पुनर्मुसिको भवःको व्याख्या गर्नुपर्ला र !

पुनर्मुसिको भवःको व्याख्या गर्नुपर्ला र !

जेलभित्रै रहेर पनि गोराहरूको सरकारविरुद्ध आन्दोलनको मियो थिए नेल्सन मण्डेला । आन्दोलन सफल भएकै दिन दक्षिण अफ्रिकाले मण्डेलालाई देशको नेतृत्व गर्ने जिम्मेवारी सुम्पियो । जवाहरलाल नेहरू पनि ब्रिटिश राजविरुद्ध आन्दोलनको नेतृत्वकै हैसियतमा जेलमा थिए ।

१९४५ मा भारत छोडो आन्दोलन सफल भएपछि देशको नेतृत्व गर्ने जिम्मा पाए । तर, पञ्चायतविरोधी आन्दोलन सफल भएपछि देशको नेतृत्व गर्ने जिम्मेवारी साढे एक दशक जेल बसेका नेता केपी ओलीले पाएनन् । बरु त्यो जिम्मेवारी गणेशमान सिंहलाई प्राप्त भयो तर उनले नेतृत्व लिन अस्वीकार गरेपछि त्यो अवसर कृष्णप्रसाद भट्टराईलाई प्राप्त भएको थियो । बरु संयुक्त बाममोर्चाको नेतृत्व गर्दै सहाना प्रधान, झलनाथ खनालहरू कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारमा सहभागी हुनुभएको थियो । अरू त अरू तत्कालीन नेकपा (माले)ले पनि कमरेड ओलीलाई लामो समय जेल बस्दासमेत आन्दोलनको नेता मानेन ।

यस्तो किन भयो होला ? अन्यत्र जेलमा बसेकाले नै आन्दोलनको सफलतापश्चात् देशको नेतृत्व गर्ने जिम्मेवारी पाए तर कमरेड ओलीले किन पाउनु भएन ? त्यत्रो लामो जेल जीवन बिताएका हालका प्रधानमन्त्रीलाई वाममोर्चाले नचिन्नु, उहाँकै दल नेकपा (माले) ले पनि नचिन्नु वा नेतृत्व गर्न अघि नसार्नु अचम्मलाग्दो छैन त ? यसको तात्पर्य यो हुन आउँछ कि उहाँको जेल जीवनले न आन्दोलनको नेतृत्व गरेको थियोे न त पार्टीको निर्माणमा योगदान नै ! यसबाट पार्टी निर्माण र आन्दोलनको नेतृत्व गर्ने सवालमा हालका प्रधानमन्त्रीको खासै भूमिका नरहेको अर्थ लाग्छ ।

तर, पञ्चायतले किन कसैले कुनै महŒव नदिएको र आन्दोलनले समेत नचिनेको यस्तो व्यक्तिलाई त्यति लामो समय जेलमा राख्यो होला ? यो राज खोजको विषय हुन सक्छ । यसरी हेर्दा ओली कमरेडको आजको राजनीतिक हैसियत लामो समय जेल बसेको कारणले निर्माण भएको नभएर अरू कारणले बनेको हो भन्न सकिन्छ ।

अहिले नेकपा (एमाले) भित्र गैरकम्युनिष्ट आचरण, संस्कृति र राजनीतिको मेला चलिरहेको छ, यो… लाई भन्दा देख्नेलाई लाज भनेजस्तो छ । यसको मूल नेतृत्वमध्ये प्रधानमन्त्री ओली पनि एक हुनुहुन्छ । नेता र देशको प्रधानमन्त्रीले संयमित र मर्यादित समाज बनाउने काममा आफू नमुना बनेर प्रस्तुत हुनुपर्ने हो । तर, त्यस्तो देखिन्न, गाली शिरोमणिको उपाधि नै दिन सकिन्छ ।

यस्तो स्वभावको विकास हुनुमा खास कारण छ भन्ने लाग्छ । ओली कमरेड एकदमै कलिलो उमेरमै जेल परेको भन्ने कुरा यहाँ भनिरहन परेन । उहाँ करिबकरिब डेढ दशक लामो समय जेलमा राखिनुभएको हो । भन्छन् नि जस्ताको संगत ग¥यो त्यस्तै भइन्छ भनेर ।

संगतअनुसार कस्तो बनिन्छ भन्ने उदाहरण यस्तो छ– एउटा शासक रहेछ । रिस उठ्यो कि केही न केही उपद्रव गरिहाल्ने । एकदिनको कुरा हो भोक लाग्यो भन्दै बच्चा रोएको सुनेर उसलाई झोंक चलेछ । यसले अब बोलेर माग्न केही पनि नसकोस् भनेर बाउआमासहित बालकलाई बनबास पठाएछ र बालकसँग कुरा गर्न, बोल्न प्रतिबन्ध लगाएछ । एक दशकपछि बच्चा कस्तो भयो होला भनेर दलबल सहित हेर्न गएछ ।

