कोरोना महामारीमा पनि डेढ किलो सुन समातियो

कोरोना महामारीमा पनि डेढ किलो सुन समातियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगमनतर्फको भन्सार क्षेत्रबाट प्रहरीले झण्डै डेढ किलो सुनसहित ५ जनालाई पक्राउ गरेको छ । आज प्युठानका यमलाल खनाल,गुल्मीका जनक खड्का,नुवाकोटका सुमित तामाङ र धनबहादुर तामाङ एवम् नवलपरासीका राजु विश्वकर्मा समातिएका हुन् ।

एयर अरेबियाको उडानमा दुबईबाट आएका यमलाल र जनकको साथबाट ६ सय ९८ ग्राम ९ सय १० मिलिग्राम बराबरको बिस्कुट आकारको २ थान र २ थान सुनको बाला बरामद भएको प्रहरीले जनाएको छ ।

यस्तै,हिमालयन एयरमा दुबईबाटै आएका सुमित र धनबहादुर तथा नेपाल एयरलाइन्सद्वारा आएका राजुको साथबाट जम्मा ७ सय ९ ग्राम सुन बरामद भएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा लगेजभित्रको स्पिकरमा फल्स बटम बनाई भन्सार छलेर लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका सबैलाई अनुसन्धान एवम् कारबाहीका लागि भन्सार कार्यालय गौचरमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

टिप्पणीहरू