कोरोनाको बेला, रुकुमका पत्रकार काँग्रेसको फेला

कोरोनाको बेला, रुकुमका पत्रकार काँग्रेसको फेला

गत वर्ष कोरोनाले सबैजना घरभित्रै थुनिएको बेला यसको नियन्त्रण, रोकथाम र सचेतीकरणका लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँगै सञ्चारकर्मी पनि अग्रपंक्तिमा खटेको यथार्थ हामीसामु छर्लंग छ । यही मेसोमा कांग्रेस रुकुमले एउटा गज्जवको कुरा ल्याएको थियो –‘जिल्लामा क्रियाशील सबै पत्रकारको कोरोना बिमा गरिदिने ।’ तर, यो आश्वासन वर्षदिनपछि गफैमा सीमित भएको र पत्रकारबीच बाँडिएको झुटा आश्वासनका रूपमा प्रष्ट भएको छ ।

मत पाउनलाई नेताले जनतालाई अनेक आश्वासन दिएर चुनावपछि बेवास्ता गरेका कैयौं गुनासो जस्तै कोरोना सन्त्रासका बेला पनि रुकुमका पत्रकारले चुनावकै शैलीमा नेपाली कांग्रेस रुकुमबाट फोस्रा आश्वासन पाएको बताइएका छन् । अहिले जिल्लाका पत्रकारको कोरोना बिमा भएको सूचना न पत्रकार महासंघमा, न प्रेस संघ संगठनमा न त बिमा गरिदिएको बताउने नेपाली कांग्रेससँग नै छ ।

कांग्रेस रुकुमले जिल्लामा क्रियाशील सबै पत्रकारको ५० हजार बराबरको बिमा गरिदिने भनेर केही अनलाइन र सामाजिक सञ्जालमा छरपस्ट भएको थियो । यो निर्णय सबैले स्याबासी दिएका थिए । कांग्रेसले पत्रकारको पीडा बुझेको र पत्रकारको कठिनाइपूर्ण कार्यमा साथमै रहेर हौसला दिएको प्रतिक्रिया थापेको थियो, रुकुम कांग्रेसले ।

नेपाल पत्रकार महासंघ रुकुमका निवर्तमान अध्यक्ष गणेश चिन्तनले कसैले पनि जिल्लाका पत्रकारको कोरोना बिमा गरिदिन समन्वय नगरेको बताउँछन् । नेपाल प्रेस युनियन रुकुमसँग पनि जिल्लामा पत्रकारको बिमा गरिएको सूचना छैन । प्रेस चौतारी र प्रेस सेन्टरले समेत आफ्नो संगठनमा आबद्ध कुनै पनि पत्रकारको बिमा त्यसरी प्रचार गरेजसरी नभएको जनाएका छन् ।

पत्रकारलाई त्यसरी आश्वासन दिएर बिमा भने नगरिदिएपछि सबै जना जिब्रो टोक्न थालेका छन् । पार्टीले बिमा गरिदिने घोषणा गरेर कार्यान्वयनमा बेवास्ता गरेको यो एउटा गतिलो उदाहरण भएको पत्रकारले बताएका छन् । पत्रकारलाई आश्वासन दिएर झुक्याएको ठहर जिल्लामा क्रियाशील पत्रकारहरूको छ ।

 

टिप्पणीहरू