वासिंगटनमा श्यामबजारको सन्देश

वासिंगटनमा श्यामबजारको सन्देश

पुरुषोत्तम लम्साल

‘…आवर फण्डामेन्टल अब्जेक्टिभ्स वीथ रेस्पेक्ट टू नेपाल आर द मेन्टिनेन्स इन पावर अफ ए नन कम्युनिष्ट गभर्मेन्ट, द कन्टिन्यूड ओरिएन्टेसन अफ सच ए गभर्मेन्ट टुवार्डस् द वेस्टर्न डेमाक्रेसिज यज अपोज्ड टू सोभियत रसिया एण्ड इटस् सेटेलाइट एण्ड द इन्क्रिजिंग पार्टीसिपेसन अफ नेपाल इन वल्र्ड अफेयर्स । (सन् १९५० अगस्ट २८, विदेश सम्बन्ध र विदेश नीतिसम्बन्धी ऐतिहासिक सामाग्री, पाँचौ भाग, पृष्ठ १४८५)’

‘…इन्क्रिज्ड रसियन एण्ड चाइनिज कम्युनिष्ट इन्ट्रेष्ट इन द हिमालयन पेरिफेरि अफ नेपाल एण्ड इभेन्टस् इन तिब्बेट एण्ड सिनजियाङ प्रोभिन्स एण्ड देयर इम्प्याक्ट अन नेपाल इटसेल्फ मे वेल डिक्टेट द इस्टाब्लिसमेन्ट अफ ए पोष्ट…। (ऐ ऐ पृष्ठ १४८६)’

भारतको श्यामबजारमा नेपालका चारजना विद्रोही नेवारहरू मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना घोषणा नगरेका हुँदा हुन् त अमेरिकाले आफ्नो विदेश नीति र सम्बन्धमा सन् १९५० मै नेपालबारे आफ्नो राजनीतिक धारणा नबनाउन सक्थ्यो ।

अप्रिल २२, १९४९ तदनुसार बैसाख १०, २००६ मा पुष्पलाल श्रेष्ठ, निरञ्जनगोविन्द बैद्य, नारायणविलास जोशी र नरबहादुर कर्माचार्य (पाँच महिनापछि मोतीदेवी श्रेष्ठ थप) ले नेपाल सन्दर्भमा रुसी र चिनियाँ क्रान्तिको व्याख्या र विश्लेषण गरेर साम्यवादी आदर्शको लिखित गोरेटो (भदौ ३० गतेको नेपाल कम्युनिष्ट पार्टीको घोषणा पत्र) नकोरेको भए अमेरिकी वैदेशिक सम्बन्धको टाइमलाइनमा नेपाल त्यति छिट्टै पर्दथ्यो भनेर सोच्नु गलत हुनसक्छ । किनकि, अमेरिकी आँखामा त्यतिबेलासम्म नेपाल भारतको छातामुनि रहेको, सरकारमा प्रजातान्त्रिक सहभागिता र व्यक्तिगत स्वतन्त्रताविनाको संसारकै तानाशाहीमध्येको सरकार भएको दक्षिण एशियाको भूगोल मात्र थियो ।

तर, पुष्पलाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, त्यसले तयार गरेको राजनीतिक नारा र कार्यक्रमले पश्चिमा प्रजातन्त्रलाई समेत दखल पु¥यायो । लगत्तै घटनाक्रम तीब्र रूपमा विकसित भयो । राणाशाहीविरुद्धको मोर्चामा सहभागितादेखि दिल्ली सम्झौताविरुद्धका बिगुलसम्म, काजीमान श्रेष्ठको शहादतदेखि डा. केआइ सिंहको विद्रोहसम्म, जन्मेको तीन वर्षमा प्रतिबन्ध (२००९ माघ ११ देखि २०१२ सम्म) को यात्रादेखि किसान आन्दोलन र भीमदत्त पन्तको वीरगतिसम्मका सिलसिलाले रोपेको संघर्ष, विद्रोह र बलिदानको डोबमा टेकेर नेपालको कम्युनिष्ट आन्दोलन अहिले पनि येनकेन प्रकारेण चलिरहेको छ ।

यो सन्दर्भमा दिल खोलेर भन्नुपर्दा नेपालको राजनीतिमा आजको मितिसम्म जम्मा दुईवटा मात्र पाठशाला अद्यावधि छ, गतिशील छ । एउटा बिपी (विश्वेश्वरप्रसाद कोइराला) पाठशाला र अर्को पुष्पलाल पाठशाला । यी दुबै पात्र नेपालको अहिलेसम्मको राजनीतिमा सर्वाधिक प्रभाव राख्ने शीर्ष पात्र हुन् । राजनीतिको रथ जुन बाटोबाट गुडे पनि रथको एउटा पांग्र्रामा बिपी र अर्को पांग्र्रामा पुष्पलाल घुमिरहेका हुन्छन् र छन् । यसो भनौं, बिपी र पुष्पलाल आफैंमा नेपाली राजनीतिको खसोखास् ब्राण्ड हुन् ।

