वैदेशिक रोजगारको नाममा ठगिएको १ करोड उठ्यो

वैदेशिक रोजगारको नाममा ठगिएको १ करोड उठ्यो

बागलुङमा सुरक्षित आप्रवासन कार्यक्रम लागू भएपछि वैदेशिक रोजगारको नाममा ठगिएका दर्जनौं युवाको एक करोड भन्दाबढी रकम फिर्ता भएको छ । सुरक्षित आप्रवासन परियोजना (सामी) आप्रवासी श्रोत केन्द्र बागलुङले पत्रकार सम्मेलन गरी यससम्बन्धी जानकारी दिएको हो ।

देशकै बढी रेमिटान्स भित्रिने बागलुङ जिल्लाबाट झण्डै एक लाख विदेशिएका छन् । देशमा रोजगार नहुँदा हरेक वर्ष ५ हजार भन्दा बढी बाग्लुङ्गे विदेशिने गरेको सरकारी तथ्यांकले देखाएको छ । जसमध्ये धेरै ठगीमा पर्ने गरेको गुनासो आउने गरेको छ ।

वैदेशिक रोजगारमा जाने युवालाई राहदानी लिनुभन्दा पहिला अभिमुखीकरण तालिम लिएर मात्र जान सल्लाह,सुझाव र परामर्श दिने काम गरिरहेको सामी परियोजनाले बिदेशमा बिभिन्न कारणले मृत्यु भई शव नेपाल ल्याउन नसकेको अवस्थमा पनि भूमिका खेलिरहेको छ ।

कम्पनीले काम नदिएको,खान बस्न नदिएको,करार सम्झौता भन्दा तलब कम दिने गरेको,काम गरेको अबधिको तलब नपाएको, विभिन्न कारणले स्वदेश फर्कन नसकेका लगायतलाई परियोजनाले सहजीकरण गर्दै आएको छ । ५ पटकसम्म आत्महत्याको प्रयास गरेकी एक महिलालाई मनो–परामर्श सेवा दिएर बचाएको परियोजनाका मीनप्रसाद उपाध्यायले बताए ।

वैदेशिक रोजगारले घर-घरमा रेमिट्यान्स भित्रिने क्रम बढेर गएसँगै यसले आन्तरिक बसाइँसराइ बढाउनुका साथै पारिवारिक समस्या आउने गरेको परियोजनाको भनाइ छ । साथै गाउँका जग्गा बाँझो रहने समस्या बढेर गएको बैदेशिक रोजगार बोर्ड कार्यक्रम अधिकृत शिव रेग्मीले बताए ।

परियोजनाले बित्तीय साक्षरता कार्यक्रम संचालन गरेपछि बैदेशिक रोजगारबाट पठाएको पैसाबाट गाउँमै राम्रो कामको थालनी भएको बिवाईसीका अध्यक्ष मणिभद्र शर्माले बताए । नेपाल र स्विस सरकारबीच भएको द्विपक्षीय सम्झौता र सामी-हेल्भिटास नेपालको प्राविधिक सहयोग तथा स्थानीय पालिकाको संचालन तथा बिवाईसीको ब्यवस्थापनमा जिल्लाका ४ वटा पालिकामा परियोजना संचालन भइरहेको छ ।

स्थानीय तहको बजेट निश्चित शीर्षकमा सम्बन्धित तहबाटै विनियोजन हुँदै आएको छ । बागलुङ जिल्लाका १० वटा स्थानीय तहमध्ये बागलुङ नगरपालिका,काँठेखोला गाउँपालिका,गलकोट नगरपालिका र जैमुनी नगरपालिकामा २०७६ मंसिरदेखि सामी परियोजना लागू भई २५ जनाले काम गरिरहेका छन् ।-राजेशचन्द्र राजभण्डारीबाट

टिप्पणीहरू