लुम्बिनीमा गड्याङ्गगुडुङ्ग,- ‘पिक्चर अभि बाँकी है’

लुम्बिनीमा गड्याङ्गगुडुङ्ग,- ‘पिक्चर अभि बाँकी है’

जसपाले आफ्ना चार जना सांसदलाई कारबाही गरेपछि अब विपक्षी कसैले पनि मुख्यमन्त्री शंकर पोखरेलको सरकारविरुद्ध बहुमत जुटाउन नसक्ने देखिएको छ ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका चार जना जसपाका सांसदलाई कारबाही गरेर पद गएपछि अहिले त्यो निर्णय जसपाका उपेन्द्र यादव समूह र विपक्षी दलहरुलाई ब्याक फायर भएको बताइन्छ । यद्यपि उपेन्द्रनिकट ओली सरकारका पूर्व शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइनले भने मुख्यमन्त्रीसङ्ग अब बहुमत नरहेको र वैकल्पिक सरकारको निम्ति आफूहरु तयारी अवस्थामा रहेकोे बताएका छन् ।

जसपाको निर्णयपछि लुम्बिनी प्रदेश सभामा एमालेको एकल बहुमत हुने स्थिति छ । अब सबैभन्दा ठूलो दलको नाताले एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने हुन्छ । नयाँ सरकार नबनुञ्जेल यहि सरकार केयर टेकरको हैसियतमा रहनेछ । अर्कोतर्फ नयाँ सरकार बनाउन प्रदेश प्रमुखले केही समय दिनेछन् ।

लुम्बिनीमा विपक्षीहरुले एउटा झिनो सम्भावनाको रुपमा कर्णाली प्रदेशको अवस्थालाई औंल्याएका छन् । जसपाका सांसदलाई कारबाहीपछि प्रदेश सभामा कायम रहन आएका ८१ सांसदमध्ये ४१ जनाचाँहि एमालेका हुन् । त्यो भनेको स्पष्ट बहुमत हो । विश्वासको मत लिने बेला एमाले वरिष्ठ नेता माधव नेपाल निकट सांसद दुई जनाले फ्लोर क्रस गरे भने मात्र सरकार संकटमा पर्ने हो । तर,त्यो सम्भावना अहिलेको अवस्थामा देखिँदैन ।

यता जसपाका नेता मोहम्मद इस्तियाक राइनले ‘शंकर पोखरेलसँग एकल बहुुमत छैन । अर्को दाबी बहुमतसहित जाँदै’ भनेर सामाजिक सञ्जालमा संकेत गरेका छन् । उनले लेखेका छन् ‘पिक्चर अभी बाँकी है ।’ नयाँ जुक्ति निकालेपछि लुम्बिनीमा एमालेको एकल बहुमत भएको छ । तर विपक्षीले जस्तो जुक्ति लगाए पनि केन्द्रमा समेत अर्को सरकार बन्नसक्ने अवस्था नै देखिँदैन ।

जसपा नेता महन्थ ठाकुर र राजेन्द्र महतो समूहले किन यसरी सपोर्ट गरेका छन् भन्नेमा सबै अचम्भित छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनीहरुबीचको सहमति तथा सम्झौताबारे कसैलाई केही संकेत समेत मिलेको छैन । जबकि उनीहरु पार्टी फुटाउने मूल्यमा समेत सरकारलाई समर्थन गर्न अघि बढिरहेका छन् ।

टिप्पणीहरू