लकडाउनमा पनि सवारी दुर्घटना,कोही मरे,कोही समातिए

लकडाउनमा पनि सवारी दुर्घटना,कोही मरे,कोही समातिए

झापा,धादिङ,मकवानपुर र नवलपरासीपूर्वका छुट्टाछुट्टै स्थानको सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ ।

झापाको बिर्तामोड नगरपालिका–४,पारिजात टोलस्थित सडकमा मे १त ७००५ नम्बरको ट्याक्टरको ढाला पल्टिएर चोट लाग्दा सहचालक सोही नगरपालिका–३ का २० वर्षीय बाबु भन्ने सन्दीप अधिकारीको मृत्यु भएको छ ।

ट्याक्टरबाट बालुवा खन्याउने क्रममा ढालाले उनलाई चोट लागेको थियो । गम्भीर घाइते उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताएको छ ।

धादिङको गल्छी गाउँपालिका–५, तिरतिर खोलास्थित सडकमा बा ४ ख २११८ नम्बरको ट्रिपरबाट खसेपछि सोही ट्रिपरले किच्दा त्यसैमा सवार सोही ठाउँ बस्ने ४५ वर्षीय शुक्रबहादुर तामाङको शनिबार बेलुका घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार घटनापश्चात् फरार चालकको खोजी भइरहेको छ ।

त्यस्तै,मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, सामुदायिक पशुपतिनगर कार्यालय अगाडिको सडकमा ना ३८ प ९३६१ नम्बरको मोटरसाइकललाई बा ८ च २९५३ नम्बरको कारले शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक बारा महागढीमाई नगरपालिका–४ बस्ने ३५ वर्षीय सञ्जयकुमार शुक्लाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार नवलपरासी कावासोती नगरपालिका बस्ने ३३ वर्षीया ज्योती अर्यालको सोही अस्पतालमा उपचार भइरहेको छ । घटनापश्चात् फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उता,नवलपरासी पूर्वमा पनि शनिवार सवारी दुर्घटनाबाट एकको ज्यान गएको छ । निधन हुनेमा विनयीत्रिवेणी गाउँपालिका–४ का ३४ वर्षीय बाबु सहनी छन् । होङसीको गेटभित्र लोडिङ स्थानमा ना ८ ख २५०० नम्बरको ट्रकको ठक्करबाट पहिले पहिचान नखुलेका सोही ठाउँमा सेक्युरिटी गार्डको काम गर्ने सहनीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले पक्राउ गरेर आवश्यक अनुसन्धान थालेको छ ।

यसैवीच कञ्चनपुर र पर्सामा अवैध लागुऔषधसहित केहीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ सिमलडाडीबाट ६ ग्राम ४ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित भीमदत नगरपालिका–१८, भगतपुर बस्ने २३ वर्षीय प्रभुराज हमाललाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको बताएको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको थियो ।

यस्तै,पर्साको पटेर्वासुगौली गाउँपालिका–५, निचुटा बस्ने ३७ वर्षीय लक्ष्मी राउत कुर्मीलाई करिब ३ केजी अवैध लागूऔषध चरेश जस्तो देखिने धुलो पदार्थ सहित शनिबार राती प्रहरीले पक्राउ गरेको छ ।

कुर्मीको घरमा लागूऔषध रहेको भन्ने विशेष सूत्रका अनुसार इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरीले उनको घरमा लुकाईछिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबैलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

टिप्पणीहरू