्टुडियोमै थिए । हिटलर र होफ्म्यान एकछिन् गोप्य वार्तालापमा जुटे । अनि हिटलर निस्के । उनले ईभालाई केही पनि भनेनन् ।

हिटलर निस्केपछि होफ्म्यानले ईभालाई भित्र बोलाए । अनि भने ’ ईभा, आज बेलुकी तिमी मेरो घर आउनू । ’हेर वुल्फ’ पनि आउँछन् । बेलुकीको खाना आज सँगै खाउँला ।’

कुरा सुनेर ईभालाई पत्याउनै गाह्रो भयो । उनको मनमा ढ्यांग्र्रो बज्न थाल्यो । तर, कुरै कुरामा होफ्म्यानमार्फत हिटलर ४० वर्ष उमेर पार गरिसकेको थाहा पाएपछि बल्ल उनको मन शान्त भयो ।

ईभा १८ की भइसकेकी थिइन् तर जीवनबारे उनलाई खासै ज्ञान थिएन । सहवास त परको कुरो, पुरूषसितको सामीप्य अनुभवसमेत थिएन । उनी न लुगामा ध्यान दिन्थिन् न कपाल नै राम्रोसँग कोर्थिन् । तर, त्यो दिन उनले आफूलाई शृंगारिन्, मन पर्ने लुगा लगाइन् । र, सजिएर होफ्म्यानको घर पुगिन् ।

ईभा पुग्दा हिटलर पुगिसकेका थिए । ईभा आएको देखेर उनी कुर्सीबाट उठे । अभिवादन गर्न टाउको निहु¥याए । नजिकको कुर्सीमा बस्न इशारा गरे । ईभा बसिसकेपछि कुर्सी तानेर आफू पनि बसे । हिटलरको जीवनमा थुप्रै स्त्रीले प्रवेश गरे । उनले थुप्रै महिलासँग प्रेम गरे, अन्तरंग सम्बन्ध राखे तर, बाहिरी व्यवहारमा उनले महिलाप्रति आदरभाव देखाउन कहिल्यै कन्जुस्याइँ गरेनन् । ईभालाई पनि गरेनन् ।

खाना खान थाले तीनैजना । हिटलर ईभासँग गफिन थाले । अचानक उनले भने, ‘तिमीलाई थाहा छ, मेरो बिहे भइसक्यो भन्ने कुरा ? मेरी श्रीमतीको नाउँ जर्मनी हो ।’

हिटलरको आशय ईभाले बुझिनन् तर होफ्म्यानले बुझे । उनले भने, ‘हेर वुल्फ, तपाईंले मन परेको संकेत मात्र गर्नुस्, त्यो नै काफी छ । मलाई विश्वास छ, जर्मनीको कोही युवतीले तपाईंको प्रस्ताव अस्वीकार गर्दैनन् ।’

होफ्म्यानले यति स्पष्ट भनिसकेपछि पनि ईभाले गुह्य कुरा अझै बुझिनन् । तर, हिटलर मुसुस्क्क हासिन् अनि ईभाको हात समातेर उठे ।

हिटलरले ईभाको यो हात कहिल्यै छाडेनन् । यद्यपि, अगाडि र पछाडि उनको जीवनमा अन्य महिलाको प्रवेश भयो । तैपनि, अन्तिम सास चलुन्जेलसम्म दुवैले दुवैलाई छाडेनन् । हिटलरको राजनीतिक जीवनमा अनेक उतारचढाव आयो, ईभा आफू बरू डिप्रेसनमा गइन् तर हिटलरको साथ छाडिनन् ।

टिप्पणीहरू