चालिस वर्षदेखिको दोस्तीमा चिरै चिरा ’

चालिस वर्षदेखिको दोस्तीमा चिरै चिरा ’

संसदमा स्पष्ट अल्पमतमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने निर्णयप्रति धेरैले अचम्म मानेका छन् ।

संसदको अंकगणितले उहाँको प्रस्ताव पारित हुँदैन । तर यस्तो जोखिम किन मोल्नुभएको होला भनेर हामीले एकजना संवैधानिक कानुनको ज्ञाता तथा राजनीतिज्ञलाई सोधेका थियौं ।

“उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुँदाहुँदै महत्वपूर्ण राजनीतिक निर्णय गरेर त्यागको नमूना देखाइदिनुभएको छ । “

उहाँले भन्नुभयो ‘कुरो स्पष्ट छ, अनेक उपायको आधारमा बहुमत मिले नीति तथा कार्यक्रम र बजेट ल्याउन पाइन्छ । ती सबै चुनाव लक्षित हुनेछन् । अनि अविश्वास प्रस्तावलाई समेत अलिकति पछाडि धकेल्न पाइन्छ ।
तर,संसद विघटनको लागि अनेक बाटो खोजिरहनुभएका प्रधानमन्त्रीलाई विश्वासको मत प्राप्त गरेपछि भने संसद विघटन गर्न गाह्रो हुनेछ ।”,एकथरि भन्छन् ‘प्रधानमन्त्रीलाई विश्वासको मत लिनु आवश्यक छैन । जसरी पनि उहाँलाई संविधानको धारा ७६ (७) मा पुग्नु छ । ती सबै धारा र उपधारामा टेक्दै,आफैँ प्रधानमन्त्री हुँदै संसद विघटन गर्ने योजना क्लियर छ ।’

यस्तो अवस्थामा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालहरूलाई आफ्नो राजनीति जोगाउनैका लागि भएपनि सांसद पदको कुर्बानी गर्न धेरैले सल्लाह दिएका छन् । उनीहरूको तर्क छ ‘माधवहरूले ढिलो निर्णय गरेकाले प्रधानमन्त्रीमा अनेक महत्वाकांक्षा बढ्यो । उहाँहरूले फागुन २३ गते बेलुकी नै कित्ता क्लियर गर्नुपर्थ्यो । ढिलो हुनु नै मुख्य कमजोरी भयो ।’

प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले विभिन्न बहानामा नेपाल समूहका सांसदहरूलाई लामो समयसम्म जिम्मेवारीमा नराख्ने भएपछि उहाँको दयामा प्राप्त पदलाई महत्व दिन नहुने उनै संवैधानिक कानुन विज्ञले बताएका छन् ।

सांसद पद नै छाडेपछि प्रधानमन्त्री र मन्त्रीको लागि लोभ गरेको भन्ने बालुवाटारको आरोपको खण्डन हुन्थ्यो । पदको भोको नरहेको सन्देश पनि जान्थ्यो । त्यसैले सबैभन्दा ठूलो राजनीतिक छलांग बालुवाटारको पदका भोका भन्ने आरोपको मुखमा बुजो लाग्थ्यो ।

कर्णाली प्रदेशमा प्रकाश ज्वालाहरूले राजनीतिक लडाईंमा त्यागेको सांसद पदले उहाँहरूको उचाई बढेको बताइन्छ । सजिलै पद त्याग्नु,टिमको नेता मन्त्री नबन्नुले ज्वालालाई लगाइएको पदलोलुपको आरोप मिथ्या भएको छ । जबकि उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुँदाहुँदै महत्वपूर्ण राजनीतिक निर्णय गरेर त्यागको नमूना देखाइदिनुभएको छ । उहाँ आफू मन्त्री बन्नुभएन तर अरुलाई बनाएर लोभ लालचको राजनीति कसले गरेको छ भन्ने सन्देश दिनुभएको छ ।

‘विगतमा प्रधानमन्त्री ओलीसँग निकै घनिष्ठ सम्बन्ध राख्नुभएका तर अहिले मूलधारको राजनीतिबाट केही टाढा रहनुभएका विश्लेषक भन्नुहुन्छ ‘उहाँसँग याचना गर्नु भनेको बगरेसँग खसी बोकाले याचना गरेझैँ हो । आज घाँस खुवाए पनि भोलि बिहान त काट्नु नै छ ।’

यसबीच पार्टी परित्याग गरेको कारण विभिन्न प्रदेशमा धेरै जनाले पद छाडेका छन् । विशेषगरी माओवादी केन्द्र छाडेर एमालेमा गएकाहरू प्रदेश सांसददेखि पालिका प्रमुख तथा उपप्रमुखसम्मको जिम्मेवारीबाट विमुख भएका छन् । त्यसो गर्नाले उनीहरूको आफ्नो लाइन क्लियर भएको छ । माओवादीका कतिपय प्रदेश सांसदले माननीय छाडेर एमालेले दिएको स्थानीय जिम्मेवारी लिएका छन् ।

यस्तो अवस्थामा लिडरसीपले कार्यकर्तामाझ त्याग गरेर ऊर्जा थप्नुपर्ने विश्लेषकहरू बताउँछन् । यसतर्फ एमाले वरिष्ठ नेता माधव नेपालपक्षीय नेताहरूले ध्यान दिनुपर्ने बेला भइसकेको उनीहरूको दावी छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले नेपाल पक्षका सबैजसोको पद खोसेर राजनीतिक रुपमा सडक छाप बनाउने कोशिस गरिरहनुभएको स्पष्ट छ । त्यसैले यस्तो क्रिटिकल अवस्थामा पदको मोह नगरी बोल्ड डिसिजन गर्नुपर्ने आवाज उठ्न थालेको छ । एकजना प्रदेशस्तरीय नेता भन्छन् ‘त्यहिँबाट राजनीतिक छलाङ हान्नुपर्छ ।’

विगतमा प्रधानमन्त्री ओलीसँग निकै घनिष्ठ सम्बन्ध राख्नुभएका तर अहिले मूलधारको राजनीतिबाट केही टाढा रहनुभएका विश्लेषक भन्नुहुन्छ ‘उहाँसँग याचना गर्नु भनेको बगरेसँग खसी बोकाले याचना गरेझैँ हो । आज घाँस खुवाए पनि भोलि बिहान त काट्नु नै छ म ओलीले माधव नेपालसँग जुन प्रतिशोध साँधिरहनुभएको छ, त्यसले उहाँहरूबीच चालिस वर्षदेखि एउटै दलमा राजनीतिक दोस्ती थियो भन्ने कुनै आधारलाई पुष्टि गर्दैन ।

टिप्पणीहरू