पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु

पानी पकाऊ, बैगुनी फकाऊ मायाँलु

एउटा हँसाउने सिरियलको एक एपिसोडमा डोको बोकेकी गृहिणीले यो गीत गुन्गुनाएको सुनिन्छ – ‘ठूलै घरमा दिए भन्ने बइन छ, पानी खाने लोटा नि रइन्छ ।’

मेरा बाबै, यत्रो ठूलो पार्टी ! सिंगो एसियामा चिनियाँ कम्युनिष्ट पार्टीपछिको ठूलो कम्युनिष्ट पार्टी । तीन लाखभन्दा धेरै संगठित सदस्य । सत्र सत्र वर्ष, चौध चौध वर्ष जेल बसेका, अनेकौं पटक जेल परेका, कठोर यातना खाएका नेताहरूको धनी । माक्र्सवादको सृजनात्मक प्रयोग गरौं भन्ने, समाजवादको आधार तयार खडा गर्ने ध्येय बोकेको विशाल पार्टी । कहाँ छैन यो ?

शिक्षक, विद्यार्थी, मजदुर र किसानमा त छ छ । आमा समूहमा छ, वन उपभोक्ता समूहमा छ, भूतपूर्व सेना र पुलिसमा छ, टोल विकास समितिमा छ, बस र ट्रकमा छ, रिक्सामा समेत छ, अरूको त कुरै छाडौं, सर्वत्र छ । तर, ठूलो घर भएर पनि घरमा पानी खाने लोटासमेत नभएको भनेजस्तो न त पार्टी चलाउने ढंग रहेछ न सरकार चलाउने ।

पार्टी अस्तव्यस्त, सरकार पनि भद्रगोल । पार्टी दुई फ्याक छ, सरकार झेंक्रोमा अडेको छ कुभिण्डो जस्तो । यसरी चल्छ पार्टी र सरकार ? चलाउने यसैगरी हो ? ठूलो हुनुको केही अर्थ रह्यो त ? हल्ला मात्रै ठूलो ।

यसरी भाँती नमिलेका काम, कुरा त कति छन् कति । यस्तै भाँती नमिलाउनाले यो गञ्जागोल भएको छ । जन्मजातै अखिल हुन् कि जस्ता, जन्मजातै माले हुन् कि जस्ता, जन्मजातै एमाले हुन् कि जस्ता, जन्मजातै नेकपा (नेकपा ) हुन् कि भनेजस्ता हजारौं, लाखौं होनहार नेता–कार्यकर्ता छन् पार्टीमा ! जस्तो भाँडो उस्तै पानीको आकार भनेजस्तो नेकपा हुँदा नेकपा र एमाले हुँदा फेरि एमाले नै हुन सक्ने लाखौं नेता–कार्यकर्ता छन् देशैभरि तर सांसद को बन्छ त भन्दा– वली ! मन्त्री र सल्लाहकार को बन्छ– दुगड ! राजदूत को बन्छ त भन्दा राणा ! (नाम लिएका कसैसँग पनि ब्यक्तिगत रिसराग केही छैन है) ।

योजना आयोगमा को त ? उही! राष्ट्र बैंकमा को त ? उही ! मन्त्री को त ? उही ! सल्लाहकार को त ? उही ! र, राजदूत पनि उही, कहीँ–कतै कुनै दुनियाँमा हुन्छ यस्तो ? तर, भयो हामी कहाँ । यसरी काखी च्यापेर भाँती नपु¥याएपछि के हुन्छ त भन्दा यस्तै विग्रह हुन्छ, कलह हुन्छ र फुट हुन्छ ।

समाजवादको आधार निर्माण गर्ने, समृद्धि हासिल गर्ने ध्येय छ पार्टीको । नारा पनि उसै मुताविकको छ – ‘सुखी नेपाली, समृद्ध नेपाल !’ साँच्चिकै यो ध्येय हासिल गर्ने मनशाय हो भने त ठुल्ठूला काम नै गर्नुपर्छ । असाधारण काम गर्नुपर्छ । रातदिन नभनी खट्नुपर्छ । तर, हाम्रोजस्तो फुर्के समाजमा सानै र झिना मसिना काम गरेर पनि के–के न गरें भन्दै गुड्डी हाँक्न सकिन्छ । र, मान्छेले पत्याएर त्यसको प्रशंसा नै गर्छन् ।

चुच्चे रेल र पानीजहाजको फोटो हेरेर तारिफ गरेकै छन् । खासमा तुइनलाई विस्थापित गरेर सबै ठाउँमा झोलुंगे पुल हालिदिएको भए ती तुइनमा झुण्डिएर यात्रा गर्ने सबैको निम्ति तुइन विस्थापन नै समाजवादको आधार हुन्थ्यो । पानीजहाज माग्दैनथे तिनले । स्कुलका भवनमा छानो हाली नचुहिने बनाई, सबै स्कुलमा शिक्षकको दरबन्दी पूरा गरी नियमित तरिकाले सबै बालबालिकाले पढ्न सक्ने अवस्था बनाइदेको भए जनवादी शिक्षा त्यही हुन्थ्यो तिनका लागि । बोर्डिङ स्कुलको माग गर्थेनन् कसैले ।

वडा वडामा स्वास्थ्य चौकी बनाई सुत्केरी हुन सक्ने, सिटामोल र जीवनजल सहजै पाउन सकिने व्यवस्था गरेको भए तिनका निम्ति त्यो नै मेडिकेयर फर अल हुन्थ्यो । फाइभस्टार हस्पिटल माग्दैनथे । किसानले उत्पादन गरेका दूध, तरकारी र फलफूल तोकेको मूल्यमा मण्डीमा नै बिचौलियाले खरिद गर्नुपर्ने, किसानका घर गएर भावनात्मक कालोबजारी गरी सस्तोमा किन्न नसक्ने व्यवस्था गरिदिएको भए किसानका निम्ति त्यो नै समाजवादको आधार हुन्थ्यो ।

