एकैदिन १५ मिनेट फरकमा परीक्षा

एकैदिन १५ मिनेट फरकमा परीक्षा

कोरोना महामारीका कारण देशका मुख्य सहरहरुमा निषेधाज्ञा लगाईरहँदा तनहुँको बन्दिपुर गाउँपालिकामा भने विद्यालयका आधारभूत तह उतीर्ण परीक्षा हुने भएको छ ।

कोरोना महामारी बढिरहेको समयमा सरकारले विद्यालय बन्द गर्न निर्देशन दिए पनि तनहुँको बन्दिपुर गाउँपालिकाले कक्षा आठको परिक्षा लिने भन्दै तालिका सार्वजनिक गरेको छ ।गाउँपालिकाले बुधबारको बैठकबाट कक्षा आठको परिक्षाको समय तालिका संशोधन गरिएको भन्दै सूचना जारी गरेको छ । जारी सूचनामा गाउँपालिकामा सञ्चालित सामुदायिक तथा संस्थागत दुवै विद्यालयहरुलाई परीक्षाको तालिका उपलब्ध गराउँदै १५ मिनेटको समयअन्तरमा एकैदिन दुई विषयको परीक्षा लिन निर्देशन दिइएको छ ।

नयाँ तालिकाअनुसार गाउँपालिकामा बैशाख १९ गतेबाट परीक्षा सञ्चालन हुने भएको छ । पहिलो दिन अंग्रेजी र नेपाली विषयको परीक्षा हुने सूचनामा उल्लेख छ । त्यस्तै, २० गते गणित र विज्ञान तथा वातावरण, २१ गते सामाजिक अध्ययन र जनसंख्या शिक्षा तथा पेशा, व्यवसाय तथा प्रविधि शिक्षा, र अन्तिम दिन २२ गते स्वास्थ्य तथा शारिरिक शिक्षा, नैतिक शिक्षा र स्थानीय विषयको परीक्षा हुने सूचनामा उल्लेख छ ।

प्रत्येक विषयको ३ घण्टा परीक्षा हुने भएपनि विद्यार्थीले भने अब एकै दिनमा ६ घण्टा परीक्षा हलमा बसेर लेख्नुपर्ने भएको छ । बन्दिपुरमा विद्यार्थीले प्रत्येक दिन १५ मिनेटको अन्तरमा २ वटा विषयको परीक्षा दिनुपर्ने सूचनाले उक्त अवस्था आएको हो ।

यसबारे गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापासँग बुझ्दा परीक्षा गराउने निर्णय गाउँपालिकाको नरहेको बताएका छन् । पालिकामा रहेका विद्यालयका शिक्षकहरुले दिएको सुझावको आधारमा परीक्षा गर्नेको तयारी गरे पनि सरकारले गरेको निर्णय विरुद्ध नजाने बताएका छन् ।

पहाडी क्षेत्रमा महामारी कम रहेको हुनाले परीक्षा गर्न आँटेको बताउँदै दुई सय भन्दाबढी संक्रमित पालिकामा फेला परेको खण्डमा मात्र परीक्षा सञ्चालन नगर्ने थापाले बताए । उनले भने १५ मिनेट समयको अन्तरमा दिनमा दुईवटा परिक्षा गर्ने सुझाव आएको हो, यो खारेज पनि हुनसक्छ । महामारीले बढ्दो रुप लिएको बताउँदै परीक्षा रद्ध गर्ने तयारीमा गाउँपालिका लागिसकेको थापाले बताए ।

टिप्पणीहरू