सहअध्यक्ष हैन, बादललाई चौथो स्थान

सहअध्यक्ष हैन, बादललाई चौथो स्थान

तत्कालीन नेकपामा दुईपक्षीय शक्ति संघर्ष चर्किंदै जाँदा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा बादल दुवै पक्षको गणनामा पर्नुहुन्थ्यो । ९ सदस्यीय सचिवालयमा बादल जता खुल्यो त्यत्रै बहुमत पुग्ने हुँदा उहाँ दुवै पक्षको तानातानमा पर्नुभएको थियो । पार्टी विभाजन भैसक्दा समेत तटस्थ रहनुभएका उहाँ अन्तिम घडीमा तीन दशकका सहयात्री प्रचण्डलाई छाडेर ओलीतिर लाग्नुभयो।

तीसौं वर्ष सहकार्य गरेका र आफूपक्षीय भनेर चिनिएका दर्जनौँ नेतालाई छाडेर बादल एक्लै एमालेमा पसेपछि धेरैले उदेक मानेका थिए । तर,कम बोल्ने र हमेशा प्रतिक्रिया जनाईनहाल्ने स्वभावका बादलले हरहिसाब र सोचविचार गरेरै यस्तो निर्णय लिएको हुनसक्ने धेरैको आशंका थियो । प्रचण्ड-नेपाल र ओली दुबै पक्षसँग समानान्तर छलफल गरिरहनुभएका बादलले प्रधानमन्त्री ओलीले सहअध्यक्षको उधारो कागज गरेपछि उतै मोडिएको चर्चा त्यतिबेला थियो ।

झन्डै चार दशक लामो राजनीतिक इतिहासलाई दाउमा राखेर एमाले बन्नुभएका बादललाई अहिले कन्तबिजोगको अवस्थामा पुर्याइएको छ । न उहाँलाई ओलीले सहअध्यक्ष बनाउनुभएको छ न उहाँको राजकीय भूमिका नै सुरक्षित देखिन्छ । जेठ छ गते हुने उपचुनाव उहाँले जित्ने केही ग्यारेन्टी छैन बरु त्यो निर्वाचित सिमित जनप्रतिनिधिमध्येबाट केपी ओलीको लोकप्रियता जाँच्ने अवसर पो बन्दैछ । ‘जेको सुरक्षा खोज्दै उहाँ एमालेमा पस्नुभएको थियो,त्यहि नपाउने भएपछि बिजोग त हुने नै भयो नि’, जनयुद्धदेखि अस्तिसम्म बादल गुटको भनेर चिनिएका माओवादी केन्द्रका एक नेताले भने ।

आज सरकारी एमालेले गठन गरेको स्थायी कमिटीमा बादललाई ओली,वामदेव गौतम र ईश्वर पोखरेलको पछि राखिएको छ । यसअघि विभिन्न बैठक तथा कार्यक्रमहरुमा ईश्वर पोख्रेल र पूर्वसभामुख सुवास नेम्वाङलाई दाँया बाँया राखेर ओलीले बादललाई नेम्वाङभन्दा पनि तल राख्ने संकेत दिइसक्नुभएको थियो । यद्यपि आज गठित स्थायी कमिटी सदस्यको नामावलीमा भने नेम्वाङभन्दा माथि नै राखिएको छ ।

पार्टी विभाजनको कठिन घडीमा साथ दिएपनि ओलीले चौथो वरियतामा थन्क्याईदिएपछि माओवादी आन्दोलनको लामो पृष्ठभूमि त्यागेर एमालेमा मिसिनुभएका बादललाई अहिले ‘थाल खाउँ कि भात खाउँ’ को अवस्था आइलागेको उहाँ निकट नेताहरु बताउँछन् । ‘बादल कमरेडलाई ओलीले उठ्नै नसक्ने गरी थान्को लगाइदिए । अब केही समय झण्डा हल्लाए पनि राजनीतिमा उहाँको केन्द्रीय भूमिका सक्कियो’, माओवादी केन्द्रका ती नेताले भने ।

अब एमालेमा बादलले खास भूमिका पाउने सम्भावना कमजोर बनेको छ । ‘यसैपनि एक्लै एमालेमा मिसिनुभएका बादललाई एमालेको राजनीतिमा जम्न सहज थिएन । अब उहाँ झन् खतरामा पर्नुभयो’, ती नेताले भने ।

बादल अब एमालेको राजनीतिबाट मात्र हैन राजकीय भूमिकाबाट पनि कमजोर हुने छाँट देखिंदैछ । माओवादी केन्द्रले सांसद पदबाट हटाएपछि बादल ओली सरकारको म्यादी मन्त्रीका रुपमा सिंहदरबारको जागिरेजस्तो हुनुहुन्छ । अब फेरि माननीय जितेर आउने सम्भावना निकै कम देखिएकाले ६ महिनापछि बादलले मन्त्रीबाट हात धुनुपर्ने अवस्था देखिँदै छ ।

ती नेता यसो भन्छन्-“माधव नेपाल पक्षले उहाँलाई भोट हाल्दैन । माओवादी र काङ्ग्रेसले पनि माया गर्ने ठाँउ छैन ।’

टिप्पणीहरू