“मन्त्री” बन्नपर्ने युवालाई अध्यक्ष

“मन्त्री” बन्नपर्ने युवालाई अध्यक्ष

राष्ट्रिय युवा संघका पूर्व केन्द्रीय अध्यक्ष रमेश पौडेल खेलकुद महासंघको अध्यक्ष बनाउन लागिएकाे छ । खोटाङका पौडेल राजीव पहारीपछि युवा संघको अध्यक्ष थिए । त्यसअघि निरु पाल र महेश बस्नेतले चलाए ।

नेकपा एमाले निकट खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेपछि भोलि ७ गतेदेखि लागू हुनेगरी उनै पौडेललाई नयाँ अध्यक्ष बनाउन लागिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एकपटक पौडेललाई अर्थराज्य मन्त्री बन्नुपर्ने मान्छे भनेर हानेको व्यंग्यले राम्रै बजार चर्चा पाएको थियो । उनले फेसबुकमा तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाको आलोचना गर्दै लामै स्टाटस लेखेपछि प्रतिक्रियास्वरुप प्रधानमन्त्रीले त्यसोभए तिमी नै अर्थराज्य मन्त्री बन्नुपर्ने भनेर सबका सामु व्यंग्य कस्नुभएको थियो ।

आफू मात्र हैन,आफ्ना प्रियजनको कामप्रति असन्तुष्टि पोख्ने जो कसैलाई प्रधानमन्त्रीले भन्न र गर्न बाँकी नराख्ने कुराको यो यौटा गज्जब नमूना हो । यसबाट दुनियाँ निदाएपछि मध्यरातसम्म सामाजिक सन्जालमा ब्यस्त भई उहाँ कसले फेसबुकमा के लेख्यो अनि कसले ट्वीटरमा के प्रचार गर्यो भन्नेसम्मको हिसाब राख्ने गर्नुहुन्छ भन्ने छर्लङ्ग हुन्छ ।

पहिलेदेखि अहिलेसम्म ओलीकै विश्वासपात्र रहेका पौडेल युवासंघबाट हटेपछि नेकपा जीवित रहेको तीन वर्षसम्म कुनै जिम्मेवारीमा थिएनन् ।

टिप्पणीहरू