कुनै जमिन्दारी माग्ने थिएनन् किसानले । यस्ता स–साना धेरै कुरा थिए र छन् । चित्र हेरेर फुर्किने हाम्रानिम्ति यी र यस्तै–यस्तै सामान्यभन्दा सामान्य कुरा गरिदिएको भए जनताले समाजवादको आधार होइन कि धरहरा नै ठडिएको मान्थे । तर, ध्येय त अर्कै रहेछ– राम जन्मभूमिमा मूर्ति खडा गर्ने, आकाशबाहेक केही नदेखिने धरहराको आधार खडा गर्ने । यस्तो भएपछि समाजवादको आधार निर्माण कसरी हुनु ! भएन ।

समस्या एक ठाउँमा आएर संकेन्द्रित भएको छ । राजनीतिक समस्या, सुशासनका समस्या, अर्थतन्त्रका समस्या, नैतिक मूल्य, मान्यता र संस्कृतिका समस्या टाढैबाट देखिन्छ एकै ठाउँमा चुलिँदै गएको । तर, यो कुरा मान्न तयार छैन जहाँ यो संकेन्द्रित हुँदै गइरहेको छ त्यो । बरु ऊ समस्या अन्यत्र देखिरहेको छ । यस्तो जिद्दी र ठुल्दाइ प्रवृत्तिले पार्टीलाई त विसर्जनमा लैजाने भयो भयो देशलाई समेत अन्योल र अस्थिरताको यात्रातिर हिँडाइरहेको छ । यो यात्रा कहाँसम्म पुगेर टाइटानिक हुने हो यसै भन्न कठिन छ ।

एउटा अन्तर्वार्तामा नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले भनेको ‘कसैले माने पनि र नमाने पनि मेरो पार्टीको अध्यक्ष कमरेड केपी ओली नै हो’ र ‘उहाँ सहितकै बलियो नेकपा (एमाले) बनाउने हो’ भन्ने कुरा महत्वपूर्ण छ । यो कुरालाई ध्यानमा राखेर हेर्दा पार्टी र आन्दोलनलाई जोगाउन अरू केही नत्यागी हठ मात्रै त्यागे हुने भन्ने मनशाय देखिन्छ उहाँहरूको ।

आधा कार्यकाल प्रचण्डले त्यागेर गुन लगाएकै हुन् । अरूले पनि सबै त्याग्छौं खुट्टा टेक्न पाँचगाउँ देऊ भनेकै छन् । प्रधानमन्त्री र अध्यक्ष दुबैमा रहेर बाँकी कुरा शेयर गरी अघि बढ्न सकिन्न होला र ? माफ गर्ने, क्षमा दिने, हात मिलाउने त ठूलाले, जेठाले, अगुवाले, लिडरले होला नि ? एउटा नेपाली लोकगीत यस्तो छ– ‘पानी पकाएर बाक्लो हुन्न, बैगुनीलाई फकाएर आफ्नो हुन्न’ कुरा यस्तै हो त उसोभए ? साँच्चिकै बैगुनी नै हो त? नफकिने नै हो त ?
बिट मार्दै गर्दा यस्तो,

उहिले उहिले गाउँमा अनेरास्ववियुको सदस्य हो भनेपछि, कम्युनिष्टको समर्थक हो भनेपछि त्यसको भिन्दै इज्जत हुन्थ्यो । अखिल हुँ भन्दा, कम्युनिष्ट समर्थक हुँ भन्दा गर्व र गौरवको अनुभूति हुन्थ्यो । यिनीहरू अनुशासनमा बस्छन्, कसैको अहित हुने काम गर्दैनन्, सत्य बोल्छन् भन्ने बयान थियोे । कम्युनिष्टले काम गरेर, पसिना बगाएर खान्छन्, ठगी, बेइमानी गर्दैनन् भन्थे । साँझ परेपछि ज्ञानगुनका कुरा सुनाउन, सिकाउन आउँथे ।

अन्याय र अत्याचार, शोषण दमन भनेको के हो र यस्तो कसले गर्छ भनेर व्याख्या गर्थे घरमा आएका बखत । कम्युनिष्ट बन्नुपर्छ भनेर घण्टौं कुरा सुनाउँथे वाक्कै लाग्नेगरी । नौलो जनवादी क्रान्ति गर्नुपर्छ, सबै समान हुने व्यवस्था साम्यवाद ल्याउने हो भन्थे । तर अहिले त्यस्तो छैन । के कांग्र्रेस, के कम्युनिष्ट सबै उस्तै, खानका काल भन्छन् अहिले त गाउँघरमा । कसैको कुनै पुछनी हुन्न । चिया पनि सोध्दैनन् ।

विद्यार्थी नेता अरे, सिंगै घर भाडामा लिएर बसेको छ सहरमा, कहाँबाट ल्याउँछ होला पैसा भन्छन् ! फलानो त नौ महिना मात्रै मन्त्री भएको थियो तर घडेरी किनेर घरै पनि पो बनाइसकेछ । कसरी बनायो होला नि भनेर भन्छन् । अब लुम्बिनी र गण्डकीको यो नैतिकहीन, मूल्यहीन, अराजनीतिक हर्कतबारे सुनेपछि त झन् के भन्लान् ? झुटको के कुरा गर्नु ‘झुट बोले कौवा काटे ।’ यो पुरानो गौरव अब फर्किन्न नै ! दुःख यसैमा छ !

टिप्पणीहरू