पैँतिस लाखको सम्मानजनक सफलतानिम्ति संघर्ष

पैँतिस लाखको सम्मानजनक सफलतानिम्ति संघर्ष

राजधानीमा जारी नेपाल सुपर लिगमा आजबाट प्लेअफका खेल हुँदैछन् । बैशाख ११ गतेदेखि जेठ १ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदानमा सञ्चालन हुने खुकुरी नेपाल सुपर लिगमा लिग चरणबाट चार टोली प्लेअफमा पुगेका छन् ।

लिग चरण पार गर्दै काठमाडौं रेजर्स,धनगढी एफसी,ललितपुर सिटी एफसी तथा बुटवल लुम्बिनी एफसीले शीर्ष चारमा स्थान बनाएका हुन् ।

प्लेअफमा पुगेका चार वटै टोलीका कप्तान तथा प्रशिक्षकले टोली सुखद् नतिजाको लक्ष्यका साथ मैदानमा उत्रिने दाबी गरेका छन् । प्लेअफको पहिलो खेलमा मंगलबार काठमाडौं रेजर्स र धनगढी एफसी प्रतिस्पर्धा गर्दैछन् ।

प्लेअफका लागि तयारीको समय नभए पनि मैदानमा जितका लागि उत्रने दुबै टोलीले दाबी गर्दा अन्य टोलीले पनि उपाधिको लक्ष्य राखेका छन् ।

पहिलो प्लेअफमा काठमाडौं रेजर्स र धनगढीबीचको विजेता सोझै फाइनल पुग्नेछ भने पराजित टिमले इलिमिनेटर खेल्ने मौका पाउनेछ । पहिलो प्लेअफका लागि दुबै टिमले आफूहरू तयार रहेको बताएका छन् ।

यस्तै,ललितपुर सिटी एफसीका प्रशिक्षक राजु तामाङले लिग चरणका सुरुवाती चार खेलमा केही कठिन भएपनि बाँकी खेलमा सन्तुलित प्रदर्शन गरेकाले आगामी खेलमा पनि राम्रो नतिजा निकाल्ने अपेक्षा राखेका छन् ।

कप्तान अन्जन बिष्टले पछिल्ला दुई खेलमा टोलीको राम्रो प्रदर्शन भएकाले आगामी खेलमा पनि राम्रो प्रदर्शन गर्ने आशा गरेका छन् । बुटवल लुम्बिनीबाट कप्तानको जिम्मेवारी पाएका विराज महर्जन पनि प्रदर्शन राम्रो हुने अपेक्षामा छन् ।

पहिलो पटक आयोजना गरिएको फ्रेन्चाई फुटबल प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । विजेताले नगद ३५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछ भने व्यक्तिगत विधाका विजेता तथा एक जना उदीयमान खेलाडीले जनही १ लाख रुपैयाँ पाउने छन् ।

टिप्पणीहरू