संसद आह्वान र अन्त्यको अनवरत सिलसिला

संसद आह्वान र अन्त्यको अनवरत सिलसिला

प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन सिफारिश गरेबमोजिम हिजो बैशाख २७ गतेको मतदानबाट मत नपाएपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक बैशाख ३० गते पर्सि बिहीबार दिउँसो बस्ने गरी स्थगित गर्नुभएको थियो ।

तर हिजै साँझ क्याबिनेटको सिफारिशमा राष्ट्रपतिले विशेष अधिवेशन अन्त्यको घोषणा गर्नुभएको छ । व्यवस्थापिका प्रमुखले बैठकको मिति तोकिसकेको अवस्थामा कार्यपालिका प्रमुखको सिफारिशमा राष्ट्रप्रमुखले हाउस अन्त्य गर्नुले राज्य सञ्चालनका महत्वपूर्ण अंगहरूमध्ये व्यवस्थापिका प्रमुखलाई जोकर फाल्टु बनाउन खोजिएको स्वतः प्रमाणित भएको बताइन्छ ।यसले के कुरा प्रमाणित हुन्छ भने संसद आह्वान,सञ्चालन र अन्त्यको सवालमा न सरकार प्रमुख,न राष्ट्र प्रमुख कसैको पनि व्यवस्थापिका प्रमुखसँग सल्लाह नै हुने गरेको छैन ।

जानकारहरूका अनुसार संविधानमा प्रधानमन्त्रीले विश्वासको मत लिनको लागि संसदको विशेष अधिवेशन वा बैठकको आह्वान गर्ने परिकल्पना नै गरिएको छैन । सामान्यतयाः नियमित बैठकको क्रममा विश्वासको मत लिने आमप्रचलन हो ।

यसपटक राष्ट्रपतिले विशेष अधिवेशन आह्वान गर्दा सूचनामा विषय खुलाएरै सार्वजनिक गरिएको थियो । तर खुलाइएको विषयको काम सकिएपछि बैठक र अधिवेशन स्वतः अन्त्य हुन्छ वा सुचारु हुन्छ भन्ने कुनै नजिर वा संवैधानिक व्यवस्था नभएकाले पनि सभामुखले अर्को बैठक ३० गतेलाई बोलाउनुभएको स्रोतको दाबी छ ।

तर,सभामुखसँग आवश्यक सल्लाह र परामर्श नगरी क्याबिनेटको सिफारिशमा राष्ट्रपतिले हिजै राती १२ बजेदेखि संसदको विशेष अधिवेशन र बैठक अन्त्य गरिदिनुभएको छ । यसअघि पनि यस्तै हुने गरेको थियो अर्थात राज्यका ब्यवस्थापिका,अदालत,अख्तियार,निर्वाचन आयोगलगायत सबै अङ्ग सरकारका रबर स्ट्याम्प,सिस्टमले काम नगरेको अवस्था ।

टिप्पणीहरू