युद्धग्रस्त सडकमै डाक्टरी सेवा

युद्धग्रस्त सडकमै डाक्टरी सेवा

वर्षौंदेखिको युद्धसँगै अहिले कोरोना संक्रमणसँग पनि संघर्ष गर्दै आएको मध्यपूर्वी राष्ट्र यमनमा एकजना डाक्टरले भयावह परिस्थितिको आँकलन गरेर आफ्नै कारबाट सेवा दिइरहेका छन् ।

युनानी डाक्टर सामी याह्या अल–हजले कारको पछाडि लेखेका छन् ‘चिकित्सा सल्लाह चाहिएमा मलाई रोक्नुहोस्’ । उनले केही वर्षदेखि युद्धको परिस्थितिलाई मध्यनजर गरेर सामाजिक सञ्जालबाट निःशुल्क परामर्श थालेका थिए ।

गत वर्ष कोरोनासमेत थपिएपछि उनले कारलाई समेत प्रयोग गरेको बताइन्छ । हजका अनुसार सामाजिक सञ्जालबाट समाजको तल्लो तहसम्म पुग्न नसकेपछि मोबाइल चिकित्सा सेवा शुरु गरिएको हो ।

एएफपीसँगको अन्तरवार्तामा उनले भनेका छन् ‘मैले गरिब र खाँचो परेर सडकमा निस्केकाहरूको बारेमा सोचेँ । अनि जो सल्लाह लिन नमिल्ने अवस्थामा छ वा ऊसँग पैसा छैन उसैलाई सहयोग गर्ने निर्णय गरेँ ।’

यमनलाई संयुक्त राष्ट्रसंघले संसारको सबैभन्दा खराब मानवीय अवस्थाको सामना गरिरहेको मुलुकको रुपमा लिएको छ । अधिकांश यमनीहरू कुपोषण र रोगबाट ग्रसित छन् । मुलुकको स्वास्थ्य सेवा प्रणाली सबै ध्वस्त भइसकेको छ । कोरोना संक्रमण र महामारीपछि यमनको स्वास्थ्य अवस्था झन् नाजुक स्थितिमा पुगेको छ ।

उनै यमनी चिकित्सकले सामाजिक सञ्जालमा लेखेका छन् ‘हामीले गरिबहरूको स्वास्थ्यको हेरचाह गर्नैपर्छ,किनभने उनीहरूको स्वास्थ्य नै पूरै समुदायको अंश हो ।’

सडकमा चिकित्सकले गरेको निःशुल्क उपचार र प्रदान गरेको सल्लाहबारे एक जना यमनीले लेखेका छन् ‘म चाहन्छु कि सबै यमनी चिकित्सकहरूले हामी वर्तमानमा जस्तो अवस्थामा छौं त्यस्तै खालको सेवा प्रदान गरुन् ।’

टिप्पणीहरू