२७ गतेलाई बहुमत जुटाउन हस्ताक्षर अभियान

२७ गतेलाई बहुमत जुटाउन हस्ताक्षर अभियान

जनता समाजवादी पार्टी (जसपा) को महन्थ-राजेन्द्र पक्षले सांसदहरुको हस्ताक्षर संकलन शुरु गरेको छ । प्रधानमन्त्री केपी ओलीले आगामी २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि बहुमत पुर्याउन सो पक्षले आफूनिकट सांसदहरुको हस्ताक्षर लिन थालेको हो ।

आज बबरमहलस्थित पार्टीको सम्पर्क कार्यालयमा महन्थ-राजेन्द्र पक्षका सांसदहरुको बैठक बसेको थियो । सांसदहरुलाई हस्ताक्षरका लागि काठमाडौँ बोलाउन बैठक बसेको बताइएको छ । आजको बैठकमा अध्यक्ष महन्थ ठाकुर,बरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु अनिलकुमार झा, राजकिशोर यादव,चन्दा चौधरी,दुई नम्बर प्रदेशका भौतिक योजना मन्त्री जीतेन्द्र सोनाललगायत १० जना उपस्थित भएको बताइएको छ । नयाँ सरकार गठनका विषयलाई लिएर दुई खेमामा विभाजित जसपामा महन्थ-राजेन्द्र खेमा प्रधानमन्त्री ओलीको पक्षमा खुलेर लागेको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्ष भने ओलीको विकल्प खोज्नुपर्ने अडानमा छन् । दुई पक्षीय विवाद लुम्बिनी प्रदेशसम्म पुग्दा छताछुल्ल भैसकेको छ । लुम्बिनीमा सरकारबिरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका जसपाका चार सांसदलाई अध्यक्ष ठाकुरको निर्देशनमा रातारात मन्त्री बनाइएको उपेन्द्र पक्षको आरोप छ । विवाद बढ्दै जाँदा विभाजनको अवस्थामा पुगेको जसपामा उपेन्द्र-बाबुराम पक्षले पनि सांसदहरुको हस्ताक्षर संकलन गरेको छ ।

संसद्को चौथो दल जसपासँग ३२ सांसद छन् । जसमध्ये १८ जनाले उपेन्द्र-बाबुराम पक्षमा हस्ताक्षर गरेको बताइएको छ ।

टिप्पणीहरू