माल्दाइ र सान्दाइका यो ब्राण्ड भजाएर खुद्रा पसल जतिसुकै खुलुन्, जोसुकैले खोलुन्, जहाँ खोलून्, जहिल्यै खोलुन् तिनीहरूले वा तिनीहरूको आफ्नै पहिचान न हिजो बन्यो, न आज बनेको छ न तत्कालै कसैले बनाउने सम्भावना छ । कम्तीमा मेरो पुस्ताले यी दुई ब्राण्डबाट अलग रहेर बनेको राजनीतिक पहिचानसहितको रथको अपेक्षा गर्दैन ।

आदर्शको कसीमा यी दुई पात्र विपरीत ध्रुवका प्रतिनिधित्व गर्ने जस्ता लाग्लान् तर ब्यवहारतः दुबै एकअर्काका पूरक देखिन्छन् । जनवाद र समाजवादको वकालत गर्ने अनेक मार्ग हुन्छन् । समाजवाद र साम्यवादका पनि भाष्य अलगअलग छन् । लोकतन्त्र र गणतन्त्रका ब्याख्या आ–आफ्नै छन् । लक्ष्य एउटै भए पनि लक्ष्यसम्म पुग्ने बाटो अलगअलग हुनसक्छ । सापेक्षतामा सन्दर्भ केलाउने हो भने इतिहासका अनेक मोडमा बिपी र पुष्पलाल कहिले चुम्बकको विपरीत ध्रुवजस्तो, कहिले समान ध्रुवजस्तो देखिन्छन् ।

संघर्षको प्रधान शत्रु र गौण शत्रु केलाउँदा अलग लाग्लान् (राजासँग घाँटी जोडिएको बताउने बिपी र राजतन्त्र रहेसम्म प्रजातन्त्र सुरक्षित रहँदैन भन्ने पुष्पलाल) तर समाज, वर्ग, लोकतन्त्र र प्रजातन्त्रका भाष्यभित्र ती दुबै एउटै घेरामा अटाउँछन् । पुष्पलाललाई कांग्रेसी देख्ने आँखाले पनि यो तथ्य स्वीकार गर्नपर्छ र समाजवादी बिपीभित्र साम्यवादको अंश फेला पार्नेले पनि यो स्वीकार गर्नपर्छ ।

राणाशाहीले गंगालाललाई मृत्युदण्ड दिंदै गर्दा (वि.सं. १९९७) पुष्पलाल (शहीद गंगालालका भाइ) प्रजातन्त्र संघमार्फत् लोकतन्त्रको मोर्चा बनाउन अग्रसर थिए । पुष्पलालले २००५ मा कम्युनिष्ट घोषणापत्रलाई नेपालीमा अनुवाद गरी साम्यवादी विचारधारालाई नेपाली माटोमा भिजाउने पहलकदमी लिए । माक्र्सवादको, साम्यवादको, नयाँ जनवादको वकालत र पक्षपोषण उनैले गरे । प्रवासमै रहेर नेपाली माटोमा कम्युनिज्मको बीज छर्न, बेर्ना उमार्न र त्यसलाई हुर्काउन लागि परे । त्यही बिरुवामा पलाएका पातहरू हुन् मनमोहन अधिकारी, मदन भण्डारी । त्यही बिरुवाको हाँगा हुन् नारायणमान बिजुक्छे, निर्मल लामाहरू । त्यही बिरुवामा पलाएका ऐंजेरुहरू हुन् केशरजंग रायमाझी र मोहनविक्रम सिंह । त्यही बिरुवाको एउटा पात हुन् सीपी मैनाली र केपी ओलीहरू । त्यही बिरुवाको आँख्लाबाट निस्किएका हुन् प्रचण्ड, मोहन बैद्य र नेत्रविक्रम चन्दहरू ।

पुष्पलाल चिन्न आजको पुस्ताले पुष्पलालको तात्कालीन कार्यनीति ठम्याए आजका को नेता कति पानीमा रहेछ भनेर छान्न कुनै जाली खरिद गरिरहनु नै पर्दैन । एक, सामन्तवाद (देशीय सामन्तवाद) र त्यसको नेतृत्व गर्ने राजतन्त्र लोकतान्त्रिक गणतन्त्रको मुख्य शत्रु हो । अर्थात् प्रधान शत्रु हो । साम्राज्यवाद र विस्तारवाद त्यसपछिका शत्रु हुन् । दुई, प्रधान शत्रु परास्त गर्न जनवादी (कम्युनिष्ट) र समाजवादी (कांग्रेस) को सहकार्य अनिवार्य छ । तीन, प्रधान शत्रु पराजित भएको अवस्थामा लोकतान्त्रिक गणतन्त्र र संघीय नेपाल (३ प्रदेश ७ उपप्रदेश) सम्भव छ ।

