तैपनि बदलिएन सत्ताको चरित्र

तैपनि बदलिएन सत्ताको चरित्र

– पुरुषोत्तम पौडेल

मलाई आजकल कतिपय महान् मानिसहरूलाई स्वार्थको डोरीले बेरेको देख्दा दिक्क लाग्छ । अझ हिजो हामीलाई सबै स्वार्थ त्यागेर देश र जनताको हितमा समर्पित हुन सिकाउनेहरू नै निहित स्वार्थमा निर्लिप्त भएर हिँडेको देखेपछि त अलिअलि बाँकी आशा पनि मरेर आउन थालेको छ ।

जतिसुकै निराशाले घेरे पनि जिन्दगीचाहिँ आशामै टिकेको हुन्छ । निराशा जिन्दगीको चरम बैरी हो । आशा र विश्वास जीवन जिउने पहिलो आधार हो । केही निकै ठूला भनिएका मानिस अहिले दुनियाँको जिउने आधार भत्काउन कम्मर कसेर लागिपरेका छन् । तर फेरि पनि दुनियाँ त अघि बढि नै रहन्छ ।

२०३७ सालको कुरा हो । अनेरास्ववियुको जिल्ला सचिव थिएँ । अनेरास्ववियुले चैत १४ गते देशव्यापी बन्द र आमहडतालको निर्णय गर्‍यो । बाराको सचिव भएकाले जिल्लामा राम्रै कार्यक्रम बनाएका थियौँ । मेरो जिम्मेवारीमा कोल्हवी बजारतिर बन्द सफल पार्ने र विशाल सभा गर्ने थियो । आमसभाको प्रमुख वक्ता आफै थिएँ । करिब ३ हजार हाराहारीमा स्थानीय जनता उपस्थित थिए ।

कार्यक्रम सम्पन्न हुनेबित्तिकै आम गिरफ्तारी शुरु भयो । ४०–५० जना युवा विद्यार्थी र स्थानीय जनता पक्राउ परे । अच्युत मैनालीसहित केही साथीलाई सार्वजनिक अपराध ऐनअन्तर्गत वीरगञ्ज जेल पठाइयो भने कमरेड सुरेन्द्र भण्डारी र मलाई सरकारले एक महिनाभन्दा बढी थुनामा राखी अनेक यातनासहित राजकाज मुद्दा लगाएर जेल पठायो । मुद्दा लगाउने क्रममा बयान लिँदा सिडिओले निकै ललाइफकाइ गरेका थिए ।

कहिले अनेक धम्की दिने र कहिले अनेक आश्वासन दिने काम पनि गरिरहेका थिए । उनी भन्थे, ‘तपाईंहरु नेता हुने होइन । तल काम गर्ने हो । नेताहरू विद्यार्थीलाई हतियार बनाएर फाइदा लिन्छन् । सत्तामा नपुगेसम्म ठूला कुरा गर्छन् । सत्तामा पुगेपछि आफ्नो रूप देखाइहाल्छन् । हेर्नुहोला । पछि पश्चाताप हुन्छ । बरु म जागिर लगाइदिन्छु । आरामसँग पढ्दै, खाँदै गर्नुहोला ।’

मलाई तत्कालीन सिडिओ बाबुराम पौडेलको कुरा पचेन । मैले आफू जागिर खाने होइन, देशका थुप्रै युवालाई जागिर खुवाउने ठाउँमा पुग्ने जवाफ दिएको थिएँ । पौडेलको नाता लगाएर आफूलाई फकाउने सिडिओ पौडेलको प्रस्ताव ठाडै अस्वीकार गरिदिएको थिएँ । तर आजको स्थिति हेर्दा ०६२/६३ को महान् जनक्रान्ति पनि झुक्किएजस्तो लाग्छ । किन हो कुन्नि हामी पूरै सामन्ती सोचले ग्रस्त भएजस्तो लाग्दै छ ।

हाम्रो राजतन्त्र फाल्ने योजना त सफल भएछ तर सामन्ती जाँतोबाट देश र समाजलाई मुक्ति दिने योजनाचाहिँ अझै सफल भएको रहेनछ । विशेष गरी हाम्रो नेतृत्व पंक्ति नै सामन्ती चिन्तनबाट मुक्त हुन सकेको रहेनछ । आफूलाई धुरन्धर कम्युनिष्ट र असली आन्दोलनकारी क्रान्तिकुमार भन्ने सम्माननीयहरू पूरै सामन्ती चिन्तनले क्षतिग्रस्त भएको देखिँदै छ । आज जनताले कम्युनिष्ट नेताका रूपमा भारी मतसाथ सत्तासीन गराएका महामहिमहरूमा देखिएको अहंकार, आत्मप्रशंसावाद र देवत्वकरणले त्यही कुरा प्रस्ट्याइरहेको छ । ०३५/३६ देखि हालसम्मको जनआन्दोलन यसका लागि थिएन ।

