अविश्वास छेक्न बिश्वास, के आउला निकास ?

अविश्वास छेक्न बिश्वास, के आउला निकास ?

पर्सि २७ गते प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिलाउन कम्मर कसेर लागेका जसपाका अध्यक्ष महन्थ ठाकुर पार्टीभित्रै खुम्चिएका छन् । जसपामा ओलीविरोधी धार सशक्त हुँदै जाँदा ठाकुर कमजोर बन्दै गएका हुन् ।

बरिष्ठ नेता राजेन्द्र महतोले समेत चित्त दुखाएपछि यसअघि नै अल्पमतमा परेका ठाकुर थप कमजोर बनेका छन् । केही दिनअघि बबरमहलस्थित वन कार्यालय रहेको ठाउँमा प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गराउन ठाकुरले बोलाएको आफूपक्षीय सांसदहरुको भेला जम्मा ९ जना सांसद उपस्थित भएर बिना निर्णय टुंगिएको थियो ।

उक्त बैठकबाट निर्णय गराएर चाहिएको बेला प्रयोग गर्नसक्ने गरी म्यान्डेट लिने ठाकुरको योजना भताभुङ्ग भएको पूर्वराजपाकै केही नेता बताउँछन् । ओलीसँगको सल्लाहमा ठाकुरले बैठक बोलाएको चाल पाएपछि धेरै सांसद हच्किएको बताइन्छ । ‘प्रधानमन्त्री ओलीले ठाकुरलाई संसदीय दलको नेता आफैँ बनेर अधिकार हातमा लिन र मन्त्रीका लागि नाम दिन आग्रह गर्नुभएको थियो । त्यहि निर्णय गराउन बोलाइएको बैठकमा कोरम नपुगेपछि ठाकुरको योजना तुहिएको हो’,ती नेताले दाबी गरे ।

संसदको चौथो शक्ति जसपासँग दुई निलम्बितसहित प्रतिनिधिसभाका ३४ सांसद छन् । संसदीय दलको नेता चुनिन कम्तिमा १७ सांसद आवश्यक हुन्छ । बैठकमा ९ जना मात्र उपस्थित भएपछि बहुमतले दलको नेता चुनिने,विश्वासको मतको पक्षमा निर्णय गराउने र तत्काल तीनजना आफ्ना मान्छेलाई मन्त्री बनाउने ठाकुरको योजना तुहिएको ती नेताको दाबी छ । पूर्वराजपा समूहकै ती नेताको भनाइअनुसार पार्टी र संसदीय दल दुबैतिर महन्थ ठाकुर अल्पमतमा छन् । ५१ सदस्यीय कार्यकारिणी समितिमा पनि महन्थसंग पुग नपुग २० जना सदस्य रहेको बताइन्छ ।

यता, ओलीविरुद्ध विपक्षी गठवन्धनको मुख्य हिस्सेदार बनेको उपेन्द्र-बाबुरामसँग भने पूर्व समाजवादीको सिङ्गो कमिटीसहित महेन्द्र राय यादवलगायतका थपिएको बताइन्छ । ओलीले ठाकुरलाई दलको नेता बनाउने गरी चाल चलेको बुझेपछि महतो भड्किएको बताइन्छ । आफूलाई सोध्दै नसोधी ओलीसँगको सहमतिमा ठाकुरले मन्त्रीका लागि नाम तोकेकोमा पनि उनी रुष्ट भएको जसपाका नेताहरु बताउँछन् ।

यता, शरदसिंह भण्डारी, निर्जला रावतलगायतका सांसदहरुलाई यसअघि महन्थ खेमाले आफ्नो पक्षमा गणना गरेको थियो । उनीहरु महन्थकै पक्षका भनेर चिनिएका पनि हुन् । तर, ओलीलाई विश्वासको मत दिने सवालमा महन्थसँग उनीहरुको कुरा बाझिएको बताइन्छ । ओलीलाई विश्वासको मत नदिने उपेन्द्रको अडानले यसअघि उनीसँग चिढिएका पूर्वसमाजवादीलाई भने एक ठाउँमा ल्याएको छ । रेणु यादव, मोहमद इस्तियाक राई र प्रदिप यादवहरु उपेन्द्रको पछिल्लो निर्णयको पक्षमा बलियो गरी उभिएका छन् ।

