कोरानाको कारण मजदूर दिवस पनि ‘भर्चुअल’ मा सीमित

कोरानाको कारण मजदूर दिवस पनि ‘भर्चुअल’ मा सीमित

आज १ सय ३२ औँ श्रमिक दिवस । विश्वभरी विभिन्न कार्यक्रम मनाइदै छ । विश्वव्यापी कोरोना महामारीका कारण गत वर्ष र यो वर्ष अन्तर्राष्ट्रिय श्रमिक दिवस सीमित घेरामा मनाइएको छ ।

त्यहि क्रममा नेपाली काँग्रेसको भात्री संगठन नेपाल ट्रेड युनियन काँग्रेसले आज भर्चुअल कार्यक्रमबाट श्रम दिवस मनाउन लागेको छ । युनियनका अध्यक्ष पुष्कर आचार्यले जनआस्थासँग कुराकानी गर्दै बढ्दो महामारीबाट स्वास्थ्य तथा अर्थतन्त्र जोगाउन एक जना डाक्टर तथा एक जना अर्थविद्सँग आज दिउँसो भर्चुअल संवादको कार्यक्रम राखिएको बताएका छन् ।

आचार्यले कोरोनाले आर्थिक क्षेत्रमा पारेको प्रभावका बारेमा कार्यक्रममा छलफल गरिने बताएका हुन् । अघिल्लो वर्ष बन्द कोठामा श्रमीक दिवस मनाउन बाध्य भएको भन्दै उनले अहिलेको अवस्था झन जटिल बनेको बताए ।

आचार्यका अनुसार सरकारले आगमी बजेट श्रमजीवीको हितमा ल्याउनुपर्ने बताउँदै सरकारलाई सचेत बनाउन ट्रेड युनियन मात्र नभई सबै श्रम संगठनहरू लागेका छन् । उनले भने ‘राज्यले अब श्रमजीवीहरूलाई राहतका प्याकेज वितरण गर्नुपर्छ ।’

सन् १८८९ मे १ मा अमेरिकाको शिकागोमा आठ घण्टे कार्यदिनको लागि गरिएको आन्दोलनको स्मरण गराउने दिनको रूपमा हरेक वर्ष आजकै दिन अर्थात् मे १ मा विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ ।

नेपालमा वि.सं. २००३ सालमा बिराटनगर जुट मिलबाट भएको मजदुर विद्रोहलाई श्रमिक आन्दोलनको शुरुआत मानिन्छ ।

टिप्पणीहरू