चार, सामन्तवादलाई पराजित गर्न वर्गसंघर्ष अनिवार्य छ र त्यसको आधार किसान संघर्ष हो । पाँच, किसान संघर्ष र ग्रामीण वर्गसंघर्षको बलमा सामन्तवादले घुँडा टेकेपछि नयाँ जनवादको मार्गप्रशस्त हुन्छ । (यसपछि हो नेपालमा कम्युनिष्ट समूहको अस्वाभाविक वृद्धि देखेर अमेरिकाले सहयोग दिंदा पनि रुस र चीन ध्रुवको नेपालमा बढ्दै गएको प्रभाव कम गर्न भन्ने पदावली प्रयोग गर्न थालेको । नपत्याए शुरुमै उल्लिखित दस्तावेजका बाँकी क्रमहरू केलाउनुहोस् ।)

जहाँ जसले जसरी घुमाएर लेखे पनि वा अभिव्यक्ति दिए पनि पुष्पलाल यी पाँच बुँदामा अटाउँछन् । यसैभित्र चिनियाँ क्रान्ति समेटिन्छ र निरन्तर साँस्कृतिक क्रान्ति पनि । यसैभित्र रुसी लेनिनको मार्ग आउँछ र क्युबाली क्रान्तिको चित्र पनि । बर्मा पुगेर छापामार तालिम लिएका पुष्पलालभित्र यही बिन्दूमा चे ग्वेभारासम्मको आकृति पनि केलाउन सकिन्छ । जानकारीका लागि, ज्ञानेन्द्रले अपहरण गरेको संसद् पुनःस्थापना गर्न जसरी कांग्रेस र तत्कालीन विद्रोही माओवादीले माग गरेका थिए, त्यहीबेला २०१७ सालमा महेन्द्रले अपहरण गरेको संसद् पुनःस्थापनाको माग गरेका थिए पुष्पलालले ।

भलै मोहनविक्रम सिंहले आत्मालोचना गरे, पुस्तकको नाम नै फेरेर क्रान्तिमा भ्रान्ती बनाए । पुस्तकमा उल्लिखित सबै गद्दार शब्द हटाए । तर, जबजका तथाकथित भाष्यकार र तिनका शिष्यहरूले त्यहाँनेर गल्ती भयो भनेनन्, भनेका छैनन् । मोही माग्दा ढुंग्रो लुकाउन हुँदैन, पुष्पलालप्रदत्त रणनीति, कार्यनीतिलाई अवमूल्यन गर्दै जबजको पाठशाला जबरजस्ती स्थापना गर्ने प्रयास भएकै हो ।

अर्को एउटा बुँदा छ, स्वच्छ चुनावी प्रतिष्पर्धा र मित्रवत् संघर्षको । यही बुँदाको जगमा टेकेर व्याख्या गरिएको हो जनताको बहुदलीय जनवादको । पुष्पलाललाई छद्मभेषी करार गर्दै, संशोधनवादीको बिल्ला भिराउँदै, अपराधी करार गर्दै जबजको व्याख्या गरेकै हुन् मदन भण्डारीले । रूपमा, मोहनविक्रम सिंहले आनन्दबहादुरको नाममा गद्दार पुष्पलाल लेखे पनि सारमा मदन भण्डारी समूहले मोहनविक्रमभन्दा अगाडि बढेर पुष्पलाललाई संगठित आरोप लगाएर पुष्पलालकै मुद्दा अपहरण गरी जबजको नगरा बजाएको स्पष्ट छ ।

तपाईंले मदन भण्डारीको मुक्तिमोर्चा समूहका मुखपत्र हेर्नुभयो भने र कोमल भट्टराई, लोककृष्ण भट्टराईका लेखनीमा प्रस्तुत दस्तावेजहरू केलाउनुभयो भने आज भाले जसरी बासिरहेको जबजलाई जबरजस्ती स्थापना गर्न भएका घृणित प्रयासहरूको पेटबोली पाउनुहुनेछ ।