लुम्बिनी प्रदेशमा आफ्ना चार जना सांसदलाई उचालेर पद खाइदिएको आरोप लागेका सर्वेन्द्रनाथ शुक्लालाई हृदयेश त्रिपाठीको ठाउँमा स्वास्थ्यमन्त्री बनाउने तयारी गरेपछि ठाकुरविरुद्ध सांसदहरु रुष्ट बनेको स्रोत बताउँछ । ‘हाम्रा चार सांसदलाई भड्काउने तिनै (शुक्ला) हुन् । त्यस्तालाई बोक्न थालेपछि हामीले ठाकुरलाई छाडेका हौँ’, पूर्वराजपाका ती नेताले भने ।

शुक्लासंगै ठाकुरले लक्ष्मणलाल कर्ण र डा. सुरेन्द्र झाको नाम मन्त्रीका लागि ओलीलाई पठाएको बताइन्छ । ओली सरकारमा गए जसपाले १० मन्त्री पाउने हल्ला चलाएर जम्मा तीन थानमा बिक्न खोजेको आरोप पनि ठाकुरमाथि लगाइएको छ । तर, ठाकुर संसदीय दलको नेता बन्न नसकेपछि अरु साँसदलाई ह्वीप लगाउन उनी असहाय बनेका छन् ।

कित्ता परिवर्तन चलिरहेकै बेला उपेन्द्रलाई छोडेर महन्थलाई साथ दिनेहरु पनि देखिएका छन् । सांसद विमल श्रीवास्तव र उमाशंकर अरगरिया पहिले उपेन्द्रको पक्षमा भनिए पनि अहिले महन्थतिर लागेको बताइन्छ । दुबै जनाले प्रतिव्यक्ति हातहाती कारोवार गरेको आरोप लागेको छ ।

महन्थलाई अब ओलीले भाउ नदिने

पार्टीमा लगातार कमजोर बनेका ठाकुरलाई अब प्रधानमन्त्री ओलीले पनि भाउ नदिने संकेत गर्नुभएको छ । ठाकुरले जति प्रयास गरेपनि आफूलाई पुग्ने संख्या जुटाउन नसक्ने छेकछन्द पाएपछि ओली अब नफकाउने रणनीतिमा पुगेको बताइन्छ ।

‘महन्थ ठाकुरले पार्टीमा दम देखाउन सक्ने देखिएन । हाम्रो पार्टीका १२१ जनाले नै विश्वासको मत दिएपनि सरकारले बहुमत जुटाउन सक्ने अवस्था रहेन । त्यसैले अब यो भ्यागुताको धार्नी पुर्याउनेतिर बल गर्नुभन्दा चुनावमा जाने कुरा नै प्रधानमन्त्रीको प्राथमिकतामा परेको छ जस्तो लाग्छ’, बालुवाटारको राजनीतिलाई नजिकबाट बुझेका एक नेताले भने । प्रधानमन्त्री ओलीले आकर्षक प्रस्ताव गर्दा पनि ठाकुरले सबैलाई समेटेर पार्टीमा बहुमत जुटाउन नसकेको ती नेताले बताए ।

मधेस राजनीतिका एक विश्लेषकले भने ठाकुर र महतो प्रधानमन्त्री ओलीले चालेको चक्रब्युहमा परेको बताए । उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीले विश्वासको मत लिन खोजेकै होइन । विश्वासको मतको नाममा उहाँले विपक्षीबाट आउनसक्ने सम्भावित अविश्वास छेक्न खोज्नुभएको हो । तर मधेसको राजनीति गर्छौँ भन्नेहरुले यो कुरा अझै बुझेका छैनन् ।’

विश्वासको मतको प्रस्ताव गरेपनि ओलीको चाहना अझै संसद विघटन नै भएको उनको दाबी छ । आफू जानीजानी अल्पमतमा पर्ने, ठाकुरहरुको मत होल्ड गरेर विपक्षीलाई पनि सरकार बनाउन नदिने र विघटनमा जाने ओलीको रणनीति ठाकुरले बुझ्न नसकेको उनको भनाइ छ । ‘यो कुरा ठाकुरले नबुझेको हो अथवा कुनै शक्तिले ओली र ठाकुरलाई मिलाइदिएको छ’, उनले भने ।

संसदमा आफ्नो संख्या नपुर्याउने र अर्कोलाई पुग्न नदिन गम्भीर खेल भैरहेको ती विश्लेषकको दाबी छ । उनी भन्छन्, ‘महन्थहरुको मत होल्ड गर्न सके विघटन हुँदै चुनावमा जान सकिने क्याल्कुलेशन उनीहरु (शक्तिकेन्द्र)को छ । सम्भवत: काँग्रेसभित्र पनि केहीलाई यो सन्दर्भमा छलफल गराइएको हुनसक्छ ।’

टिप्पणीहरू