प्रहरीको आफ्नै अक्सिजन प्लान्ट

प्रहरीको आफ्नै अक्सिजन प्लान्ट

नेपाल प्रहरीले मेडिकल अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको हो ।

कम्प्रेसर,ट्रायर,कुल टावर,एयर रिसिभर ट्याङक,अक्सिजन स्टोरेज ट्याङक,सिलिण्डर फिलिङ स्टेशनलगायतका उपकरण राखिएको उक्त सिस्टम युएनओपीएसको सहयोगमा करिब ३ करोड रुपैयाँको लागतमा संचालनमा ल्याइएको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आज उक्त सिस्टमको निरीक्षण गर्नुभएको छ । सो अवसरमा उहाँले अक्सिजन सिस्टम निर्माणमा सहयोग पुर्‍याउने युएनओपीएसलाई धन्यवाद दिँदै यसबाट अस्पतालको उपचार राम्रो हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षक क्षेत्रीले अस्पतालले उत्कृष्ट सेवा दिने र बिरामी निको पार्ने विषयमा सबैले एकीकृत प्रयास गरी काम गर्नुपर्ने बताउनुभयो । राम्रो सेवा,असल व्यवहार र उपलब्ध साधन स्रोत तथा जनशक्ति व्यवस्थापनमा अझै सुधार गर्दै समूहगत रुपमा लड्यौं भने वर्तमान महामारीलाई परास्त गर्न सहज हुने उहाँले बताउनुभयो ।

टिप्पणीहरू