भलै मोहनविक्रम सिंहले आत्मालोचना गरे, पुस्तकको नाम नै फेरेर क्रान्तिमा भ्रान्ती बनाए । पुस्तकमा उल्लिखित सबै गद्दार शब्द हटाए । तर, जबजका तथाकथित भाष्यकार र तिनका शिष्यहरूले त्यहाँनेर गल्ती भयो भनेनन्, भनेका छैनन् । मोही माग्दा ढुंग्रो लुकाउन हुँदैन, पुष्पलालप्रदत्त रणनीति, कार्यनीतिलाई अवमूल्यन गर्दै जबजको पाठशाला जबरजस्ती स्थापना गर्ने प्रयास भएकै हो । र, ‘जबज पुष्पलाललाई बद्नाम गर्न खोलिएको स्कुलले पुष्पलालकै पाठ्यक्रम तानतुन गरेर बनाएको संसदवादी जनवादको परिकल्पना हो ।’ (पुष्पलाल स्मृति प्रतिष्ठानको प्रकाशनको अंश)
प्रचण्डबाट पुष्पकमलमा विलय भएको अर्को स्कुल कालगतिले हिजो त्यही पुष्पलाल स्कुलमा घुलित थियो । जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना भनेजस्तो केपी ओली र प्रचण्डबीचको भेट त गिद्दे एकादशीको जोगले भयो तर टुट्यो सम्बन्ध । तन एक हुन मन एक हुनुपर्छ, नत्र मन रहे पो मयाप्रीति, मनै मरे यत्रैसिती भनेझैं हुन्छ । भयो त्यस्तै । जबज कि एक्काइसौं शताब्दीको जनवाद कि यी दुवै मिलाइएको दक्षप्रजापति भन्ने यकिन नगरी एउटै दाम्लोमा नारिएको एक हल नेतृत्व कुनै मेलो पूरा नगरी सिंग र पुच्छर भएका छन् ।

७२ वर्षको यात्रामा नेपाल कम्युनिष्ट आन्दोलनमा पुष्पलालको विचारधाराबाहेक माओवादी आन्दोलनले अर्को कोशेढुंगा स्थापना गरेकै हो । देशीय सामन्तवादका खिलाफमा पुष्पलालले ७२ वर्षअगाडि तय गरेको सूत्र नै २०४६ सालदेखि २०६२–६३ सालको जनआन्दोलनमा प्रयोग भएको हो । माओवादीले उठान गरेको वर्गसंघर्ष, ग्रामीण संघर्ष वा माओविचारधारा पनि पुष्पलालकै खेतको एउटा ड्याङबाट टिपिएको नयाँ जनवादका लागि नेपाली बाटो मात्र हो ।

नयाँ जनवादी गणतन्त्रको लाइन (२०२५ तेस्रो सम्मेलन, गोरखपुर) पनि उही बेला लिखित र पारित हो । सम्पूर्ण माओवादीले जनतालाई ढाँटिरहेको वा भन्न लाज मानिरहेको यो अर्को पक्ष हो जुन आँखीझ्यालबाट पुष्पलाल चिहाउँदा अझ व्यापक तस्बिर देखिन्छ ।

अन्त्यमा, विश्वका कम्युनिष्टमा छुटेर जाने सबैका लागि गद्दार प्रिय पदावली हो । हामीकहाँ धेरै गद्दारबीच श्रीमान् श्रीमतीको जस्तो सम्बन्ध हुन्छ जो दिनमा काटाकाट गर्छन् र रात छिप्पिँदै गएपछि चाटाचाट शुरु हुन्छ । पार्टी स्थापना दिवसको सन्दर्भमा पुष्पलाललाई गद्दार देख्ने आँखा र गिदी भएका जिउँदाहरूले सार्वजनिक माफी मागेका छैनन् ।

गद्दार मोहनविक्रम कि पुष्पलाल ? भ्रान्तीको खेती गर्ने मदन भण्डारी, पुष्पकमल दाहाल वा मोहनविक्रम कि पुष्पलाल ? पुष्पलाल सही थिए भने कम्युनिष्ट आन्दोलनमा गद्दारी गरेको कसले ? राजतन्त्रविरोधी आन्दोलनमा क्षति पु¥याएको कसले ? सामन्तवादको पक्षपोषण गरेको कसले ? किसान संघर्ष र वर्गसंघर्षको परिकल्पनालाई मूर्तिकृत गर्ने अभियान थाल्ने पुष्पलाल क्रान्तिकारी वा पुष्पलालको पुरानो कार्यक्रमलाई निरन्तरता दिएका प्रचण्ड क्रान्तिकारी ? स्वतन्त्रता, चुनावी प्रतिष्पर्धा र मित्रवत् संघर्षको जगमा टेकेर बनाइएको लेखिएको जनताको बहुदलीय जनवाद पुष्पलालको विचारधाराभन्दा कहाँ भिन्न छ ? पार्टी स्थापनाको पुराण फलाक्दै गर्दा केहीले त देलान् नि यी प्रश्नको जवाफ ।

टिप्पणीहरू