ओलीको बैठकमा प्रचण्ड अनुपस्थित

ओलीको बैठकमा प्रचण्ड अनुपस्थित

प्रधानमन्त्री केपी ओलीले आज डाकेको सर्वदलीय बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल जानुभएन । ‘सर्वदलीय बैठकबारे खबर छैन, बैठकबारे मिडियाबाट थाहा पाएका हौँ’,प्रचण्डको सचिवालयले भन्यो ।

तीन दलका नेता भेट्ने भनेर खबर गरिएको तर अध्यक्षले बालुवाटारमा भेट्न अस्वीकार गरेको पनि प्रचण्डको सचिवालयले बतायो । ‘हिजो फोन गरेर प्रधानमन्त्रीले तपाई,म र देउवा बसौँ भन्नुभएको थियो, अध्यक्षले बालुवाटार आउँदिन सिंहदरबारमा भेटौँ भन्नुभएको हो । त्यसपछि अरु कुनै जानकारी छैन’, प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने ।

यता,कांग्रेस सभापति शेरबहादुर देउवा पनि बैठकमा जाने नजाने टुंगो लागेको छैन। देउवाले बैठकमा सहभागी हुने नहुनेबारे निर्णय गर्न आजै पार्टीका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ ।

त्यस्तै,जनता समाजवादी पार्टी जसपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवलाई पनि सर्वदलीय बैठकमा नबोलाइएको बताइएको छ । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि बैठकमा नबोलाइएकोले उहाँहरु पनि नजाने बुझिएको छ ।

प्रधानमन्त्री ओलीले भने संसद अधिवेशन,कोरोना महामारी लगायतका विषयमा छलफल गर्न अहिले ११ बजे सर्वदलीय बैठक बोलाउनु भएको छ ।

टिप्पणीहरू