हामीले पञ्चायतकै पालादेखि घनघोर विरोध गरेको तक्मा वितरणको तरिका अहिलेसम्म रोकिएन । राजाको भन्दा भद्दा शैलीमा हुने शिलान्यास, उद्घाटन र सरकारी बजेटमा पौडी खेल्ने तरिका पुनः बढ्न थालेको छ । सरकारमा बसेर सार्वजनिक पदको चरम दुरुपयोग गर्ने, आफन्तहरूलाई बेस्सरी पोस्ने र सत्तावरिपरि बसेका भ्रष्टहरूलाई संरक्षण गर्ने काम चलिरहेको छ । त्यति मात्र होइन, पूर्ण प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र भनिएको व्यवस्थामा पनि आलोचकहरूलाई सरकारी सुविधामै गाली–बेइज्जत गर्ने, ठोक्ने र थुन्नेसम्मको निरंकुश तरिका शुरु भएपछि अरू के नै बाँकी रह्यो र !

यहाँ चर्चा गरिएका सामन्ती राज्यका केही गुण र चरित्र मात्र हुन् । मूल चरित्र भनेको व्यक्तिवादी अहंकार र देवत्वकरण नै हो । पद र सम्पत्तिप्रतिको चरम मोह र सत्ताको दुरूपयोग हो । झुटा–आश्वासन दिएर जनताको नाममा गरिने अनेक ठगीधन्दा पनि हो । यस्तो चरित्र अहिले सत्ता सञ्चालकमा प्रशस्त देखिन थालेको छ । चुनाव घोषणापत्र त कता–कता हराएको छ । पार्टीलाई विभाजित गरिएको छ । असफल शासकीय नेतृत्वलाई जोगाउन संसद् विघटनदेखि पार्टी विघटनसम्मको नाटक मञ्चन गरेर सत्ताको आडमा सहकर्मीहरूलाई लक्ष्यित गर्ने कामसमेत भएको छ । यी सबै कमजोरीलाई स्विकार्न नसक्नु चरम सामन्ती चिन्तनको पराकाष्ठा हो । आफ्ना कमजोरी लुकाएर भाले बनिरहने ठालु प्रवृत्ति हो ।

हामी सत्ताको सामन्ती चरित्रलाई बदलेर लोकतन्त्रीकरण गर्न बाल्यकालदेखि लडेर आएका छौँ । सत्तामा रहेका ठालुहरूको सेवा गर्ने र आमजनताको मूल्य नबुझ्ने चरित्रविरुद्ध लडेर आएका छौँ । हामी राज्य र सरकारलाई आमजनताको पहुँचमा पुर्‍याउन लडिरहेका हौँ । हाम्रो साझा मिहिनेतले देशमा कम्युनिष्टको सरकार बन्यो । कम्युनिष्ट पार्टीको भव्य बहुमत आयो । अब सबभन्दा तल्लो वर्गका जनताको सम्बोधन हुनेवाला छ । किसान, मजदुरको इज्जत रहनेवाला छ भनेर ढुक्क थियौँ । तर, दुर्भाग्य आज त्यसैमा फसेर पीडित भइरहेका छौँ । अहिले दुःख गरेर बनाएको पार्टी नै अधरमा परेको छ । हामीलाई सत्तामा पुर्‍याउने जनता र तिनको पार्टीलाई उनकै निर्वाचित शासकका कारण क्षतविक्षत र ध्वस्त बनाइँदै छ । योभन्दा ठूलो विडम्बना के हुन सक्छ !

आम युवाले आशा गरेको एउटा संगठित पार्टीलाई कसैको इशारामा पंगु बनाउन खोजिँदै छ । राष्ट्रियता र चुच्चे नक्साको नक्कली आडम्बरमा जनताको भविष्यसँग खेलबाड गरिँदै छ । विकासका नाममा भ्यूटावर, पानीजहाज र रेलका हावा गफ दिएर जनतालाई अलमलमा पारिँदै छ । पानीजहाज र हावाको बिजुलीको गुड्डीमा जनताको आशा र भरोसा तोड्ने काम हुदैछ । यस्तो अवस्थामा आमजनताको भलो चाहनेहरूले गम्भीर भएर सोच्ने बेला भइसकेको छ । देशको हितका लागि काम गर्नेहरूले विचार गर्नुपर्ने भइसकेको छ । देशको समग्र राजनीतिलाई मूल्यांकन गरेर नयाँ सोच र शैलीका साथ अघि बढ्ने बेला भइसकेको छ ।

अब पनि अलमलमा बस्ने हो भने सत्यको उल्टो भ्रमको शासन चलिरहनेछ र देशले दुःख व्यहोर्नुपर्नेछ । सबैले एक–पटक ठण्डा दिमागले सोचौँ । यसैमा भलाइ छ ।

टिप्पणीहरू