आज सर्वोच्चले हेर्न भ्याएन सभामुखमाथिको मुद्दा

आज सर्वोच्चले हेर्न भ्याएन सभामुखमाथिको मुद्दा

सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको एकमुष्ठ मुद्दाको पेशी आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढे पनि हेर्न नभ्याइने भएर पछिलाई सरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध चर्को अभिव्यक्ति दिँदै आउनुभएको सन्दर्भमा आज सर्वोच्च अदालतमा सभामुखविरुद्धका तीन वटा मुद्दाको पेशी चढ्नुलाई अर्थपूर्ण ठानिएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणा,न्यायाधीशहरु दीपककुमार कार्की,मीरा खड्का,हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा उक्त मुद्दाको पेशी राखिएको थियो । इजलासका ११, १२ र १३ नम्बरमा सापकोटाविरुद्धका मुद्दा थिए ।

प्रधानमन्त्रीले सभामुखलाई हटाउनैपर्ने आशयको धारणा राखेसँगै आएको मुद्दाको पेशीले बाघ कराउनु र बाख्रा हराउनु भनेझैँ संयोग समेत मिल्न गएको हो । द्वन्द्वकालका मुद्दासँग जोडिएका मुद्दाका पेशी अहिले सर्वोच्च अदालतमा एकाएक चढ्न थालेका छन् । सापकोटा सञ्चार मन्त्री हुँदा १० वर्ष अघिका ती मुद्दा बल्झिएको हो ।

स्रोत भन्छ ‘सभामुखको टाउकोमा एकमुष्ठ तरबार झुण्डाउँदै अदालतमा आज एकमुष्ठ पेशी चढाइएको छ ।’ ती रिट निवेदन राष्ट्रपतिका पूर्व सल्लाहकार सुशील प्याकुरेल र सञ्चारकर्मी कनकमणि दीक्षितसहितबाट हालिएको हो ।

एकातिर सभामुखको भूमिकालाई लिएर प्रधानमन्त्रीले चर्को आलोचना गर्नु,अर्कोतिर संसद अधिवेशन अन्त्यसँगै पेशी चढ्नुलाई व्यवस्थापिका प्रमुखलाई खुस्काउनै खोजिएको रुपमा बुझ्न थालिएको छ ।

एमसीसीलगायतका विषयमा दोषी करार गरेर एकातिर प्रधानमन्त्रीले सभामुख हटाउन खोज्नुएको सन्देश प्रवाह गर्नुभएको छ । अर्कोतिर अदालतमा सभामुखविरुद्ध एक दशकअघिका मुद्दा एकमुष्ठ पेशी चढेका हुन् ।

हालैमात्र नेकपाको नामसम्बन्धी विवादमा अढाई वर्षअघि परेको ऋषि कट्टेलको मुद्दालाई यसैगरी राजनीतिक रुपले महत्वपूर्ण ठानिएको समयमा छिनोफानो गरिएको छ । त्यसमा पनि अदालतले कट्टेलले नमागेको माग दाबी पूरा गरिदिएको हो ।

टिप्पणीहरू