बच्चा ठूलो भएको रहेछ र ऊ त जनावरको, चराचुरुंगीको आवाज निकाल्दो रहेछ । मान्छेको बच्चा स्यालको, बाँदरको, रूपीको आवाज पो बोल्दो रहेछ । जेलमा पञ्चायतकालका जेलर, प्रहरी कस्ता खटिन्थे होलान् सहजै अनुमान गर्न सकिन्छ । रुखा, अव्यावहारिक, झडङ्गया, हेपाहा, यस्तै यस्तै हुन्थे होलान् ।

खास गरेर यो पछिल्लो चरणमा प्रधानमन्त्रीबाट जे–जस्ता भाषाशैली, व्यंग्य, गाली प्रयोग भइरहेको छ आफ्नै सहकर्मीहरूप्रति मर्यादा, सद्भाव, रेस्पेक्ट, नम्रता तथा भद्रताजस्ता शिष्टाचारजन्य आचरण नसिकेको बरु लामो संगतले तिनै जेलर, गार्ड, नाइकेहरूको जस्तै स्वभाव हुबहु सरेको त हैन ? लामो समयसम्म जेलका मानिससँगको उठबसले यस्तो स्वभाव विकास हुन गएको त हैन ? । विगत जान्नेहरू, जेलमा सँगै रहेकाहरू पनि उहाँमा यस्तो छुद्र प्रवृत्ति पहिलेदेखि नै रहेको भन्छन् । यस सन्दर्भमा राधाकृष्ण मैनाली र मोहनचन्द्र अधिकारीका कुराहरू सुन्दा पनि थाहा हुन्छ ।

एक अन्तर्वार्तामा मैनाली भन्छन्, ‘उनी मेरा साथी त हुन् तर उनको स्वभाव नै दुत्कार्ने किसिमको छ ।’ सोही च्यानललाई दिएको एक अन्तर्वार्तामा मोहनचन्द्र अधिकारी पनि भन्छन्, ‘ओली पहिलेदेखि नै छट्टु मान्छे हुन् ।’ यी दुईले भनेका कुराले कमरेड ओली अलि चर्का र ठूला कुरा गर्ने तर काम भने नगर्ने, अरूलाई बढी नै हेप्ने, नमीठो वचन लाउने र भित्रभित्रै घात गर्ने चरित्रको रहेको भन्ने बुझिन्छ । यहीँनिर एउटा गम्भीर प्रश्न पनि उठ्छ यदि यस्ता छुद्र स्वभावका थिए ओली भने यिनको अभ्युदय नेपाली राजनीतिमा कसरी सम्भव भयो ? यस विषयमा एकजना कमरेडले यस्तो भनेका थिए । खास गरेर ओलीजी महाकाली सन्धिदेखि नै बाह्य शक्तिको पोल्टामा पुग्नुभएको हो र उहाँ त्यो पोल्टाबाट बाहिर निस्कन नसक्ने अवस्थामा हुनुहुन्छ ।

महाकाली सन्धि पास गराउन खेलेको स्याटेलाइटबाट बिजुली बेच्ने खेलदेखि अहिले एमसीसी पास गराउन मरिहत्ते गरिरहेको कुराले वास्तवमै उनी विदेशीको पोल्टामा पुगेको हो कि भनी शंका गर्न सकिन्छ ।

विगत जे–जस्तो होस् ठीकै छ तर वर्तमान पनि उस्तै रहे त परिवर्तन भएको मानिन्न नि, होइन र ? जति ठूलो जिम्मेवारी उति धेरै मिजासिलो, उतिधेरै सरल र सादगी, उतिधेरै सहनशील, उतिधेरै फरासिलो हुनुमा पो ठूलो पदको ठूलो जिम्मेवारीको महŒव रहन्छ, सबैले गन्छन् ।

राजकाज चलाउन चालहरू चाल्नु पनि पर्ला तर सधैंभरि सकुनीको चालमा हिँड्ने त होइन नि ! अहिले जे भइरहेको छ त्यो पदको गरिमाअनुसार भएको छैन । यति ठूलो दलको नेता र प्रधानमन्त्रीको चौतर्फी आलोचना हुनु किमार्थ राम्रो होइन ।

मिलेर, मिलाएर अघि बढ्ने हो कि पुनर्मुसिको भवः नै ठीक छ ?

टिप्पणीहरू